रेशमलाई स्वागत गरेको भिडियो खिच्ने पत्रकारलाई डीएसपीले कार्यकक्षमै बोलाएर धम्काए (भिडिओ)

रेशमलाई स्वागत गरेको भिडियो खिच्ने पत्रकारलाई डीएसपीले कार्यकक्षमै बोलाएर धम्काए (भिडिओ)

११८९ दिन अगाडि

|

२४ जेठ २०८०

लेखिका मुना चौधरीको प्रसव पीडाः  उफ् आमा बन्न कति गाह्रो....

लेखिका मुना चौधरीको प्रसव पीडाः उफ् आमा बन्न कति गाह्रो....

११९१ दिन अगाडि

|

२२ जेठ २०८०

मोनिका वाइबा सिरहा जिल्लाको लहान, भोटियाटोलमा जन्मिएकी मुना चौधरी पेशाले अध्यापक हुन्।  इतर मातृभाषा र समुदायबाट आएर पनि नेपाली भाषामा उपन्यास लेखेकी उनलाई सफल महिला आख्यानकारका रुपमा समेत चिनिन्छ।  तेस्रो किताब प्रकाशित गर्ने अन्तिम तयारी गरिरहेकी उनका 'जयवर्धन सलहेश' र 'दुलारी' गरी दुई वटा किताब प्रकाशित छन्।  हाम्रो समाजमा छोरीलाई 'अलि राम्रो’ र 'जागिरे’को हातमा दिऊँ भन्ने छ। आफ्नो छोरी सक्षम भइसकेको होस् , या नहोस् ज्वाईं भने जागिरे हुनुपर्छ, छोरीलाई पाल्ने हुनुपर्छ भन्ने सोच नौलो होइन।  ​​​​​​मुनाको विवाहको कुरा चल्दा पनि यो यही कुरा उठ्यो। बिहेको कुरा चल्दा अहिलेका उनको श्रीमानको जागिर थिएन। गाउँकै जागिरेहरूले उनलाई माग्न आइरहेका थिए।  साथीभाइको बिहे हुन थाल्यो। उनले परिवारमा आफूले मन पराउने मान्छे छ भनेर भन्न करै लाग्यो। जागिर छैन भने त्यो केटा हुँदैन भनियो। तर, प्रेम विवाह नै भयो उनको। बिहे भए पनि जागिर नभएसम्म परिवार खुसी भने भएनन्।  उनै मुना अहिले श्रीमानसँग पोर्चुगलमा बस्दै आएकी छन्। नयाँ किताबकै लागि भनेर उनी अहिले नेपालमा आएकी छन्। उनको श्रीमानको काम र आम्दानी पनि राम्रै छ। त्यै भएर घरमा अरू सदस्य पनि खुशी छन्। बिहेपछि पनि लामो समयसम्म बच्चा नपाउँदा परिवार र स्वयं आफैले पनि सुन्नु परेको वचनसहित उनले आफ्नो प्रसव पीडा र खुशी उकेरासँग यसरी साटिन्।  ००० मेरा बुवा जमिन्दार। त्यै भएर बाल्यकाल राम्रैसँग बित्यो। स्नातकसम्म गाउँमै पढेँ अनि स्नातकोत्तर चाहिँ काठमाडौँमा पढेँ। स्नातक पढ्दै गर्दा मेरो विवाह भयो। लभ म्यारिज भयो। बच्चा भने १५ वर्षपछि भयो।  जागिर र सक्षमताको कुरा पहिल्यैदेखि आएकाले हामीले  जबसम्म आफै सक्षम हुँदैनौँ तबसम्म बच्चा नपाउने भनेरै हतार नगरेको हो।  त्यस बीचमा दुवैको घरबाट बच्चा पाउन दबाब नआएको हैन। गाउँमा पनि अहिलेसम्म किन बच्चा भएन ? भाकल गराइदेऊ, बाँझी छ कि क्या हो ? भन्नेसम्मका कुराहरू भएछ। कत्तिले त अहिले नपाए बुढेसकालमा पाउँछेस् समेत भने।  हामीले अझै केही वर्षपछि मात्र बच्चा पाउने योजना बनाएका थियौं। तर, यति धेरै दबाब आयो कि धान्न सकिएन।  कोरोनाकाल। लकडाउनको समय पनि थियो। त्यसै समयमा अब बच्चा पाउने योजना बनायौँ। योजनाअनुसारै म गर्भवती भएँ।  गर्भवती भएको सुरुको केही महिना त वान्ता हुने, खाना नरुच्ने, जे पनि गन्हाउने, जिउँ पनि यस्तो गल्ने कि जति खेर पनि सुतिराख्न मन लाग्ने भयो। ओहो ! आमा बन्न यति धेरै गाह्रो रहेछ कि हाम्रो आमाले कसरी त्यति धेरै बच्चा जन्माउनुभयो, हुर्काउनुभयो होला भन्ने लागिरह्यो। त्यतिबेलाको पीडा सम्झिँदा त आफ्नो आमाप्रति झन् माया र सम्मान बढेर आउने रहेछ।  गर्भ बसेको बेलामा यस्तो असजिलो भयो कसैले गर्भवती हुँदाको पीडा सुनाएको भए बच्चा नै पाउँदैनथेँ भन्नेसम्म भएको थियो। एकदम कमजोर अनुभव हुने। चार महिनासम्म त खान नरुच्ने, बान्ता मात्र हुने भयो।  त्यो बेला आइसक्रिम धेरै मन पर्ने। दिनमा एउटा आइसक्रिम अनि सुन्तलाको एक गिलास जुसबाहेक अरू केही नखाई बित्यो। त्यै भएर मेरो तौल पनि एकदम कम भएको थियो। त्यसपछिको दुई महिना चाहिँ फेरि खाना रुच्न थाल्यो। आफूलाई खान मन लागेको खाने कुरा पाएन भने पागल नै होलाजस्तो पनि भयो।  त्यो बेला छिनछिनमा पिसाब लाग्ने। बाथरूम पनि जान नपरे हुन्थ्यो, ओछ्यानमै ट्वाइलेट गरौ जस्तो हुने। पेट पनि एकदम भारी भएर आउने। हिँड्न मन नलाग्ने। खान खायो भने पनि पेट चर्किने। पेट नै फुट्लाजस्तो हुने।  धेरैजसो त फलफूल मात्र खाएर बित्यो नौ महिना। बिस्तारै ब्रेस्ट, पेट ठूलो हुन थालेपछि म फेरि पहिलाकै जस्तो हुन्छु कि हुदिनँ भन्ने पनि सोचाइ आयो। त्यै भएर गर्भवती समयमा पनि धेरै योगा गरेँ। योग गर्न नपाएको समयमा पार्क गएर एक घण्टाजति घुमेर बस्थे। त्यसबेलादेखि नै राति सुत्दा तेल लगाएर सुत्न थालेँ।  २० तारिखको मिति दिएको भए पनि एक तारिखतिरै मलाई व्यथा लाग्लाजस्तो भयो। धेरै व्यायाम गरेर पनि होला, पार्कमा हिँड्दा हिँड्दै मेरो 'वाटर ब्रेक’ भयो। धन्न त्यस समयमा श्रीमान् पनि साथमै हुनुहुन्थ्यो। अनि हस्पिटल गइहाल्यौं। तर डाक्टरले आज होइन भोलि बिहान हुन्छ भन्नुभयो। तर, मलाई व्यथाचाहिँ लागेको रहेनछ।  राति व्यथा लाग्ने सुई दिएको रहेछ। त्यसपछि त झन् छिनछिनमा पिसाब लाग्ने, दिसा लाग्ने भयो। ट्वाइलेटमै बसिराख्न मन लाग्ने। व्यथा धेरै भयो भने पछि फेरि ढाडमा सुइ हाल्ने भन्यो। मैले मानिनँ। त्यो सुइ लगायो भने धेरै समयसम्म ढाडमा समस्या हुन्छ, हड्डीमै असर गर्छ भन्ने सुनेको थिएँ।  व्यथा पनि अचम्म खालको हुने रहेछ। अर्कै खालको पेट दुख्ने। लास्टमा चै कन्ने खालको दुखाइ हुने रहेछ। यस्तो पीडा भयो कि पेट र घुँडा नै शरीरबाट छुट्टिएलाजस्तो भयो। त्यो चाहिँ सहन नसकेपछि मैले अब मलाई ढाडमा सुइ हाल्दिनु भने। तर, नर्सहरूले अब त लास्ट स्टेजमा हो भनेर सुइ हाल्न मानेनन्।  त्यतिबेला श्रीमानलाई पनि भित्र बोलाइदिनुभयो। अनि नर्सहरूले नै मेरो कपाल सुम्सुम्याउन लगाउनुभयो। उहाँको अनुहार देखेपछि अलिकति भए पनि सहज भयो।  बच्चा जन्मिने बित्तिकै मेरो छातीमा राखिदियो। अनि त एकदम भोक लाग्यो। तर, टाँका लगाएको भएर चार पाँच घण्टा नखाऊ भन्नुभयो। त्यो दिन केही अनुभव नभए पनि भोलिपल्ट त घाउ यस्तो दुख्यो कि !  त्यहाँ फेरि बच्चाको सबै स्याहार आमाले नै गर्नुपर्ने रहेछ। दिनभरि आफ्नो प्याड चेन्ज गर्नु, बच्चाको डाइपर चेन्ज गर्नु। ओहो कस्तो सकस ! साथमा कोही भइदिएको भए हुने भन्ने भयो। श्रीमान् आधा घण्टा आएर जानुहुन्थ्यो। हस्पिटलमा त्यो चार दिन सम्झिँदा अहिले पनि नराम्रो लाग्छ।  समय पुग्नु अगाडि नै जन्मिएको भएर मेरो त दूध पनि आएन। तर, जब आउन थाल्यो फेरि बच्चाले खानै मानेन। हरेक दुई घण्टामा त्यस्तो घाउ भएको शरीरले बच्चालाई दूध खुवाउन पर्दा एकदम गाह्रो भयो।  पहिलो पटक राति नसुतेको त्यसै समयमा हो। बच्चा फेरि दिउँसो सुत्ने। अनि रातभर नसुत्ने। बच्चालाई हेर्दाहेर्दै आफ्नो लागि त समय नै छुट्याउन पाइनँ। त्यो बेला चै मेरो अनुहारमा पनि पोतो आउने, रिंकलहरू आउने भएको थियो।  बच्चा देखेपछि अलग्गै किसिमको माया लाग्ने रहेछ। त्यै भएर आफूलाई भन्दा पनि बढी समय बच्चालाई दिन पाउँदा खुशी नै लाग्यो। बच्चा हिँड्दा, हाँस्दा, रुँदासमेत उसको गतिविधि देखेर आनन्द आउने रहेछ। घरमा पनि बच्चा भयो भनेपछि सबै जना खुशी हुनुभयो।  अहिले ६ महिनाका लागि यता नेपाल आएको छौँ। सबै जनाले मलाईभन्दा पनि बढी माया बच्चालाई गर्छन्। किताबको काम सकेपछि उतै पोर्चुगल फर्किन्छौँ। बाबुको पढाइ पनि उतै गर्ने हामीले प्लान गरेका छौं। उकेराबाट

