रेशम चौधरी लगायतको मुद्दा फिर्ता लिन विधेयक दर्ता

रेशम चौधरी लगायतको मुद्दा फिर्ता लिन विधेयक दर्ता

१२१५ दिन अगाडि

|

२८ वैशाख २०८०

सुदूरपश्चिम नाउपा संसदीय दलको नेताबाट हटाइए रामेश्वर, घनश्यामको ‘इन्ट्री’

सुदूरपश्चिम नाउपा संसदीय दलको नेताबाट हटाइए रामेश्वर, घनश्यामको ‘इन्ट्री’

१२१६ दिन अगाडि

|

२८ वैशाख २०८०

नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश संसदीय दलको नेताबाट रामेश्वर चौधरीलाई हटाइएको छ ।  बुधबार संसदीय दलको कार्यालयमा बसेको बहुमत सदस्यहरूको बैठकले चौधरीलाई संसदीय दलको नेताबाट हटाउँदै घनश्याम चौधरीलाई जिम्मेवारी दिएको हो । उक्त बैठकमा रामेश्वर चौधरी भने उपस्थित थिएनन् । सात जना प्रदेशसभा सदस्य रहेको नागरिक उन्मुक्तिमा चार जनाको हस्ताक्षरसहित संसदीय दलको नेता परिवर्तन गरेको सूचना प्रदेशसभा सचिवालयमा बुझाइएको छ । त्यस्तै प्रमुख सचेतकको जिम्मेवारी खुसीराम चौधरीलाई दिइएको छ । यसअघि लक्ष्मणकिशोर चौधरी प्रमुख सचेतक थिए । सचेतकको जिम्मेवारी भने कैलाश चौधरीले पाएका छन् । संसदीय दलको नेतासहित अन्य जिम्मेवारी परिवर्तन गर्न बसेको बैठकमा लक्ष्मण किशोर चौधरी, धनश्याम चौधरी, खुसीराम चौधरी र कैलाश चौधरी उपस्थित थिए । इन्दिरा गिरीले बैठकमा उपस्थित भएर पनि निर्णयमा हस्ताक्षर गरिनन् । प्रदेश सांसदहरु रामेश्वर चौधरी र टीका थापा भने बैठकमा उपस्थित थिएनन् ।  सुदूरपश्चिम नाउपामा जिम्मेवारी हेरफेरले भूँइचालो गएको छ । पार्टीले संगठन मजबुत बनाउन मिसन ८४ अभियान लागू गरेको छ । तर सुदूरपश्चिम प्रदेश सरकारमा नाउपा नेतृत्व अनिर्णयको बन्दी बन्दा आम कार्यकर्तामा निराशा छाउन थालेको छ । कुनै समय मुख्यमन्त्रीको दावी गर्दा पाउने अवस्थामा रहेको नाउपा सुपमा अहिले जडाउरी लुगा दिएझैं कामचलाउ मन्त्रालयमा जाने अवस्था आएको छ ।   

अनि जन्मियो गोर्खापत्र....

अनि जन्मियो गोर्खापत्र....

