सुल्फीदेवीको सुर्ताः ‘छोरा रेशमको पीरैपीरले मन खाइरहेको छ ’
१२४४ दिन अगाडि
|
१ वैशाख २०८०
घनश्याम खड्का, दीपक सापकोटा
‘अब त छोरा छुट्छ होला कि ?’ छिमेकीहरू सुल्फीदेवी चौधरीलाई अचेल सोध्ने गर्छन्, ‘बुहारी मन्त्री भइसकिन्, बूढा पनि सांसद छन्, अब त काम बन्छ होला कि ?’
कैलालीको जगतपुरस्थित गाउँको एक्लो घरमा एक्लै बस्दै आइरहेकी सुल्फीदेवीसँग जवाफमा कुनै शब्द छैन । ‘खै कुन्नि ?’ तैपनि उनले भन्ने गरेकी छन्, ‘छुट्छ कि त ?’
आफ्नो रिहाइलाई मुख्य एजेन्डा बनाएर छोरा रेशम चौधरीले खोलेको नयाँ दल नागरिक उन्मुक्ति पार्टीलाई चुनावमा थारू समुदायले साथ दियो । परिणामतः कैलालीबाट तीन सिट पार्टीले जित्यो । यहाँसम्मकी सुल्फीदेवीका पति लालवीरले पनि बर्दिया–२ बाट चुनाव जिते ।
आफ्नै नाममा दल दर्ता गर्न नमिलेपछि रेशमले पत्नी रञ्जिता श्रेष्ठलाई अध्यक्ष बनाए । चुनाव प्रचारका बेला गाउँगाउँ, घरघर एउटा गीत खुबै गुञ्जियो– ‘तोहर छावा जेलम परल बा’ अर्थात् तिम्रो छोरा जेल परेको छ । राजनीतिक शक्ति र सामर्थ्यमा थारू समुदाय कमजोर भएको र रेशमहरू थुनिनुपरेकाले रिहाइका लागि चुनाव जिताउनैपर्ने आवश्यकता उनीहरूले मतदाताका घरघर पुगेर दर्शाए । त्यसअनुसार मत पनि आयो । पार्टी अध्यक्ष रञ्जिता यतिबेला भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री भएकी छन् । यति भइसकेपछि रेशम रिहा हुनुपर्ने हो भन्ने कैलालीका थारू समुदायको बुझाइ छ । त्यसैले उनीहरू सुल्फीदेवीलाई बारम्बार सोधिरहन्छन्, ‘रेशम छुटिसके त रु’
‘मलाई पो के थाहा र बाबु ?’ सुल्फीका आँखामा आशा देखियो, ‘छुट्न त छुट्ला नि है ?’
जेलमै बसेको छोराको परिकल्पनामा खुलेको पार्टीले स्थानीय चुनावमा कैलालीका चार पालिका प्रमुख जित्यो । त्यसैमध्येको एक जानकी गाउँपालिका–७ स्थित जगतपुरमा सुल्फीको घर छ । बुहारी रञ्जिता चुनाव जितेपछि र मन्त्री भइसकेपछि स्वाभाविक रूपले काठमाडौंमै छिन् । हुँदाहुँदा पति लालवीर पनि चुनाव जितेपछि काठमाडौंमै बस्न थाले, छोरा रेशम डिल्लीबजार कारागारमा छन् ।
एक्ली सुल्फीदेवी गहिरो सन्नाटाबीच चुपचाप उभिएको उही पुरानो घरमा दिनरात मनमा कुरा खेलाएर बसिरहेकी छन् । आइतबार तातो मध्याह्नमा हामी त्यहाँ पुग्दा उनी बरन्डामा टोलाइरहेकी थिइन् । घर छेवैमा बेलको झ्याम्म परेको रूख थियो, जसमुन्तिर बाख्रा–पाठा र कुखुरा सियाल तापिरहेका थिए । सुल्फीदेवी समय कटाउन कहिले यिनै बाख्रा पाठासँग खेल्छिन्, कहिले आँगन अघिल्तिरको ‘देउतीघर’ मा पस्छिन् र लिपपोत गरिवरी छोरा कहिले छुट्ला भनेर नदेखिने देउतासित मनमनै सोधपुछ गर्छिन् । ‘रातदिनै छोराको सम्झनाले पिरोल्छ, सपनामा उसैलाई देख्छु,’ ६७ वर्षीया सुल्फीदेवी सुस्ताउँछिन्, ‘के खान्छ होला मेरो छोराले ? के गर्छ होला त्यसले जेलमा ?’ खाने बेला सधैं उनी रेशमको अनुहार सम्झिन्छिन् । ‘आज के खायो होला उसले भनेजस्तो लाग्छ, त्यसपछि त खान मनै लागेर आउन्न,’ उनले सुनाइन् ।
बुहारी मन्त्री भएपछि उनलाई मानिसहरू छोराको रिहाइबारे मात्रै होइन, गाउँमा हुनुपर्ने विकासबारे पनि सोधिइरहन्छन् । उनको घर अगाडिबाट सुलुत्त परेर बगेको सानो कच्ची बाटो छ, जहाँबाट मोटर त के गोरु गाडा गुज्रिँदा पनि धूलो उड्छ । ‘मन्त्रीको घर अगाडि धूलो उड्न त भएन है’ गाउँलेहरूको गुनासोले भरिएको आकांक्षालाई उनी उद्धृत गर्छिन्, ‘यो बाटो पनि पिच गर्न लाउनुपर्यो, आमा ।’ सुल्फीदेवीसँग यसको पनि कुनै जवाफ छैन ।
बुहारी मन्त्री भएपछि उनलाई मानिसहरू छोराको रिहाइबारे मात्रै होइन, गाउँमा हुनुपर्ने विकासबारे पनि सोधिइरहन्छन् । उनको घर अगाडिबाट सुलुत्त परेर बगेको सानो कच्ची बाटो छ, जहाँबाट मोटर त के गोरु गाडा गुज्रिँदा पनि धूलो उड्छ ।
२०७४ को चुनावमा पराजित हुनुअघिसम्म २०४८ देखि हरेक चुनावमा निर्वाचित हुँदै आएका र पटकपटक मन्त्री भएका नेता रामजनम चौधरी दोस्रो पटक यसपालि रञ्जिताबाट पराजित हुन पुगे । रामजनमका अनुसार उनी हार्नुको मुख्य कारण नै रेशम जेल पर्नु थियो । ‘मन्त्री भएर पनि रेशमलाई छुटाउन सकिनस् भन्ने गुनासो ममाथि आयो,’ भन्छन्, ‘मैले सुरुदेखि नै प्रयास गरेको हो छुटाउन भनेर, तर अदालती प्रक्रियामा गइसकेकाले त्यो सम्भव हुन सकेन, मैले यो बुझाउन सकिन र चुनाव हार्न पुगें ।’
संविधानमा राज्य पुनःसंरचनाको मामिला टुंगो लगाउने बेलैमा टीकापुर अशान्त थियो । आफूहरू राज्यबाट चिर दमनमा परेकाले त्यसको सोधभर्ना र उपचारका लागि कैलाली, कञ्चनपुर तथा बर्दिया मिसाएर आफ्नो समुदायको छुट्टै राज्य घोषणा हुनुपर्ने माग थारूहरूको थियो, जसमा सबै दलका थारू नेता एकै ठाउँ उभिए पनि । त्यस संयुक्त मोर्चाका संयोजक थिए– टीकापुरमा फूलबारी एफएम चलाएर बसिरहेका उनै रेशम चौधरी । यता, सुदूरपश्चिमलाई मैदान र पहाड भनी विभाजन गर्न नहुने अडानमा पहाडी समुदाय थियो, जसले अखण्ड सुदूरपश्चिमको मुद्दालाई अघि बढाइरहेको थियो । दुई अलग समुदाय र अलग मागबीच बिस्तारै द्वन्द्व चर्किंदै गयो । त्यसविरुद्ध थारू समुदायले टीकापुरमा बृहत् प्रदर्शन गर्ने योजना बुन्यो, जसमा मधेशवादी दलले पनि ऐक्यबद्धता जनाए । २०७२ भदौ ७ मा वरिपरिका जिल्लादेखि ओइरिएको दसौं हजारको थारू समुदाय टीकापुर आइपुग्यो । आन्दोलनलाई नियन्त्रण गर्न धनगढीदेखि आएका एसएसपी लक्ष्मण न्यौपानेसहितका ७ प्रहरी आन्दोलनकारीको आवेगमा मारिए । त्यस क्रममा एक नाबालक पनि हताहत भए ।