नेपालमा जातजातिको संख्या पुग्यो १४२, थारूको जनसंख्या १८ लाख

नेपालमा जातजातिको संख्या पुग्यो १४२, थारूको जनसंख्या १८ लाख

११९३ दिन अगाडि

|

२० जेठ २०८०

नेपालमा जातजातिको संख्या १४२ पुगेको छ। जनगणना २०७८ को जातजाति सम्बन्धी तथ्यांकअनुसार एक दशकमा १७ वटा जातजातिको संख्या बढेको हो। जनगणना २०६८ मा १२५ जातजाति थिए। जातजाति, भाषा तथा धर्मसँग सम्बन्धित यी तथ्यांक उत्तरदाताहरूले दिएका जवाफका आधारमा र विज्ञ समूहसँग परामर्श लिएर प्रकाशित गरिएको तथ्यांक कार्यालयले जनाएको छ। जनगणना २०७८ अनुसार जातजातिको संख्या १४२, मातृभाषा संख्या १२४ र धर्म संख्या १० कायम भएको छ। यसैबीच थारुको जनसंख्या १८ लाख ७ हजार १ सय २४ पुगेको छ । यो जनसंख्याको ६.२ प्रतिशत हो । त्यस्तै, थारु मातृभाषीको संख्या  १७ लाख ४ हजार ९१ पुगेको छ । यो जनसंख्याको ५.८८ प्रतिशत हो ।