१२२० दिन अगाडि

|

२४ वैशाख २०८०

शिखरमोहन  बनारसमा  युवाकवि मोतीराम भट्टले नेपाली भाषाको पत्रिका ‘गोरखा भारत जीवन’ प्रकाशन गरेको विषयले नेपालमा निकै चर्चा पायो । नेपालमा प्रशासनको बागडोर सम्हालेर बसेका तत्कालीन प्रधानमन्त्री वीर शमशेरले त्यो इतिहास रच्न नचाहेको कुरा टुकराज मिश्रले पनि उल्लेख गरेका छन् ।  बनारसमा पहिलो नेपाली भाषाको पत्रिका प्रकाशन भएको करिब १३ वर्षपछि १९५५ मा सुधासागर साहित्यिक पत्रिका प्रकाशन भयो । यो समाचारमूलक नभए पनि नेपालभित्र छापिएको नेपाली भाषाको पहिलो पत्रिका भनेर इतिहासमा दरिन पुग्यो । ‘नेपालमै छापी निस्केका पत्रिकाहरूमध्ये सबैभन्दा अगाडि नेपाली पत्रिकाको जेठो बिरुवा संवत् १९५५ सालको श्रवण महिनामा उम्रियो, यसको नाम सुधासागर थियो र महिना महिनामा निस्कने गर्दथ्यो,’ ग्रीष्मबहादुर देवकोटाले नेपालमा छापाखाना र पत्रपत्रिकाको इतिहासमा लेखेका छन् ।  सुधासागर मासिक पत्रिका निस्केको करिब २ वर्ष १० महिनापछि १९५८ वैशाख २४ गते समाचारमूलक पत्रिका गोर्खापत्र प्रकाशन सुरु भएको थियो । यो नै नेपालभित्र छापिएको प्रथम समाचारमूलक पत्रिका हुन पुग्यो ।  तर वीर शमशेर नेपालको प्रधानमन्त्री रहुञ्जेल गोर्खापत्र प्रकाशन हुन सकेन । विसं १९५७ फागुन २३ गते वीर शमशेरको देहान्त भयो । त्यसपछि नेपालको शासन सत्ता देव शमशेरको हातमा आयो । त्यतिबेला मोतीराम भट्ट पनि नेपालमै आई मोतीकृष्ण कम्पनी (विसं १९४५ मा) खोलेर बसेका थिए । वीर शमशेरको देहान्त भएको ठ्याक्कै २ महिनापछि अर्थात् विसं १९५८ वैशाख २४ गते देव शमशेर र मोतीराम मिलेर गोर्खापत्र प्रकाशनको सुरुवात गरे ।  प्रकाशन गर्ने निर्णय गरेर मात्र पत्रिका प्रकाशनको सम्भावना थिएन । त्यसका लागि देव शमशेरले सनद नै जारी गरेका थिए । सो सनदमा पत्रिकाको सङ्ख्या, सम्पादक तथा कर्मचारी व्यवस्थापन, आर्थिक व्यवस्थापन, विज्ञपनको व्यवस्थापन तथा प्रेसहरूको व्यवस्थापन गर्ने आधारहरू समेत उल्लेख थियो । तत्कालीन प्रधानमन्त्री देव शमशेरले गोर्खापत्र प्रकाशन गर्न नारायण प्रेससमेत गाभेर नरदेव मातीकृष्ण शर्माद्वारा स्थापित श्री पशुपत प्रेस ठँहिटीमा छाप्ने व्यवस्था मिलाए । सो पत्रिका साप्ताहिक रूपमा प्रकाशन गर्ने तयारी थियो । ‘यिनै व्यवस्था र सहयोगका आधारमा श्री नरदेव मातीकृष्ण शर्माद्वारा श्री पशुपत प्रेस (ठँहिटी अढात, नेपाल)मा छापी नेपाली भाषाको साप्ताहिक पत्रिका ‘गोरखापत्र’ १९५८ साल ज्येष्ठ बादी ३ सोमबारका दिन नेपालीहरूको सामुन्ने निस्कियो,’ ग्रीष्मबहादुर देवकोटाले उल्लेख गरेका छन् ।  पहिलो पटक गोर्खापत्र छापिएको पशुपत प्रेस मोतीराम भट्टले आफ्ना मामा नरदेव पाण्डे र कृष्णदेव पाण्डेको सहयोग लिएर १९४५ स्थापना गरेको कम्पनीअन्तर्गत स्थापना भएको थियो । विसं १९५० आषाढ शुक्ल पूर्णिमाको दिन स्थापना भएको निजी क्षेत्रबाट खोलिएको पहिलो छापाखाना थियो ।  १९५८ वैशाख २४ गते नेपालमा पहिलो पटक समाचारमूलक पत्रिका प्रकाशन भयो । देव शमशेर सत्ताच्यूत भएपछि केही समय यो पत्रिका बन्द भएको थियो तर चन्द्र शमशेरले त्यसको महत्त्व बुझेर यसलाई पुनः प्रकाशन गरेको इतिहास पाइन्छ ।                                                                                                                                                लेखक शिखरमोहन जे होस् गोर्खापत्रको प्रकाशन सरकारी प्रयासबाट नै भएको थियो । टुकराज मिश्र भन्छन्, ‘तर समाचारपत्र प्रकाशन गराउन सर्वप्रथम चेतना दिने युवक कवि मोतीराम भट्ट हुन् ।’ यसले निरङ्कुश राणा शासनकालमा ज्ञानको प्रकाश छर्ने धिपधिपे दियोको काम मात्र गरे पनि धेरै पाठकको मन तानेको थियो । मिश्र भन्छन्, ‘पहिले गोर्खापत्र जम्यो पं. नरदेव पाण्डेको निवास फसिकेवमा, त्यसपछि बझाङी राजा जयपृथ्वीबहादुर सिंहको निवास नक्साल नारायण चौरदेखि पश्चिम धेरै समयसम्म रह्यो । जय पृथ्वीबहादुर सिंह चन्द्र शमशेरका विश्वसका पात्र थिए । त्यसो हुनाले गोर्खापत्रको व्यवस्थापनको जिम्मा पाण्डेबाट खोसेर जयपृथ्वीबहादुरलाई दिएका थिए ।’ प्रकाशनको सुरुमा हरेक हप्ता हजार प्रति छाप्ने निर्णय भएको र आम नागरिकलाई ग्राहक बन्नका लागि विज्ञापन पनि छापेको देखिन्छ । एक प्रतिको २ आना मूल्य राखिएको यसको वार्षिक ग्राहक मूल्य चाहिँ ४ रुपियाँ निर्धारण गरिएको थियो । नेपाल र नेपालीकै गर्वका रुपमा प्रकाशित यो पत्रिकाको धेरै नागरिक ग्राहक बने । त्यतिबेला गोर्खापत्रको रवाफ मात्र होइन, धनाढ्य र शिक्षितहरूका लागि यो प्रतिष्ठाको विषय थियो ।  १९५८ मा गोर्खापत्र प्रकाशन हुँदा प्रथम पृष्ठमा एडिटर्को राय भनी सम्पादकीय प्रकाशन भएको देखिन्छ । तर एडिटर अर्थात् प्रथम सम्पादक को थियो भन्ने तथ्य अहिलेसम्म थाहा हुन सकेको छैन । प्रथम व्यवस्थापक पं. नरदेव पाण्डे भएको हुनाले कतिपयले उनैलाई सम्पादक मान्नुपर्ने तर्क राख्छन् । विसं १९९१ देखि मात्र गोरखापत्रले सम्पादकको नाम लेख्न सुरु गरेको देखिन्छ । १९९१ जेठ ५ गतेको गोरखापत्रमा पहिलो पटक ‘सम्पादक प्रेमराज’ भनी छापिएको छ । २०१२ भदौ ३० गतेदेखि बालकृष्ण सम प्रधान सम्पादक भनी नाम छापिन सुरु भयो । गोर्खापत्र/गोरखापत्रको क्रमिक विकास  विसं १९५८ वैशाख २४ गते मास्टहेडमा यसको नाम गोर्खापत्र भनी छापिएको थियो । पछि १९८३ जेठ ४ गतेदेखि गोरखापत्र भई प्रकाशन भयो । त्यो क्रम २०५९ सम्म कायम रह्यो । ज्ञानेन्द्रको शासनकालमा पुनः गोर्खापत्र भई प्रकाशन भयो । यसपछि २०६३ वैशाख १८ गतेदेखि फेरि गोरखापत्रमा परिवर्तन भई निरन्तर प्रकाशित छ ।  गोरखापत्रले १९८४ वैशाख १३ गते प्रथम तस्बिर छापेको थियो । फोटोपत्रकारिता दिवसका दिन यो तस्बिर चर्चामा आउने गर्छ । यसमा वीरगञ्जकी १२ वर्षीया सूर्यमति श्रेष्ठले चन्द्रकामधेनु चर्खाबाट धागो काटिरहेको तस्बिर छ । यसैगरी गोरखापत्रले पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनको ‘स्टप दी प्रेस’को समाचार प्रकाशन गरेको थियो । दैनिक, सहायक तथा बहुभाषा प्रकाशनको सुरुवात साप्ताहिक रूपमा सोमबार प्रकाशित हुने गोरखापत्र १९९१ वैशाख ९ देखि शुक्रबार प्रकाशित हुन थाल्यो । २००० असोज २९ गतेदेखि मङ्गलबार र शुक्रबार गरी दुई पटक प्रकाशन हुन थाल्यो । त्यसपछि २००३ पुस ३ देखि हप्ताको तीन पटक प्रकाशित भयो भने २०१७ फागुन ७ गतेदेखि दैनिक रूपमा प्रकाशित हुन थाल्यो । २०१९ असार ९ गतेदेखि शनिवारीय परिशिष्टाङ्क प्रकाशन सुरु भयो ।  विसं २०२२ पुस १ गतेदेखि वरुण शमशेर जबराको सम्पादकत्वमा यसको अङ्ग्रेजी संस्करण दी राइजिङ नेपाल प्रकाशन सुरु भयो । आम नेपाली साहित्यिक सर्जक र पाठकलाई मध्यनजर गरी २०२५ जेठदेखि मधुपर्क साहित्यिक मासिक प्रकाशन सुरु गरेको थियो । यसैगरी २०४५ असारदेखि आम युवा पाठकलाई विचार, विज्ञान प्रविधि, खोज र जिज्ञासाको खुराक दिन युवामञ्च मासिक प्रकाशन सुरु भयो ।  यसैगरी २०४७ साल पुसबाट बालबालिकाका लागि ‘मुना’ मासिकको प्रकाशन सुरु भएको हो । गोरखापत्रले नेपालमा गणतन्त्र स्थापना भएपछि राष्ट्रभाषामा पनि समाचार तथा साहित्यिक सामग्री प्रकाशन गर्दै आएको छ । विसं २०६४ असोज १ गतेबाट राष्ट्र भाषामा प्रकाशन सुरु गरेको गोरखापत्रले हाल ३८ भाषामा सामग्री प्रकाशन गर्दै आएको छ ।  गोरखापत्र ऐन २०१९ सालदेखि सञ्चालित भई २०२० असार २५ देखि गोरखापत्र संस्थानका रूपमा परिणत भएको हो ।  विसंं १९५८ बाट थालेको यात्रा गोरखापत्रले राणा शासनको युग, प्रजातन्त्रको युग, फेरि निर्दलीय पञ्चायती व्यवस्थाको युग, पुनः प्रजातन्त्रको युग हुँदै गणतन्त्रको युगको पनि करिब १७ वर्ष पूरा गरेको छ । यी हरेक युगका शासन सत्ताको अभिलेख गरेको छ । नेपालको शासन प्रणालीको मात्र नभई भाषा, साहित्यको सिर्जनामा महत्त्वपूर्ण योगदान पनि गरेको छ ।  इतिहासको एक साक्षी बनेर विभिन्न आरोह–अवरोह खेप्दै १२२ वर्षदेखि निरन्तर प्रकाशन हुँदै आएको गोरखापत्र प्रकाशन भएकै दिनलाई आधार मानेर नेपालले आफ्नै पत्रकारिता दिवस मनाउन थालेको छ । २०७३ चैत ३० गतेको केपी शर्मा ओलीको तत्कालीन मन्त्रिपरिषद् बैठकले वैशाख २४ गते पत्रकारिता दिवस मनाउने निर्णय गरेको थियो । सोहीअनुसार २०७४ वैशाख २४ गते पहिलो पटक पत्रकारिता दिवस मनाइयो । यो पनि ६ वर्ष पूरा भई सातौँ वर्षमा प्रवेश गरेको छ । मोतीराम भट्टको प्रयास, देव शमशेरको नेपाली भाषा, साहित्य र सञ्चारप्रतिको मोहले नै नेपाली सञ्चार क्षेत्र यहाँ आइपुगेको हो । 