‘राज्यले थारूमाथि गरेको दमनको त्यो एक हिंसात्मक विस्फोटन थियो,’ विश्लेषक सीके लाल भन्छन्, ‘नागरिक उन्मुक्ति पार्टीले अहिले चुनाव जित्नुचाहिँ त्यो विस्फोटनलाई अपराध मान्ने राज्यको बुझाइविरुद्धको जनमत हो ।’ लालको यो विश्लेषणसँग पहाडी समुदायका अगुवा पनि सहमत छन् । ‘रेशम टीकापुरको हिरो हो,’ फूलबारी एफएममा रेशमका आवाज सुनेको सम्झनासहित ७८ वर्षीय सिंहबहादुर रावल भन्छन्, ‘उसलाई अरूले उचालेर घटना घटाए तर मलाई लाग्छ, घटनामा उसको हात थिएन ।’ साम्प्रदायिक सद्भाव नभड्कोस् भनेर थारू–पहाडी समुदाय मिलेर आन्दोलनको ३१ औं दिनसम्म ‘पहाडी थारू भाइभाइ, फटाहाहरू बाइबाइ’ भन्ने नारा लगाउन आफू पनि सडकमा उत्रिएको उनलाई सम्झना छ । ‘केही दिनपछि उपेन्द्र यादव, अमरेशकुमार सिंह, राजेन्द्र महतो र बाबुराम भट्टराईहरू टीकापुर आए र चर्का भाषण गरे, त्यसपछि सबै बिग्रियो,’ रावल भन्छन्, ‘टीकापुर घटनाको असली दोषी त्यही घृणापूर्ण भाषणबाजी हो ।’
घटनापछि टीकापुरमा कर्फ्यु चल्यो । थारू अगुवाका घर जलाइए । धेरैले कुटपिट सहनुपर्यो भने थरुहट आन्दोलनका माग त्यसै तुहिए । अर्को महिना अखण्ड सुदूरपश्चिमसहित सात प्रदेशयुक्त राज्य पुनःसंरचनासहितको संविधान जारी भयो । यता, सरकारले रेशमसहित ५८ विरुद्ध मुद्दा चलायो । त्यसमध्ये २७ पक्राउ परे भने रेशमसहित बाँकी फरार रहे । फरार अवस्थामै रेशमले २०७४ को चुनाव लडे र फराकिलो मतान्तरले जिते पनि । चुनाव जितेलगत्तै रेशमले आफूलाई जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरे । ‘सांसद भइसकेपछि नेताहरूसँगको साँठगाँठमा छुटिहाल्छु नि भन्ने लागेको रहेछ उनलाई,’ नेता रामजनम चौधरी भन्छन्, ‘तर भनेजस्तो भएन, अदालतले रेशमलाई जन्मकैदको फैसला गरिदियो, उनी थुनाको थुनामै रहे ।’
२०७४ फागुन १४ मा जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेयता जेल चलान भएका रेशमलाई सुल्फीदेवीले भेट्न पाएकी छैनन् । तत्कालीन सभामुख कृष्णबहादुर महराले डिल्लीबजारस्थित सदरखोर कारागारमा रहेका रेशमलाई २०७५ पुस १९ मा सिंहदरबार ल्याएर शपथ गराएका थिए । त्यसपछि सांसदको लोगोसहित काराकार फर्किएका रेशमको पाँचवर्षे कार्यकाल निलम्बित सांसदको हैसियतमै बित्यो ।
‘हामीले पाँच वर्षसम्म सांसद पाएनौं, राज्यबाट ठूलो अन्याय भयो,’ टीकापुरका निर्माण व्यवसायी अमरसिंह रावल भन्छन्, ‘कि सरकारले रेशमलाई सफाइ दिनुपर्थ्यो, कि निलम्बन गरेपछि उपनिर्वाचन गर्नुपर्थ्यो तर दुवै काम नगरेर जनप्रतिनिधि पाउने हाम्रो अधिकारै खोसिदियो ।’ रवि लामिछाने निलम्बित हुँदा तत्काल चुनाव गराउने तयारीमा उत्रेको सरकारले टीकापुरमा भने उपचुनाव नगराएर अन्याय गरेको ठान्ने रावल रेशम नछुटेकै कारण कैलालीमा उनको नयाँ दल जन्मिएको ठान्छन् ।
आफूले चुनाव जितेको राष्ट्रिय जनता पार्टी ९राजपा० का नेताले पहल नगरेकैले जेलमै बस्नुपरेको निष्कर्षमा पुगेका रेशमले सदरखोर कारागारबाटै योजना बुने, आफ्नै पार्टी खोल्ने । आफू अध्यक्ष हुन कानुनी अड्चन भएपछि पत्नी रञ्जितालाई अध्यक्ष बनाए र पहिले ३४ हजार ३ सय ४१ मत ल्याएर चुनाव जितेको क्षेत्र कैलाली–१ बाट रञ्जितालाई नै उम्मेदवारी दिन लगाए । आफूले भने बर्दिया–२ का लागि जेलभित्रैबाट उम्मेदवारी दिए । तर, उनको उम्मेदवारी कायम नभएपछि हतारहतार लालटिन चिह्न लिएर बाबु लालवीरलाई त्यहाँको स्वतन्त्र उम्मेदवार बनाए । पत्नी र बाबुले त चुनाव जिते नै, कैलाली–२ बाट अरुणकुमार चौधरी र ३ बाट गंगाराम चौधरी पनि निर्वाचित भए ।
संघीय संसद्मा ४ सहित सुदूरपश्चिममा ७, लुम्बिनीमा ४ र मधेशमा १ गरी प्रदेशमा १२ सांसद पाएको नागरिक उन्मुक्ति एकाएक राष्ट्रिय राजनीतिको चासो बन्न पुग्यो । सरकारलाई समर्थन गर्नुपहिले रेशमलगायत टीकापुर घटनाका थुनुवा र फरार सबैको मुद्दा फिर्ता लिनुपर्ने सर्त पार्टीले राख्यो । त्यसलाई सम्बोधन गर्न खोज्दै चुनावपछिको कामचलाउ सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर १३ मा फौजदारी कार्यविधि संहिताको दफा ११६ मा उल्लिखित नकारात्मक सूचीको संशोधन गरी राजनीतिक आन्दोलनका आरोपी र थुनुवाविरुद्ध लागेको मुद्दा फिर्ता लिन सक्ने प्रावधान राखी अध्यादेश जारी गरेका थिए । नागरिक उन्मुक्ति पार्टीसमेतको सहयोगमा आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गर्ने देउवाको दाउ थियो । तर, तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले महत्त्वपूर्ण मामिलामा कामचलाउ सरकारले अध्यादेश ल्याउन नसक्ने भन्दै त्यसलाई प्रमाणीकरण नगरेकाले त्यो जारी हुन सकेन ।