झण्डै ४५ प्रतिशतको मातृभाषा नेपाली,  थारु ५.८८ प्रतिशत

झण्डै ४५ प्रतिशतको मातृभाषा नेपाली,  थारु ५.८८ प्रतिशत

११९३ दिन अगाडि

|

२० जेठ २०८०

नेपालको कुल जनसंख्याको झण्डै ४५ प्रतिशतको मातृभाषा नेपाली भएको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ को शुक्रबार सार्वजनिक मातृ भाषासम्बन्धी तथ्यांकअनुसार ४४.८६ प्रतिशतको मातृभाषा नेपाली छ । जनगणनाअनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ । उनीहरुमध्ये सबभन्दा धेरै १ करोड ३० लाख ८४ हजार ४५७ जनाको मातृभाषा नेपाली हो । नेपालीपछि मैथिली मातृभाषा हुनेको संख्या धेरै छ । ३२ लाख २२ हजार ३८९ जना अर्थात ११.०५ प्रतिशतको मातृभाषा मैथिली छ । भोजपुरी ६.२४ प्रतिशत, थारु ५.८८, तामाङ, ४.८८, बजिका ३.८९, अवधि २.९६, नेवारी २.९६ र २.७८ प्रतिशतको मातृभाषा मगर धुत रहेको छ । राना थारु अलग भएपछि यसपाली थारुको प्रतिशत घटेको छ । जनगणनाअनुसार नेपालमा १२७ भाषाभाषी छन् । सबभन्दा कम कुसुण्डा भाषाका छन् । यो भाषा मातृभाषा हुनेको संख्या २३ जना मात्र छ । यस्तै बन्करिया मातृभाषा भएकाहरुको संख्या पािज ८६ मात्र रहेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ ।