सुर्खेतमा थारू नृत्य र मादल बजाउने प्रशिक्षण सुरु 

सुर्खेतमा थारू नृत्य र मादल बजाउने प्रशिक्षण सुरु 

१२२० दिन अगाडि

|

२३ वैशाख २०८०

थारू समुदायको मौलिक लोकबाजा मादल बजाउने र थारु नाच सिकाउने १० दिने प्रशिक्षण कार्यक्रम सुर्खेतको वीरेन्द्रनगरमा वैशाख २३ गते शनिबारबाट सुरु भएको छ । लखागिन थारू उत्थान मञ्च सुर्खेतको आयोजना र शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतको आर्थिक सहयोग तथा राष्ट्रिय थारू कलाकार मञ्च सुर्खेतको सहकार्यमा  प्रशिक्षण कार्यक्रम गर्न लागिएको हो ।  प्रशिक्षण कार्यक्रममा मादल सिक्ने युवाहरुमा २० जना र नाच सिक्ने युवतीमा २५ जना प्रशिक्षार्थी छन् ।  सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेशका प्रदेश सांसद तथा नेपाली काँग्रेसका नेतृ जानकी सिंहले कार्यक्रमको उद्घाटन गर्दै सुर्खेत उपत्यकाको मूल आदिवासी थारू समुदायको कला संस्कृतिमा निकै धनी भएपनि समयक्रमसँगै नयाँपुस्तामा हस्तान्तरण हुन नसक्दा आफूलाई चिन्ता लागेको बताइन् ।  आफूपनि कैलालीका थारू समुदायमा हुर्के, बढेकोले सानैदेखि थारू दिदीबहिनीहरुसँग सँगै सखिया नाच नाचेकोले यो नाच लगायत मादल बजाउने तालिम आयोजना गरिएकोमा सांसद सिंहले आयोजकको सराहना गरिन् । उनले सुर्खेतको ३८ वटै गाउँमा थारूहरुको मूल थान (ठन्वा) बनाउने, थारू संग्रहालयलको लागि आगामी आउने बजेटमा २० लाख  छुट्याउन पहल गरिने बताइन् ।  सो अवसरमा आयोजक लखागिन थारू उत्थान मञ्च अध्यक्ष मान बहादुर चौधरी पन्नाले भने, ‘थारू लोकबाजा बजाउने, नाच्ने कला सिप हराउँदै जान थालेको छ । त्यसैले, प्ुस्तान्तरणको लागि नयाँ युवा पुस्तालाई प्रशिक्षण गर्नु आवश्यक भएको हो । प्रशिक्षण कार्यक्रममा सखिया नाचका विभिन्न पैयाका ताल तथा छोक्रा, मघौटा, दङ्गहा मादल तथा नाच सिकाइने छ ।  मञ्चका संरक्षक कृष्णबहादुर थारूले यो प्रशिक्षण कार्य निकै सान्दर्भिक रहेको र यस्तो रचनात्मक कार्यले थारु संस्कृति संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने बताए ।  त्यसैगरी, वीरेन्द्रनगर नगरपालिकाका ९ नं का वडाध्यक्ष ऋषि गिरीले थारू समुदायमा पुराना लोक परम्परा, लवाइ खुवाइ, रहनसहन चालचलन निकै महत्वपूर्ण भएको कारण कला संस्कृतिसँग जोडिएका मादल र नाच प्रशिक्षणले नया ँपुस्तामा पुस्तान्तरण हुने कुराले आफू निकै खुशी भएको बताए । शिक्षा विकास निर्देशनालयकी अधिकृत विना थापाले थारूहरु नेपालकै पुराना बासिन्दा भएकाले आगामी दिनमा पनि थारू समुदायलाई सहयोग रहने प्रतिवद्धता जनाइन् ।  कार्यक्रममा समाजसेवी मानबिर थारू, वीरेन्द्रनगर नगरपालिकाका वडा नं २ वडाध्यक्ष गजबहादुर बुढा, थारू कल्याण कारिणी सभाका केन्द्रीय सदस्य कृष्णबहादुर थारू, वीनपा वडा नं २ का वडासदस्य रमेश चौधरी, सरिता चौधरी, वडा नं १० का लक्ष्मी चौधरी लगायत थाकसका केन्द्रीय सदस्य मानबहादुर चौधरी, थाकस जिल्ला सभापति बेचुलाल चौधरी लगायतका वक्ताहरुले थारू नृत्य र मादल प्रशिक्षणको सफलताको कामना गरे । साथै, थारूहरुको मौलिक पहिचान बचाउन सबैले साथ दिनुपर्नेमा जोड दिएका थिए । कार्यक्रमको सहजीकरण राष्ट्रिय थारू कलाकार मञ्च सुर्खेतका महासचिव राजु चौधरीे तथा स्वागत मञ्चका उपाध्यक्ष लोकबहादुर चौधरीले गरेका थिए ।

