घोराहीका वादी बालबालिकाको प्रश्न– दुःखले साथ छाड्ला र ?

घोराहीका वादी बालबालिकाको प्रश्न– दुःखले साथ छाड्ला र ?

१२९४ दिन अगाडि

|

११ फागुन २०७९

मुक्त कमलरीका वेदनाः सरकारले मुक्त घोषणा त गर्‍यो, ठोस कार्यक्रम खै ?

मुक्त कमलरीका वेदनाः सरकारले मुक्त घोषणा त गर्‍यो, ठोस कार्यक्रम खै ?

१२९५ दिन अगाडि

|

१० फागुन २०७९

ध्रुवसत्य परियार कैलालीको गौरीगंगा घर भएकी हिरा चौधरी १४ वर्षको उमेरमा कमलरी बस्न पुगेकी थिइन् । जन्मेदेखि नै उनका बुवा र ठुल्बुवाहरू कमैया थिए । ०५३ सालपछि उनीहरूले गाडीको पन्चर टाल्ने पसल खोले, ऋणधन गरी १५ कट्ठा जमिन पनि जोडे । तीन दाजुभाइ छुट्टाभिन्न हुँदा हिराका बुवाको भागमा पसल मात्रै प¥यो, उनी भूमिहीन नै रहे ।  २०५७ साउन २ मा कमैया मुक्तिको घोषणा भएपछि भूमिहीन कमैयालाई पाँच कट्ठासम्म जमिन दिएर पुनस्र्थापना गर्ने सरकारको योजना अघि बढ्यो । कमैयासम्बन्धी तथ्यांक संकलनकर्ताहरू हिराको घरमा पनि पुगेका थिए, तर हिराका बुवाले नाम लेखाएनन् । सरकारी झमेलामा नफसी आफ्नै मेहनतमा अगाडि बढ्ने सोच आफ्ना बुवाले राखेको हिरा बताउँछिन् ।  छुट्टाभिन्न भएपछि हिराका बुवाको भागमा डेढ लाख रुपैयाँजति ऋण परेको थियो । एक दिन साहुले अत्याए– कि पैसा देऊ कि काम गर्ने मान्छे देऊ । ऋण तत्काल तिर्न नसक्दा हिरा ०६१ सालदेखि मासिक एक हजार रुपैयाँ पाउने सर्तमा कमलरी बस्नुप¥यो । उनले मालिकको घरका केटाकेटीको रेखदेखलगायत घरायसी काम गर्नुपर्थ्यो । डेढ वर्षजति कमलरी बसेपछि उनी बिरामी भइन् । ‘शरीरले थेग्न नसक्ने गरी काम गरेकाले बिरामी भएको हुनुपर्छ,’ हिरा भन्छिन्, ‘रातको १२ बजेसम्म काम गर्नुपर्थ्यो । बिहान त खाना पाउँथेँ, साँझ सबैले खाएपछि बाँकी रहेको खानुपथ्र्यो, कहिले बाँकी नै रहँदैनथ्यो ।’  उनी बिरामी परेपछि उनको सट्टामा उनकी बहिनी कमलरी बस्न गइन् । कमैया मुक्तिको घोषणापछि २०५८ मा आएको ‘कमैया श्रम (निषेध गर्ने) ऐन’ले परिभाषित गरेको थियो, ‘कमैया श्रमिक भन्नाले भैंसवार (भैंसी चराउने), गैवार (गाई चराउने), वर्दिकार, छेकरवार, हरवाचरवा, हली, गोठालो, कमलरिया (कमलरी) वा अन्य यस्तै नामबाट कमैया श्रम गर्ने व्यक्ति सम्झनुपर्छ ।’ ०५८ मै कानुन आए पनि हिराहरू न्यून वेतनमा दासकै रूपमा कमलरी बस्न बाध्य थिए । किनभने, कमलरी मुक्तिको घोषणा गरी व्यवस्थापन गरिएको थिएन । यसका लागि कमलरीहरूले कमलरीकै मृत्युमा न्याय दिलाउन आन्दोलन गर्नुप¥यो । ललितपुर चाकुपाटस्थित युवराज पौडेलको डेरामा बालमजदुर रहेकी दाङ (लालमटिया)की १२ वर्षीया सिर्जना चौधरीको २०६९ चैत १४ गते शंकास्पद मृत्यु भएको थियो । यस प्रकरणमा दोषीलाई कारबाहीको मागसहित ‘कमलरी प्रथा उन्मूलनका लागि संयुक्त संघर्ष समिति’ले आन्दोलन चर्कायो । संघर्ष समिति र नेपाल सरकारबीच २०७० जेठ २४ गते भएको दशबुँदे सहमतिमा ‘सिर्जना लगायत कमलरीहरूको मृत्युका घटनामाथि छानबिन गर्ने, कमलरीको रूपमा रहँदा यौन शोषणमा परी जन्मेका बालबालिकाको पहिचान र अंशको अधिकार सुनिश्चित गर्ने, कमलरीलाई परिचयपत्र दिने’ लगायत उल्लेख थिए । यसको महिना दिनभित्रै (२०७० असार १२ मा) सरकारले कमलरीलाई मुक्त घोषणा ग¥यो । बहुदल र गणतन्त्रपछिका सरकारहरू दासप्रथामा पिल्सिएर बाँचेकालाई मुक्त घोषणा गरी श्रेय लिन र घोषणा मात्रै गरिदिए ‘टन्टैसाफ’ हुनेजस्तो किसिमले अगाडि बढ्न उद्यत देखिन्छन् । मुक्त घोषणापछिको दायित्व र कर्तव्यमा सरकार ठोस कार्यक्रमसहित योजनाबद्ध ढंगले लागेको देखिँदैन ।  