किराती लोकपरम्परामा सञ्चार प्रणाली

किराती लोकपरम्परामा सञ्चार प्रणाली

११९६ दिन अगाडि

|

१७ जेठ २०८०

गणेश राई  विश्वको आमसञ्चार प्रणाली विज्ञान र प्रविधिले जसरी फड्को मारेको छ त्यसबाट देश नेपाल पनि सँगसँगै घिस्रिरहेको छ । यद्यपि अत्याधुनिक सञ्चार प्रणालीसँग जोड्नुअघि नेपाली समाज र त्यसमा पनि आदिवासी जनजाति समुदायको आफ्नो छुट्टै परम्परागत सञ्चार प्रणाली थियो र छन् । प्रस्तुत आलेखमा आदिवासी किरात राई जातिको लोकपरम्परा, सामाजिक मूल्यमान्यतालाई केन्द्रबिन्दु बनाइएको छ । मुन्दुम दर्शनमा आधारित जीवन पद्धति  किरात जातिको जीवनदर्शन तथा जीवन पद्धति मुन्दुममा आधारित छ । मुन्दुमलाई मुन्धुम, मुक्दुम, मुक्तुम, मुद्दुम, मिन्दुम, मुन्थुम पनि भनिन्छ । आदिम पुर्खाहरूले मान्दै, मनाउँदै ल्याएका परम्परागत जीवन उत्पत्तिदेखि जन्म, न्वारन, पास्नी, छेवर, गुन्युचोली, विवाह, पुनर्विवाह, मृत्युसंस्कार, मृत्युपछि गरिने संस्कार मुन्दुममा आधारित छन् । सृष्टि मुन्दुममा छ नारीसत्ता । नारीको अरनखटनपछि पुरुषले काम गर्छ । चिबे चरीको पुच्छर हेरेर खाँबो काट्छ । लामपुच्छ«े चरीको पुच्छर हेरेर बलो काट्छ । अनि घर बनाउँछन्, जोईपोइ मिलेर । ढुकुरको सिकार गर्छन् । ढुकुर गाँडमा पोको परेको बिउ रोपेर अन्नबाली फलाउन थाल्छन् । त्यही बेलादेखि कृषि युगको सुनौलो सुरुवात भएको मानिन्छ ।  आमसञ्चार शब्दकोशमा ‘आम’ भन्नाले सर्वसाधारणका लागि, जनताका लागि । ‘सञ्चार’ भन्नाले कुनै वस्तु एक ठाउँबाट अर्को ठाउँमा लैजाने वा पठाउने काम वा त्यस प्रकारका विविध साधन (डाँक, तार, पत्रपत्रिका, रेडियो, चलचित्र इत्यादि) उल्लेख छ । आमसञ्चार भन्नाले जनताका लागि गरिने सञ्चारकर्म हो, जुन काम सञ्चारक वा सञ्चारको काम गर्ने व्यक्तिले आफू सम्बद्ध आमसञ्चारमाध्यमबाट सार्वजनिक गर्छ ।  एक व्यक्तिले अर्को व्यक्तिसित संवाद गर्नु पनि सञ्चार हो । अंग्रेजी भाषामा कम्युनिकेसन भनिने शब्द ल्याटिन भाषाको कम्युनिबाट आएको हो । यसको अर्थ आदानप्रदान गर्नु भन्ने हुन्छ । मानिसले गर्ने हरेक क्रियाकलाप नै सञ्चार हो । सुख, दुःख, हर्ष, पीडा, आनन्द तिनै क्रियाकलापले जनाउँछ । विज्ञहरूले सञ्चार प्रणालीलाई विभिन्न भागमा वर्र्गीकरण गरेको पाइन्छ । १) अन्तर्वैयक्तिक सञ्चार, २) वैयक्तिक सञ्चार, ३) सामूहिक सञ्चार र ४) आमसञ्चार, (राई, राजेश चाम्लिङ (२०७४) ः किराती समुदायको परम्परागत सञ्चारमाध्यम, ललितपुर ः आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ।) सामूहिक सञ्चार भन्नाले एकैसाथ धेरै ठूलो मानिसको समूह, डफ्फा, हुललाई सङ्केत गर्छ । बुझाउँछ । आमसञ्चार भन्नाले एकै पटक हजारौँ वा असङ्ख्य मानिसलाई सन्देश प्रवाह गर्नु भन्ने बुझिन्छ । त्यसनिम्ति व्यक्ति स्वयं प्रयोग हुन्छ । ती व्यक्तिले कुनै साधन प्रयोग गरेर बुझाउने काम गर्छ । वर्तमान एक्काइसौँ शताब्दी विज्ञान, प्रविधिको उच्चतम विकासले विश्वको कुनै पनि कुनामा घटेको घटना क्षणभरमै संसारभरिका मानिसले थाहा पाउन सक्छन् । खासगरी आमसञ्चार भन्नाले छापा माध्यम अखबार, रेडियो, टेलिभिजन, इन्टरनेट अनलाइनलगायत न्युमिडियाका माध्यमहरू पर्छन् । आधुनिक आमसञ्चारमा विज्ञान प्रविधिबाट उत्पादित अनेकन यन्त्र, उपकरणहरूको प्रयोग हुने गर्छ । आधुनिक सञ्चारको प्रारम्भ इसापूर्व ४००० बाट सुरु भएको मानिन्छ (राई, २०७४ पृ.१४) । परम्परागत आमसञ्चार  मानिस कबिला युगबाट ढुङ्गेयुग, कृषियुग हुँदै आधुनिक सभ्यताको चरणमा प्रवेश गर्दा अनेकन तरङ्गहरू पैदा भएका छन् । व्यक्तिगत लाभका निम्ति, सामूहिक लाभका निम्ति अभिव्यक्ति सञ्चार गर्दैआएका छन् । एक व्यक्तिले अर्को व्यक्ति र समूहलाई सञ्चार गर्न निकाल्ने आवाजलाई विशेष जनाउँछ । सुइसुला होस् वा सिकार खेल्दा हिंस्रक जनावरको आक्रमण हुनुअघि हारगुहार माग्दै चिच्याएको आपत्कालीन स्वर नै सञ्चारको पहिलो आधार मान्न सकिन्छ । त्यसपछि मानिसहरूको झुन्डमाझ सामूहिक रूपमा सञ्चार गर्ने विधिहरू जेजस्ता अपनाइए त्यसलाई परम्परागत सञ्चारका रूपमा लिने गरिन्छ । ती झुन्डले आफ्नो हुल वा समूहले बुझ्ने सामूहिक सञ्चारका सङ्केतहरू मौलिक माध्यम बन्न सकेको पाइन्छ ।  मानव विकास क्रमसँगै सञ्चारका अनेक विधिहरू अपनाउन थालियो । लोककलाले मानव जातिबीच एकआपसमा सुखदुःखका क्षण साटासाट गर्न र सामूहिकताको विकास गर्न सघायो । परिणामस्वरूप लोककला मानव जातिबीच ज्यादै लोकप्रिय हुन थाल्यो । लोककला मानव जातिको सांस्कृतिक परिचय र सांस्कृतिक निधि मात्र बनेन, समाजको व्यक्तित्वसमेत बन्न पुग्यो । यससँगसँगै लोककला आफैँ सामाजिक सञ्चारको माध्यम बन्न पुग्यो । लोककलाले सञ्चारको काम गर्न थाल्यो । लोककलामार्फत हुने सञ्चारलाई आधुनिक सञ्चारशास्त्रीले लोकमाध्यम भन्ने नाम दिए (दुरा, यमबहादुर, लोकमाध्यमका चुनौती, मिडिया रिडर (सम्पा. दीपक अर्याल र अरू, २०७०, काठमाडौँ ः नेपाल पत्रकार महासङ्घ, पृ.३६२–६३) । लोकमाध्यमको निश्चित परिभाषा नरहे पनि रैथाने जाति, स्थानीय भाषा, जीवनशैली, संस्कार, संस्कृति, परम्परा, सामाजिक मूल्यमान्यताहरू त्यसमा जोडिएका हुन्छन् । आदिम युगमा विकसित भएका सञ्चार परम्परागत सञ्चार हुन् । विभिन्न धर्म, जाति र भाषिक समूहको आआफ्नै सञ्चारको प्रयोग गरेको पाइन्छ, जतिखेर आधुनिक सञ्चारका माध्यमहरू आविष्कार गरिएकै थिएन । तिनै सङ्केतहरूको विकास हुँदै जाँदा अनौपचारिक मात्र नभई औपचारिक रूपमा आधुनिक सञ्चार प्रणालीको विकास भएको मानिन्छ ।  