‘हेर्ने कथा’को चर्चादेखि खोज पत्रकारिताको  गहिराईसम्म परिचर्चा

‘हेर्ने कथा’को चर्चादेखि खोज पत्रकारिताको गहिराईसम्म परिचर्चा

१२२२ दिन अगाडि

|

२२ वैशाख २०८०

हिमाल मिडिया मेला २०२३ को दोस्रो दिन बिहीबारको पहिलो सत्र ‘मिडिया कथा वाचन’ मा अभिव्यक्ति दिँदै चापागाईँले भनिन्, ‘बीबीसीले नै मलाई कथा खोज्ने प्लेटफर्म दियो तर राजनीतिज्ञहरुसँग मात्र कुरा गर्दा दिक्क लाग्दै गएपछि भूइँमान्छेका कथा खोज्न ‘हेर्ने कथा’को श्रृंखला जन्मियो ।’ उनले कथामा जहिले पनि कर्ममा रमाउने मान्छेका कथा प्रस्तुत गर्दै आएको बताइन् । हालसम्म १०४ भन्दा बढी कथा देखाइसकेको जनाउँदै उनले भनिन्, ‘अहिले दर्शकले नै आफ्नो गाउँघरको फलानोको पनि कथा हुन्छ भनेर खबर गर्न थालेका छन् । जसलाई आफू कथा हुँ भन्ने थाहा हुँदैन, तिनै मानिसहरू हेर्ने कथाका कथा हुन् ।’ चापागाईँले कथाको केही श्रृंखलामा केही दाताको सहयोग रहे पनि अरु कथा कमलकुमारलगायत आफ्नै बलबुताले बनाइरहेको जनाइन् । चापागाईंसँग पत्रकार रजनीश भण्डारीले संवाद गरेका थिए। जमाना डिजिटल माध्यमको कार्यक्रमको दोस्रो सत्र ‘डिजिटल रिडर रेभेन्यूःमिडियाको भविष्य’ शीर्षकमा जमाना अब डिजिटल माध्यमको रहेको चर्चा भयो ।  सो क्रममा सेतोपाटी डटकमका प्रधान सम्पादक अमित ढकालले सञ्चारमाध्यमले व्यापारिक घरानाका गलत धन्दाबारे लेख्न नछाडेको दिन उनीहरूले सञ्चारमाध्यमसँग गर्ने ‘ब्ल्याकमेलिङ’ रोकिने टिप्पणी गरे ।  ढकालले फेसबुक र गुगलमा सस्तोमा विज्ञापन राखिने हुँदा महँगोमा मिडियालाई किन विज्ञापन दिने भन्ने समेत विज्ञापनदाताले प्रश्न गर्ने गरेको सुनाउँदै समग्र मिडिया संकटमा रहेको बताए । तर सानो लगानीमा सुरु गरिएको सेतोपाटी अहिले ५५ जनाको ठूलो परिवार भएको तथा वार्षिक ५ करोड खर्च गरिरहेको जानकारी पनि शेयर गरे । त्यस्तै, उकालो डटकमका प्रबन्ध सञ्चालक उकालो डटकमका प्रबन्ध सञ्चालक आमोद प्याकुरेलले आफूहरू नाफा नकमाउने संस्थाका रूपमा रहेको र विज्ञापनभन्दा ‘क्राउड फन्डिङ’ मा केन्द्रित रहेको बताए। अंग्रेजी भर्सनको अफ द रेकर्ड अनलाइन अहिले स्थगित छ । त्यसका सञ्चालक सम्पादक प्रणय राणाले अब आफूहरूले ‘मेम्बरसिप मोडेल’ बारे सोचेको बताए। युवा पुस्ताको समाचार उपभोग गर्ने तरिका चेन्ज भएकाले अब युवालाई केन्द्रमा राखेर सामग्री तयार पार्नुपर्ने उनको भनाई थियो । त्यस्तै, नेपाल रिपब्लिक मिडियाकी सीईओ समृद्धि ज्ञवालीले न्यूयोर्क टाइम्सको ७० प्रतिशत आयको स्रोत ‘पे वाल’ भएको बताउँदै पत्रकारको क्षमता अभिवृद्धि गरे आर्थिक सङ्कटको समस्या समाधान हुने बताइन् । यो सत्रको सहजीकरण मधु आचार्यले गरेका थिए ।  जलवायु सङ्कटमा पत्रकारको ध्यान त्यस्तै, ‘पत्रकार र जलवायु सङ्कट’ विषयमाथि जलवायु वैज्ञानिक तथा राजनीतिकर्मी अरनिको पाँडे, नेपाली टाइम्सका प्रकाशक कुन्द दीक्षित र अन्नपूर्ण दैनिकका पत्रकार नितु घलेले विचार राखे । दीक्षितले जलवायु परिवर्तनबारे पुरानो खालको पत्रकारिताले अब नपुग्ने र पत्रकारले केही निष्कर्ष नै दिनुपर्ने जिकिर गरे।  