अध्यादेश जारी हुन नसके पनि नागरिक उन्मुक्ति अहिले पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सामेल छ । यसले टीकापुरमा मिश्रित सन्देश दिएको छ । रामजनमजस्ता राजनीतिमा लागेका नेताहरूले रेशमले पुरानो माग छाडेको भन्दै आलोचना गरेका छन् । ‘२०७२ मा संविधान जारी भएपछि बनेका प्रधानमन्त्री केपी ओलीसँग आठबुँदे सहमति नगरी फोरम लोकतान्त्रिक पार्टीका तर्फबाट म सरकारमा गएको थिइनँ,’ रामजनम भन्छन्, ‘त्यसैको परिणामस्वरूप क्षतिपूर्ति दिने निर्णय भएको थियो, सरकार नढलेको भए मुद्दा फिर्ता पनि हुन्थ्यो तर अहिले रेशमको पार्टी मुद्दा फिर्ता नगरी सरकारमा नजाने आफ्नो पुरानो वाचा बिर्सेर बिनासर्त मन्त्रिपरिषद्मा पुगेको छ, यो राम्रो कदम भएन ।’ छोरा जेलमा पर्यो भनेर उनीहरूले भावनात्मक रूपले मतदातालाई मनाए पनि अहिले भने मुद्दा फिर्ता नभई रञ्जिता मन्त्री बनेर आफ्नै एजेन्डालाई कमजोर पारेको उनको विश्लेषण छ ।
जसरी टीकापुर घटनाले टीकापुर पहिलेजस्तो कहिल्यै भएन, ‘छावा जेलम’ परेपछि सुल्फीदेवीको निद्रा पहिलेजस्तो गाढा कहिल्यै भएन ।
टीकापुरका आम मतदातामा भने अब केही भइहाल्छ कि भन्ने आशा भने छ । ‘भाउजू मन्त्री भइसकेपछि त दाजु छुट्लान नि ?’ टीकापुर आन्दोलनमा संलग्न ३३ वर्षीय खुसीराम चौधरी भन्छन्, ‘अहिलेसम्म त रेशम दाजु घर आइसक्नुपर्ने हो ।’ आन्दोलन मत्थर भएपछि कपाल काट्ने व्यवसाय गर्न थालेका खुसीरामलाई राजनीतिको धेरै पेचिला मामिला थाहा छैन । त्यसमा को कसरी दोषी थियो वा छ, त्यो पनि थाहा छैन । तर, उनलाई भित्रैबाट भने त्यो घटना जानीबुझीकन भएजस्तो लाग्दैन । त्यसैले, आफ्नो समुदायका मानिस थुनामा पर्नुलाई उनी अन्याय मान्छन् । त्यही अन्यायलाई ठीक पार्न आफू र पूरै समुदायले ‘तोहर छावा जेलम परल बा’ गाएर मत माग्न आउनेलाई भोट दिएको कुरो उनी कपाल काट्दा बेलाबखत निक्लने राजनीतिक गफमा सुनाउने गर्छन् ।
टीकापुर घटनापछि पहाडी र थारू समुदायबीच निकै लामो समय सम्बन्ध सुदृढ हुन सकेन । कतिसम्म भने, एउटा समुदायको पसलमा अर्को पस्नै छाडे । ‘तर, बिस्तारै त्यसलाई हामीले मत्थर गर्यौं, कर्णालीको किनारमा उभिएर दुवै पक्षका सांस्कृतिक कार्यक्रमहरू गर्यौं । उनीहरूले देउडा सुनाए, हामीले थारू नाच देखायौं,’ पूर्वमन्त्री रामजनम भन्छन्, ‘अहिले बिस्तारै सद्भाव बढेको छ, जो खुसीको कुरा हो ।’
खुसीको कुरा किन पनि हो भने खुसीरामको पसलमा कपाल काट्न आएका सिंहबहादुर रावल पनि सुल्फीलाई भेटे भने भन्न चाहन्छन्, ‘टोहार छावा जेलम परल बा’ ।
जसरी टीकापुर घटनाले टीकापुर पहिलेजस्तो कहिल्यै भएन, ‘छावा जेलम’ परेपछि सुल्फीदेवीको निद्रा पहिलेजस्तो गाढा कहिल्यै भएन ।
‘छोराको यादले मलाई निद्रै लाग्दैन,’ सुल्फी सुर्ताउँछिन्, ‘म यता छु, छोरा उता सहरको जेलमा छ । सम्झेर पनि के गर्नु ? नसम्झेर पनि के गर्नु ? छोराको पीरैपीरले मन खाइरहेको छ ।’ कान्तिपुरबाट