भारतीय लेखक सीएस श्रीकुमार (सन् २००७)ले लोककलालाई चार आधारमा विभाजन गरेका छन् : (क)     मौखिक परम्परा : गाउँखाने कथा, गीत, कथा, उखान टुक्का र जीवनमा प्रचलित अन्य श्रुतिपरम्परा ।  (ख)     भौतिक संस्कृति : हस्तकला, खाद्य परिकार, वास्तुकला, कपडा अर्थात् पहिरन, गरगहना, हातहतियार, कृषि प्रणाली आदि ।  (ग)     सामाजिक संस्कार : जन्मदेखि मृत्युसम्मका संस्कार एवं सामाजिक जमघट । (घ)     अभिनयप्रधान कला :नृत्य, वाद्यवादन, नाटक आदि ।  (दुरा, २०७०) आधुनिक सञ्चार प्रणालीको ढाँचाअनुसार सबैखाले लोकमाध्यमलाई सञ्चारमाध्यम भनेर किटान गर्न नसकिए पनि त्यसले सामाजिक मनोविज्ञान, सामाजिक आदर्श, जनविश्वास प्रवाह गर्दछ । मानवीय मन, स्वभावबाट स्वतस्फूर्त प्रकट हुने सञ्चार लोकसञ्चारका रूप मान्न सकिन्छ । एचके रङ्गनाथ (सन् १९७६)ले लोकमाध्यमलाई निकै प्रभावकारी माध्यमका रूपमा व्याख्या गरेका छन् । उनले यो सस्तो, सजिलो, फरक फरक पक्ष (जात, धर्म, क्षेत्र, लिङ्ग वा उमेर)लाई सम्बोधन गर्न सक्ने, तुरुन्त उपलब्ध हुनसक्ने, प्रापकले आफ्नोपनको आभाष गर्ने र राम्रोसँग सुन्ने तथा त्यसको प्रतिक्रिया तुरुन्त दिन सकिने माध्यम भनेका छन् (दुरा, २०७०) । परम्परागत सञ्चारमाध्यम विकसित भएको निश्चित मिति हुँदैन । मानिसहरूले आफ्नो जीवन भोगाइको क्रममा अभ्यास गर्ने विधिविधानको आधारमा विकसित भएका हुन्छन् । निश्चित मिति भन्न नसकिने त्यस्ता अनेकौँ सञ्चारका साधनहरू अझै पनि प्रयोगमा छन् । यी साधनहरू युगौँयुगदेखि प्रचलनमा आएका हुन्छन् (राई, २०७४ पृ.१४) । अनुसन्धाता यमबहादुर दुराले ‘लोकमाध्यमका सकारात्मक पक्ष’बारे उल्लेख गर्छन्– परम्परा र संस्कृतिसँग नजिकको नाता रहेकाले जनस्तरमा नितान्त लोकप्रिय अन्तरसांस्कृतिक सञ्चारमा जस्तो सञ्चार अवरोध नहुने परिचित भाषा र कलाको प्रयोग हुने भएकाले स्थानीय स्तरमा सञ्चार एकदमै प्रत्यक्ष, सीधा र गहिरो प्रभाव रहने । सञ्चारकर्ममा स्थानीय जनशक्ति र प्रतिभाको उपयोग हुने । आधुनिक प्रविधिको प्रयोग नहुने भएकाले तुलनात्मक रूपमा सस्तो पर्ने । विदेशी विचारधारा र सांस्कृतिक साम्राज्यवादबाट मुक्त हुने । सञ्चार प्रणाली शक्तिशाली सञ्चार उद्यमीको हातमा नभई समुदायको स्वामित्वमा रहने । स्थानीय आवश्यकता र जीवनशैली सुहाउँदो सन्देश हुने । तत्काल प्रतिक्रिया प्राप्त हुनसक्ने ।  किरातीको लोकमाध्यम किराती लोकजीवनमा अनेकौँ विषयवस्तु छन्, जसले लोकसञ्चार जनाउँछ । जीवन र जगत्को उत्पत्तिदेखि विभिन्न भाषा, संस्कार, संस्कृति, कला, साहित्य, दर्शन, अर्थशास्त्र, भूगोल आदि अनेकन विषय जीवनपद्धति मुन्दुम दर्शनका विषयवस्तु हुन् । यद्यपि मुन्दममा दुईवटा विषयवस्तुको उठान गरिएका हुन्छन् । उत्पत्तिसम्बन्धी विषय र संस्कार संस्कृतिसम्बन्धी गरी मुख्य दुईवटा विषयवस्तुको उल्लेख मुन्धुममा पाइन्छ (राई, २०७१ पृ.७८) । यिनै दुई विषयमा किरातीको मुन्धुम मिथकको दृष्टिकोणबाट सञ्चार प्रणाली खोज्ने प्रयास गरिएको छ ।  मुन्दुम मिथक र सञ्चार एक दिन हेन्खाम (धर्ती)मा सुम्निमा तान बुनिरहेकी थिइन् । अचानक निनाम्मा (आकाश) बाट सुन्दर सिखिप (काइयो) सुम्निमाको छेउमा झ¥यो । राम्रो सिखिप हेरेर ज्यादै गद्गद भइन् । यति राम्रो सिखिप बनाउने मान्छे झन् राम्रो होला ? को त्यो मान्छे होला ? भन्ने प्रश्नले उनलाई सताउन थाल्यो । पक्कै यो मान्छे राम्रो हुनुपर्छ । मौका मिलेछ भने ऊसँग विवाह गर्छु भनी मनमा सोचिछन् । पारुहाङ अर्काको अन्तर्मनको अदृश्य कुरो बुझ्ने भएकाले तुरुन्त प्रफुल्लित भएर आफ्नो रूप बदली तल झरेछ । योजना सफल हुने भएपछि विवाहको प्रस्ताव राखेछन् । सिखिपको कुरोबारे वर्णन गर्दै आफू सुन्दर भएको चर्चा राखेछन् । सारा खुसी दिने बाचा गरेछन् । बुढो हाङ पुरुष देखेर सुम्निमाले विवाहको प्रस्ताव अस्वीकार गरिछन् । सुम्निमाले गाली गरिछन् । रिसले तातेका पारुहाङ पनि आकास लोकतर्फ हान्निएछन् । पछि पारुहाङले बदला लिने योजना बनाई धर्तीका सारा भाग सुकाइदिएछन् । पानीको हाहाकार भएछ । पारुहाङले आफ्नो वीर्य रुखको टोड्कामा राखेर अलप भएछन् । सुम्निमाले लाहाचे चरोलाई पानी खोज्न पठाइन् । पानीको तिर्खाले गर्दा त्यो टोड्काको पानी (वीर्य) लाहाचेले खाइदिएछ । त्यो नसोचेको अवस्था देखेर पारुहाङ रिसाएर चराको जिब्रो थुतिदिएछन् । वीर्य पुनः नाचिहाङको पातमा राखेर बेपत्ता भएछ । झन् पानीको अभावमा धर्ती जल्न थालेछ । अब सुम्निमाले के गर्दिरहेछ भनेर बदला लिन पारुहाङ हिमालमा गएर मस्त निदाएछ । हेन्खामाभरि पानीको हाहाकार खडेरी भयो । काकाकुल सुम्निमाले खोलामा बस्ने कल्चुँडा चरालाई पानी खोज्न लगाइन् । उसले धेरै ठाउँ खोज्दै गर्दा अचानक वनस्पतिको पातमा पानी देखेछ । नाचिहाङको पातमा भएको दुई थोपा पानी ल्याइदिएछ । सुम्निमाले जब त्यो पानी पिइन्, त्यसपछि सारा धर्र्तीमा पानी रसाएछ । जताततै हरियाली भएर आएछ । सबै प्राणीहरू चिसोले ब्युँतिएछन् । सुम्निमा पनि आनन्दले रमाउँदै बसिन् । तर अर्कोतर्फ सुम्निमा बिरामी भइन् । उनले नारावा (धोबी चरा)लाई दोवा (धामी किराती) खोज्न पठाइन् । आफ्नो दसा हेर्न यारी (जोखाना कुनै अदुवाको वा लहरे जङ्गली वनस्पतिको जरा काटेर चित, पोटबाट रोग खुट्याउनु) पनि पठाइछन् । नारावाले अरू सामानहरू बेछु (अदुवा), मेरिपात (वनस्पतिको पात), वासिम (जाँड), सोलेमा (चिन्डो), अछेता र सुनाखरीफूल बोकेर हिमालतर्फ गएछ । बुढोहाङ दोवा (धामी)लाई भेटेर सुम्निमाको रोगबारे हेर्न अनुरोध गरेछ । यारी काटेर जोखना हेर्दा सुम्निमा बुखुन्दीमा (गर्भवती) भएको बताएछ । नारावाले हतारहतार आएर उक्त खबर सुम्निमालाई सुनाएछ । खबरले सुम्निमालाई आश्चर्य तुल्यायो । नैतिकताको कारण दोधारमा परिन् । कुनै पुरुषसँग सम्बन्ध नगरी कसरी यो सम्भव छ । यो उसैको षडयन्त्र हो भन्ने विश्वास गरिन् । अब उसैसँग विवाह गर्ने सोचिन् । पारुहाङसँग विवाह गर्ने विचार गरी ताङतुप्मी चरालाई खोज्न पठाइन् । तर चरा कहिल्यै फर्केन ।  धेरै पछि बल्ल चराले थाहा पाएछ । पारुहाङ साल्पापोखरीको पानीभित्र सुतिरहेको रहेछ । चराले सोलेवा (चिन्डो)को जाँड छर्कंदै पोखरी वरिपरि नाच्दै गीत गाएछ । नाचागान गर्दै हल्ला गरेछ । तर पारुहाङ उठेनछ । लगातार सुम्निमाले तुइरा चरा, चेन्चेरेवा (जङ्गली कुखुराको भाले), तायाया (मयूर), खियामा (धनुष) चरालाई पालैपालो पारुहाङलाई उठाउन साल्पापोखरीमा पठाइछिन् । उनीहरूले पनि त्यसैगरी सोलेवाको जाँड पानी छर्किंदै पोखरी वरिपरि नाचेछन् ।  कति गर्दा पनि कार्य सफल भएन । गर्भवती सुम्निमा झन लाजले र डरले बिलखबन्दमा पर्दै गइन् । अन्त्यमा सुम्निमाले कावा (गँगटा)लाई आफ्नो समस्या वृत्तान्त सुनाइन् । अन्यथा आफ्नो जे पनि हुनसक्ने कुरा पीर बताइन् । त्यसपछि पोखरीभित्र सुतेका पारुहाङलाई उठाउन कावा पठाइन् । पहिले गएका चराहरू पोखरी वरिपरि नाचगान गरेर थकित बसिरहेका रहेछन् । कावाले पानीभित्र मस्त निदाएका पारुहाङको कानमा टोकेर ब्युँताएछ । पारुहाङ रिसले आगो भएर बाहिर निस्केछ । सुम्निमाले त्यसैबेला आफ्ना सारा पुराना गल्ती स्वीकार गरिछन् । अब पारुहाङ तिमीलाई प्रेम गर्छु भनी प्रस्ताव राखिछन् । आफूबाट भूल भएकामा माफ मागिछन् ।  पारुहाङको मन प्रसन्न भएछ । आफ्नो योजना सफल भएकोमा हर्षले सुम्निमालाई आलिङ्गन गरेछ । दुवैले विवाह गरी घरजम बसालेछन् । विवाहको दिन सुम्निमाले लोग्नेलाई लिम्चुङबुङ फूलको श्रीपेँच बनाई शिरमा लगाइदिइन् । लोग्नेले पनि सुम्निमाको शिरमा आमलारिबुङ (सुनाखरी फूल) लगाइदिएछन् । उक्त शुभविवाहको उत्सवमा सारा चराहरूले, अन्य प्राणीहरूले आआफ्नो भाषा, सङ्गीतमा जे जानेका थिए, त्यही विशेषताका आधारमा नाचेछन् । गीत गाउँदै रमाइलो गरेछन् । सारा धर्ती, आकाशमा दुवैको विवाह धुमधाम सम्पन्न भएछ । यसैको आधारमा पुर्खा पारुहाङ र सुम्निमालाई सम्झेर सम्मान गरी नाचिने नाच साकेला हो (राई, २०७१ पृ. ६७–६९) । संश्लेषण : निनाम्मा (आकाश)मा रहेका पारुहाङ र हेन्खाम (धर्ती)मा रहेकी सुम्निमा पुर्खा हुन् । पुर्खाले सृष्टिकालमा एकले अर्कोलाई सन्देश प्रवाह गरेका छन् । सन्देशवाहकका रूपमा लाहाचे, नारावा (धोबी चरा), ताङतुप्मी, तुइरा चरा, चेन्चेरेवा, तायाया, खियामा चराहरू, कावा (गँगटा) देखिएका छन् । दोवा (धामी)बाट बेछु (अदुवा), मेरिपात (वनस्पतिको पात), वासिमले भरिएको चिन्डोको जाँड छर्केको सङ्केत गरेका छन् । मुन्दुमी सञ्चारवाहक (१) भाले, (२) लिम्चिबुङ, (३) तारे चरो, (४) ताङतुप्मी चरो,।् (५) तुइरा चरा, (६) चेन्चेरेवा (जङ्गली कुखुराको भाले), (७) तायाया (मयूर), (८) खियामा (धनुष) चरो, (९) कावा (गँगटो), (१०) धोबिनी चरो । परम्परागत सञ्चार (१) भुम (पुङ बजाउने), (२) डाँडाबाट कराउने, (३) सुसेली हाल्ने, (४) मान्छे पठाउने, (५) पात बजाउने, (६) चौतारी, (७) थार झुन्डाउने, (८) साकेला नाच्ने, (९) बन्दुक पड्काउने, (१०) ढोल बजाउने, (११) झ्याम्टा बजाउने, (१२) बाँसुरी बजाउने, (१३) कोस राख्ने ।  (१) भुम (पुङ) भुम (पुङ) जङ्गली भैँसी वा अर्नाको सिङलाई टुप्पोमा सानो प्वाल पारेर उक्त प्वालमा मालिङ्गोको पाइप राखी मुखले फुकेर बजाइने एक प्रकारको बाजा हो । सोलुखुम्बुको साताङ क्षेत्रमा दायाँ सिङ र लोखिममा बायाँ सिङ बजाउने परम्परा छ । यो बाजा कुलुङ राई, थुलुङ राई र खालिङ राईले तोष वा तोषी (साकेवा) थानमा पूजा गर्न जाँदा नोक्छो (धर्मगुरु)को साथमा ढोल, झ्याम्टा सँगसँगै बजाइन्छ । नयाँ खेतीपाती सुरु ग-यौँ । हामीलाई वर्षाद् चाहियो भनेर वाबुहव (इन्द्र)ले सुनिदिनुप¥यो भनेर सूचनाका लागि भुम बजाइन्छ । भुमको काम सूचना दिने नै हो । यो प्रचलित परम्परागत बाजा हो (निर्कुधन थुलुङ राईसँग कुराकानी) ।  (२) डाँडाबाट कराउने  समुदायमा सामूहिक सूचना दिनका निम्ति समाजले खटाएको व्यक्तिले गाउँठाउँको अग्लो ठाउँ वा डाँडाबाट आवाज दिएर कराउने परम्परागत चलन आजपर्यन्त निरन्तर छ ।  (३) सुसेली हाल्ने  टाढाको व्यक्तिलाई निश्चित सचेत गराउन र ध्यानाकर्षित गर्न सुसेली हालेर ‘सुइँए’ गरी सुसेल्ने चलन रहेको छ ।  (४) मान्छे पठाउने  समाजमा मरौपरौ, बिहेबटुलो, सामूहिक कार्यका निम्ति व्यक्तिलाई खटाएर व्यक्तिगत वा सामूहिक जानकारी गराउने चलन छ ।  (५) पात बजाउने वनजङ्गलमा घाँसदाउरा काट्न जाने मानिसले हरियो पात बजाएर अरूलाई जनाऊ दिने चलन छ । अझ गीतको भाका बजाएर अरूलाई ध्यानाकर्षित गराउने तथा दूधकोशी वारिको मान्छेले पारिका मान्छेसित संवाद गर्न पात बजाउने गर्छन् ।  (६) ठाँटीफलैँचा  किरात समुदायले आफूलाई पितृपुर्खा र प्रकृतिपूजकका रूपमा चिनाउने गर्छन् । पूर्वजहरूको निधनपछि उनीहरूको सम्झनामा बाटोघाटो छेउमा ठाँटीफलँैचा वा चौतारी बनाउने परम्परा छ । जसमा पुर्खाको नाम, आयु र सम्झना साँच्ने परिवारको नामाङ्कित हुने गर्दछ ।  (७) थार झुन्ड्याउने  कुनै व्यक्ति, परिवार विशेषले आफ्नो वा सामूहिक स्वामित्वमा रहेको वनपाखामा रहेको रुखबिरुवा, घाँसदाउरा काट्न प्रतिबन्ध लगाउने सङ्केतका रूपमा घोचोमा बाबियो वा खरमा ढुङ्गा बाँधेर झुन्ड्याएर सङ्केत दिने चलन छ ।  (८) साकेला नाच्ने किरात राई समुदायमा उभौली र उधौलीमा सार्वजनिक थलोमा सामूहिक रूपमा भेला भएर गोलघेरा नाच्ने गरिन्छ । त्यतिखेर ढोल, झ्याम्टा, चमर, सिकिरी बजाएर सामूहिक रूपमा नाच प्रदर्शन गरिन्छ ।  (९) बन्दुक पड्काउने लिम्बू समुदायमा परम्परागत सञ्चारका बन्दुको प्रयोग गरिन्छ । बिहेलगायत शुभकार्यमा जोडी बन्दुक पड्काइन्छ । मृत्यु हुँदा एउटा मात्र पड्काइन्छ । लिम्बुवानको कुनै गाउँमा कसैको घरमा एकनाल बन्दुक पड्काएको सुनिएमा त्यो घरको सदस्यको मृत्यु भएछ भनेर जानिन्छ ( तेजमान आङदेम्बे, इलाम टाइम्स) ।  (१०) ढोल बजाउने  उभौली वा उधौलीमा किरात राईहरू ढोल बजाएर नाच्ने गर्छन् । यसले सम्बन्धित किरात राई जातिको विशेष अवसरका रूपमा जनाउ दिन्छ ।  (११) झ्याम्टा बजाउने घरको विशेष पितृकार्य गर्ने वा सामूहिक रूपमा साकेला सिली प्रदर्शन गर्ने परम्परा रहेको छ । त्यतिखेर झ्याम्टा बजाइन्छ । अन्य शुभकार्यमा समेत ढोल र झ्याम्टा बजाउने परम्परा छ ।  (१२) बाँसुरी, मुरली, बिनायो मनोरञ्जनमा रमाउनु मानिसको प्राकृतिक स्वभाव हो । किराती समुदायका मानिसहरूमा पनि त्यस्तै स्वभाव पाइन्छ । जङ्गली युगबाट कृषि युगतर्फ लम्किँदै गर्दा मनोरञ्जनको साधनका रूपमा बाँसबाट अनेक बाजा बनाएर बजाउने गरेको पाइन्छ । बाम्बुले राई समुदायमा असारदेखि साउन १४ गतेसम्म धरतीमुनि देउताहरू गुफा बस्छन् । त्यसैले त्यतिखेर बाजाबजाना गर्नु हुन्न । चिच्याउनु, गीत गाउनुहुन्न । कपाल काट्न, कोर्न हुन्न । नङ काट्न हुन्न । जथाभाबी फोहरमैला गर्न हुन्न । भगवान्ले खिर पकाएर खाएका हुन्छन् । देउता रिसाउँछन् । वर्षात् भेल, पहिरो जान्छ । अनिष्ट हुन्छ भन्ने मान्यता रहेको छ । जब साउन १५ गते हुन्छ, त्यस दिनदेखि देउता गुफाबाट बाहिरिन्छन् । खुसियाली मनाउनुपर्छ भनेर बाँसुरी, मुरली, बिनायो बजाउने परम्परा रहेको छ । गाउँघर, डाँडापाखा, वनपाखामा बाँसुरी, मुरली, बिनायो, मुर्चुङ्गाजस्ता बाजा बजाउने गरिन्छ । बाम्बुले राईले साउन १५ गतेलाई बाँसुरी दिवसका रूपमा मनाउँछन् ।  (१३) कोस  जमिनको लम्बाइ नाप्दा दुई माइल लामो परिमाण, आठ हजार हात वा चार हजार गज लम्बाइको नापो, आठ सय धनु वा पँैतीस सय बीस गजको दुरी (बृहत् शब्दकोश) । उहिले नेपाली समाजमा घडी लगाएर समय मापन गर्ने प्रविधिको विकास भएको थिएन, त्यतिखेर बाटो हिँड्दा तीन किसिमले कोसको नापो लिने चलन थियो । यो चलन किराँती समुदायमा पनि थियो ।  (अ) ढुङ्गेकोस : उहिले मूलबाटो जमिनको दुई माइल दूरीका आधारमा ढुङ्गा गाड्ने चलन थियो । त्यसलाई कोसेढुङ्गा भनिन्थ्यो ।  (आ) स्याउले कोस : उहिले घडीको चलन नहुँदा बाटो हिँड्ने बटुवाले आफू हिँडेको बाटोको दूरी मापन गर्न रुखबिरुवाको पातसहितको हाँगा वा डाला भाँचेर हातमा लिन्थे । एक ठाउँबाट अर्को ठाउँ पुगिन्जेल उक्त स्याउला ओइलिने र सुक्ने गरी हातमा लिन्थे । त्यसलाई स्याउले कोस भन्ने गरिन्थ्यो ।  (इ) रुमालेकोस : उहिले बाटो हिँड्ने बटुवाले आफू हिँडेको बाटोको दूरी मापन गर्न खोला खोल्सी, कुवाको पानीमा रुमाल भिजाएर हातमा लिन्थे । एक ठाउँबाट अर्को ठाउँ पुगिन्जेल उक्त रुमाल सुकेसम्मको दूरीलाई एक कोसका रूपमा गणना गर्थे । त्यसलाई रुमाले कोस भन्ने गरिन्थ्यो । निचोड  किराती राई समुदायमा मिथकीय सञ्चार, लोकमाध्यम र आधुनिक सञ्चार विद्यमान छ । मिथकीय सञ्चारमाध्यमहरू वर्तमानमा प्रचलनमा नरहेको तर सृष्टिकालमा पुर्खाले प्रयोग गरेको मुन्धुम मिथकमा पाइन्छ । त्यही मिथकलाई आजपर्यन्त पुस्तान्तरण हुने र गर्ने काम जारी छ । मिथकीय पात्रहरू, साधनहरू र त्यसका सन्देश बाहकहरूबारेमा उल्लेख गरिएका छन् । किरात मुन्दुम मिथकमा उद्धृत सञ्चार र तिनका बाहक सबैलाई व्यवहारमा उतार्न सम्भव छैन ।  लोकपरम्परामा रहेका बाजागाजाहरू, सांस्कृतिक सामग्री, मुन्दुम पालकहरूले पहिरिने परम्परागत पहिरनहरू, गरगहनाहरू विद्यमान छन् । जसलाई लोकमान्यतासित जोडेर आर्थिक उपार्जनसँग जोड्न थालेको पाइन्छ । परम्परागत मिथकलाई वर्तमान जीवनसँग जोड्नु आफैँमा महìवपूर्ण पक्ष हो । लोकपरम्परालाई बचाइराख्नका निम्ति आधुनिक सञ्चारमाध्यमसँग जोडेर जीवन्त तुल्याउने प्रयास महìवपूर्ण छ । जीवन्त तुल्याउने प्रयासमा रैथाने बोलीचाली, परम्परागत मूल्यमान्यता, लोककला, लोकनाटक, लोकगीत, लोकसंस्कृति आदिलाई बिटुलो हुनबाट भने जोगाउन जरुरी छ । मधुपर्कबाट (लेखक गणेश राई पत्रकार तथा लोकसंस्कृति अध्येता हुन् ।)