उता जलवायु वैज्ञानिक पाँडेले दुई वर्ष अघिको मेलम्चीमा गएको बाढीबारे धेरै समाचार आउन नसकेको बताए । ‘मेलम्ची बजार तथा काठमाडौँ आउने खानेपानीमा अहिले पनि जोखिममा छ भन्ने ज्ञान छ । तर थप क्षति के कस्तो हुन्छ ?अनुसन्धान गर्न रिसर्च फण्ड खोइ त?’ उनको प्रश्न थियो । जलवायुको विटमा लेख्न विज्ञसम्म पुग्न मात्रै होइन, फिल्डमा पुग्न पनि गाह्रो अवस्था भएको पत्रकार नितु घलेको जिकिर थियो। यो सत्रको सहजीकरण रमेश भुसालले गरेका थिए ।  खोज पत्रकारितामा अर्थ अभाव कार्यक्रमको अर्को सत्र ‘खोज पत्रकारिताका खोजी’ शीर्षकको छलफलमा सहभागी पत्रकारहरूले अर्थ अभावमा नै नेपालमा खोजी पत्रकारिताको विस्तार हुन नसकेको धारणा राखे ।  खोज पत्रकारिकता केन्द्रका सम्पादक किरण नेपालले खोज पत्रकारिताका लागि रिपोर्टरमा हुटहुटी, धैर्यता आवश्यक भए पनि सबैभन्दा महत्त्वपूर्ण आर्थिक स्रोत भएको प्रष्ट्याए ।  नक्कली भुटानी शरणार्थी विषयमा पर्दाफास गर्ने पत्रकार देवेन्द्र भट्टराई अहिले चर्चामा छन् । उनले पनि खोजी रिपोर्टिङका लागि आर्थिक स्रोतको अभाव रहेको औंल्याए ।  पत्रकार दीपा दाहालले भनिन्, ‘समाचार कक्षले खोज्दैन भने रिपोर्टरको सिप काम लाग्दैन । खोजी रिपोर्टिङका लागि मिडियाको नीति पनि आवश्यक छ ।’ पत्रकार दाहालले खोजी पत्रकारिता आफैमा चुनौतीपूर्ण भएको, त्यसमा महिलालाई झनै चुनौती भएको बताइन् । मिडिया र परिवारले तिनलाई सहयोग गर्नुपर्नेमा उनको जोड थियो । यो सत्रको सहजीकरण रविराज बरालले गरेका थिए ।  मिडिया आत्मसमीक्षा ‘मिडिया आत्मसमीक्षा’ विषयक अर्को सेसनमा नेपाल फ्याक्ट चेकका सम्पादक उमेश श्रेष्ठले मूलधारका सञ्चारमाध्यमले तथ्यमा गल्ती गरेर सच्याउन गाह्रो मान्ने गरेकाले विश्वसनीयतामा कमी आउन थालेको धारणा राखे ।  श्रेष्ठका अनुसार नेपालका तीन वटा तथ्यजाँच संस्थाले गरेको ३०९ वटा तथ्यजाँचमा २० प्रतिशतभन्दा बढी गल्ती मूलधारका मिडियाले गरेको पाइयो । त्यसैले,सञ्चारमाध्यमको आत्मसमीक्षा जरुरी रहेको उनले बताए । मिडियाको जनशक्तिमा अध्ययन र क्षमतामा कमी आएकाले मिडियाको समीक्षा आवश्यक रहेको हिमालका प्रकाशक कनकमणि दीक्षितको धारणा थियो।  अर्का वक्ता घटना र विचारकी सम्पादक बबिता बस्नेतले सैद्धान्तिक पढाइले मात्रै दक्ष पत्रकार उत्पादन नहुने जिकिर गरिन् । पत्रकारितामा गलत नियत भएका मानिसको प्रवेश भएकाले पनि विश्वसनीयतामा सङ्कट आएको उनको भनाई थियो ।  शिक्षक मासिकका सम्पादक राजेन्द्र दाहालले पत्रकारिता क्षेत्रमा आएको विश्वासको सङ्कट हटाउन जनशक्तिलाई तालीमको खाँचो रहेको औंल्याए । यो सत्रको सहजीकरण कनकमणि दीक्षितले गरेका थिए । बुधवार पहिलो दिन मेलाको कि नोट स्पकिर भारतको अनलाइन समाचार पोर्टल द वायरका संस्थापक सम्पादक सिद्धार्थ वरदराजन थिए । 