मन्त्री रन्जिता श्रेष्ठको सराहनीय कार्य : मुगुबाट उपचार गराउन आएको बिरामी बच्चालाई पुर्‍याइन् अस्पताल

मन्त्री रन्जिता श्रेष्ठको सराहनीय कार्य : मुगुबाट उपचार गराउन आएको बिरामी बच्चालाई पुर्‍याइन् अस्पताल

११९७ दिन अगाडि

|

१६ जेठ २०८०

 मुगु, चौरझारीदेखि नेपालगंज हुँदै आफ्नो बिरामी बच्चालाई उपचार गराउन एक्लै काठमाडौँ आइ पुगेकी आमालाई माननीय मन्त्री रन्जिता श्रेष्ठ चौधरीले एयरपोर्टदेखि आफ्नै गाडीमा बोकी अस्पताल पु¥याएकी छिन् । । आर्थिक स्थिति कमजोर भएकाले लामो यात्रा गरेर आएपनि आमा र बच्चा दुबै भोकै भएकोमा श्रेष्ठले चिन्ता व्यक्त गरिन् । ।   गाडीबाट ओर्लिएर उनले बिरामी बच्चालाई आफ्नै बच्चाझैँ च्यापेर शिक्षण अस्पतालको आकस्मिक कक्षसम्म लगिन्  ।  बच्चाको टाउकोमा चोट लागेकोले उपचारको लागि डा. निरज बमसँग सल्लाह लिइ उचित उपचारको व्यवस्था गराइ उनी फर्किइन् । 

राष्ट्रपतिद्वारा रेशम चौधरीसहित १९ जनाको कैद सजाय माफी

राष्ट्रपतिद्वारा रेशम चौधरीसहित १९ जनाको कैद सजाय माफी

११९९ दिन अगाडि

|

१४ जेठ २०८०

राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीसहित १९ जनाको कैद सजाय माफी गरेका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को जेठ १२ र १४ गते बैठकको सिफारिस अनुसार पौडेलले सो निर्णय गरेका हुन् । राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘टोपबहादुर बुढा समेतका १९ जना व्यक्तिहरूलाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद सजाय नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम गणतन्त्र दिवस, २०८० को उपलक्ष्यमा माफी भएको छ ।‘ त्यस्तै, राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को जेठ १२ को बैठकको सिफारिसमा जेठ १५ गते देखि लागू हुने गरी रमेश थलङ भन्ने हेमबहादुर थलङ/लिम्बूसमेतका ४७५ जना र ज्येष्ठ नागरिक उदय नारायण गिरीसमेतका ७ जना गरी कुल जम्मा ४८२ जना कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय माफ गरेका छन् । नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ तथा ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ बमोजिम गणतन्त्र दिवस, २०८० को अवसरमा माफी दिएको हो ।