विज्ञहरूको प्रश्नः समाचारकक्ष खै समावेशी ?

विज्ञहरूको प्रश्नः समाचारकक्ष खै समावेशी ?

१२२३ दिन अगाडि

|

२१ वैशाख २०८०

सञ्चारमाध्यमले समाचारकक्षलाई समावेशी र विविधायुक्त बनाउनुपर्नेमा एक कार्यक्रमका सहभागीले जोड दिएका छन्। हिमाल मिडिया मेलामा ‘सबैलाई समेट्ने समाचारकक्ष’ सम्बन्धी अन्तरक्रियामा बुधबार भएको बोल्दै राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाले नेपाली समाचारकक्षमा समावेशी र विविधता सन्तोषजनक हुन नसकेको बताए। “भविष्यमा समाचारकक्षमा समावेशीता आउने र विविधता हुनेछ भनेर विश्वास गर्न सकिन्छ, तर वर्तमानमा हामीले त्यो ठिकसँग अभ्यास गर्न सकेका छैनौं,” उनले भने। समावेशिता र विविधता सम्बन्ध र शक्तिसँग जोडिने भएकाले यो हस्तान्तरण गर्न सहज नभएको उनको धारणा थियो। उनले भने, “समाचारकक्षसँगै समाचारका सामग्रीमा विविधता छैन, जुन समुदायको विषय छ, त्यसमा सोही समुदायले जति आत्मसात अरू समुदायले गर्न सक्दैन, सिद्धान्तअनुसार  समाचारकक्षमा त्यो  कार्यान्वयन हुन सकेको छैन।”   त्यस्तै, अन्तरक्रियामा बोल्दै पत्रकार पवित्रा सुनारले विकास संवाहक मिडिया समावेशी नहुँदा समाचार सामग्रीमा विविधता नआउने बताइन्। समाचारकक्ष पूर्णरूपमा समावेशी हुन सके मात्र सिमान्तकृत समुदायका विषयले प्राथमिकता पाउने उनको भनाइ थियो। “पहिलेको तुलनामा समाजको चरित्र केहि फेरिए पनि कानून र व्यवहारमा सन्तुलन आउन सकेको छैन, अधिकार सम्पन्न नभएसम्म समावेशी र विविधता पूर्ण हुँदैन,” उनले भनिन्। अर्को वक्ता एवं सञ्चारविद् यमबहादुर दुराले विविधता गहन, व्यापक र जटिल विषय भएकाले छुमन्तर शैलीमा तत्काल लागू गर्न नसकिने बताए। उनले समावेशी र विविधतापूर्ण समाचारकक्ष विकसित देशहरुमा पनि नभएको उल्लेख गर्दै विविधता आउन लामो यात्रा बाकी रहेको बताए। समावेशी र विविधतायुक्त समाचारकक्ष बनाउने जिम्मेवारी सबैको भएको उनीहरुको भनाइ थियो। यसका लागि सरकारले नीति नै बनाएर लागू गर्नुपर्नेमा उनीहरुको जोड थियो। मेलाको उद्घाटन समारोहमा भारतको अनलाइन समाचार पोर्टल द वायरका संस्थापक सम्पादक सिद्धार्थ वरदराजनले सञ्चार प्रविधिको अभूतपूर्व विकास भइरहेको यो समयमा पत्रकारिताले पनि अभूतपूर्व चुनौती भोगिरहेको बताएका थिए। वरदराजनले भने, “यो मिडियाका लागि अभूतपूर्व चुनौती र त्रासको समय हो।” पहिलो दिन ‘बदलिंदो भूराजनीतिबीच मिडियाको उपस्थिति’ विषयमा कान्तिपुरका प्रधान सम्पादक सुधीर शर्मा र हिमालका प्रकाशक कनकमणि दीक्षितसँग हिमाल साउथएशियाका सम्पादक रोमन गौतमले संवाद गरेका थिए। भारतको बुम तथ्यजाँच तथा इन्डिया स्पेन्‍ड सम्बद्ध पत्रकार गोविन्दराज इथिराजले डेटा जर्नालिज्मबारे आफ्नो प्रस्तुति राखेका थिए। इथिराजले नागरिकलाई सही सूचना दिएर सुस्पष्ट विचार निर्माण गर्न तथ्याङ्कमा आधारित पत्रकारितालाई प्राथमिकता दिनुपर्ने बताए। त्यस्तै, ‘मिथ्या सूचना, तथ्य समाचार’ विषयमा नेपाल चेकका सम्पादक दीपक अधिकारी, अनलाइनखबरका प्रधान सम्पादक शिव गाउँले र डिजिटल राइट्स नेपालका सन्तोष सिग्देलसँग पत्रकार सजनाले बरालले संवाद गरेकी थिइन्। दुई दिने हिमाल मिडिया मेला  आज विहीवार पनि विविध विषयमा प्यानल छलफल जारी रहनेछ । 

दाङमा थारु सङ्ग्रहालयप्रति आकर्षण बढ्दै

दाङमा थारु सङ्ग्रहालयप्रति आकर्षण बढ्दै

१२२३ दिन अगाडि

|

२० वैशाख २०८०

दाङको दङ्गीशरण गाउँपालिका-३ मा निर्माण गरिएको थारु सङ्ग्रहालयको आकर्षण बढ्दै गएको छ । हिजो आज दैनिक एक हजारको हाराहारीमा दर्शकले सङ्ग्रहालय अवलोकन गर्ने गरेका छन्। “दैनिक एक हजारको हाराहारीमा अवलोकन गर्नेहरु आउने गरेका छन्”, सङ्ग्रहालय व्यवस्थापन समितिका उपाध्यक्ष शान्ता चौधरीले भनिन् । उक्त सङ्ग्रहालयमा थारु संस्कृति, परम्परा र कलासँग जोडिएका चित्र, मूर्ति, नक्सा, पोसाक र परम्परागत सामग्री राखिएको छ । थारू जातिका परम्परा, नाचगान, चार्डपर्व र सामाजिक जीवन झल्किने चित्र घरको भित्तामा सजिएका छन् । यस्ता सामग्री हेर्न दिनप्रतिदिन मानिसको घुइँचो लाग्ने गरेको छ । समाजका सबै थारु समुदायलाई समेट्ने गरी सामग्री राखिएको छ । उहाँका अनुसार अहिले जिल्लाभित्रका मात्रै नभइ बाहिरबाट पनि आउनेको सङ्ख्या बढिरहेको छ । थारु समुदायका पुराना सिक्का, गरगहना, माटोका भाँडा, दगौरा घरलगायत सामग्री सङ्ग्रहालयमा राखिएको छ । अहिलेसम्म सङ्ग्रहालयका लागि करिब रु छ करोड खर्च भइसकेको र थप लगानीमा नयाँ संरचना निर्माणको काम भइरहेको छ । २०७५ सालदेखि सञ्चालनमा आएको उक्त सङ्ग्रहालयमा स्थानीयवासीले रोजगारी पनि पाएका छन् । थारू गाउँको झल्को दिने परम्परागत घर, कोठा र देउता पनि राखिएको छ । थारू समुदायका पुराना गहना र कपडा पनि सङ्कलन गरिएका छन् । थारू राजाले कसरी राज्य सञ्चालन गरेका थिए भन्ने झल्काउन मूर्ति र नक्सा कोरिएको छ । नेपालका सबै क्षेत्रका थारूको इतिहास संरक्षण हुने गरी सङ्ग्रहालय निर्माण गरिएको छ । सङ्ग्रहालयमा राना, डगौरा, देउखुरी, चितवन, कैलाली कञ्चनपुर मोरङलगायत सबै ठाउँका थारूको संस्कृति र इतिहास एकै ठाउँमा देख्न पाइन्छ । यी सबै सामान नेपालका थारु बाहुल्यता भएको ठाउँबाट सङ्कलन गरी ल्याइएको हो । उक्त सङ्ग्राहलय पाँच बिघा जमिनमा फैलिएको छ । सङ्ग्राहलयमा सामान्य प्रवेश शुल्क रु ५० रहेकामा अपाङ्ग, विद्यार्थी र एकल महिलाका लागि भने रु ३० लिने गरिएको छ ।  सङ्ग्राहलयबाट दैनिक रु ४० हजार जति आम्दानी हुने गरेको उपाध्यक्ष चौधरीले बताए । रासस