सरकारले भर्खरै (२०७९ साउन २ मा) हरवाचरवालाई मुक्तिको घोषणा गरेको छ । अर्कोतिर, ०६५ भदौ २१ मै हलिया मुक्तिको घोषणा गरिएको थियो । मुक्त भएपछि प्रत्येकले आ–आफ्नो नाममा संघ–संस्था खोली पुनस्र्थापनाका लागि आवाज उठाउँदै आएका छन् ।  कमलरीको हकहितमा खुलेको ‘मुक्त कमलरी विकास मञ्च’मा अहिले हिरा अध्यक्ष छिन् । मुक्त गरिएका मुक्त कमैया, हलिया, कमलरी र हरवाचरवा सबै भूमि र कृषिसँग सम्बन्धित हुन् । पछिल्लो समय यी सबैबीच भेला गरी ‘कृषि बाँधा–मजदुर संघर्ष समिति’ गठन गरिएको छ । यस संघर्ष समितिले ११ फागुनमा काठमाडौंमा पत्रकार भेटघाट कार्यक्रम गरी आफ्ना साझा माग राखेको थियो । उनीहरूको दशबुँदे साझा मागको सार छ, ‘लगत संकलन, पुनस्र्थापना, निःशुल्क शिक्षा र स्वास्थ्य, रोजगारी वा स्वरोजगारी, सामाजिक सुरक्षा र सामाजिक न्याय ।’ पत्रकार भेटघाटमा आएकी हिराले कमलरीको अवस्था सार्वजनिक गरेकी थिइन् । उनका अनुसार, सरकारले सुरुमा १२,७६९ कमलरीको लगत लिएको थियो । यसमध्ये ९,४९० जनाले कमलरीको परिचयपत्र पाएका छन् । ‘०७५÷७६ मा गरिएको पछिल्लो तथ्यांक संकलनबाट ३३ सय कमलरी थपिएका छन्,’ हिरा भन्छिन्, ‘अहिलेसम्म सरकारबाट यीमध्ये कसैको पुनस्र्थापना भएको छैन । बरु गैरसरकारी संस्थाले तालिम दिएर पुनस्र्थापना प्रक्रियालाई अगाडि बढाएका छन् ।’ हिराको संघर्ष हिराले अहिले आरडी (ग्रामीण विकास) विषय लिएर मास्टर गर्दै छन् । उनी बिरामी भएपछि उनकी बहिनी ६ महिनाजति कमलरी बसिन् । दुवै दिदीबहिनी पालैपालो दुई वर्ष कमलरी बसेर बाबुको ऋणमा २४ हजार रुपैयाँ घटाए । त्यही बेला विभिन्न सामाजिक संघ–संस्थाले कमलरीको उद्धार गर्न थाल्यो, उनीहरू कमलरी बस्ने अवस्था रहेन ।  कमलरी बस्न जान जाँदा हिराले कक्षा ८ मा पढ्दै थिइन् । बिरामी नपरुन्जेल डेढ वर्षसम्म कमलरी बस्दा पनि उनले दुःखका बाबजुद आफ्नो पढाइलाई अगाडि बढाइन् । ‘स्कुल नजिकै थियो । कहिले माटो लिन, कहिले दाउरा लिन जान्छु भनेर म स्कुल जान्थेँ । दुई–तीन विषय पढेर आउँथे,’ उनी भन्छिन्, ‘कक्षा ८ पछि अहिलेसम्म नियमित स्कुल–कलेज जान पाइनँ ।’ एसएलसी पास भएसँगै हिराले सामाजिक संघसंस्थामा जागिर गर्न थालेकी हुन् । लुथरन, वल्र्ड भिजन, युथ इनिसियटिभ, डिडब्लुआरएफ, सहकारी संस्था लगायतमा काम गरी हाल उनी कमलरी विकास मञ्चमा अध्यक्ष हुन आइपुगेकी छन् ।  यो बीचमा जागिरविहीन भएका बेला उनले मेला–मजदुरीको काम गरिन् । उनकै कमाइले उनका दुई बहिनीले अहिले स्नातक गर्दै छन् । दुई बहिनीले स्कुल पढ्दै गर्दा बिहे गरे । कान्छो भाइले एसएलसी गरेर पढ्न छाडे ।  कमलरी दास प्रथाको एक रूप हो । खासगरी पाँचवटा जिल्ला (दाङ, कैलाली, कञ्चनपुर, बाँके र बर्दिया) कमैया, बुकरही र कमलरीप्रथा थियो । जमिन नभएका थारु भूमिहीन पुरुष मालिककहाँ दासको रूपमा आश्रित हुन्थे, जसलाई कमैया भनिन्थ्यो, कमैयाकी श्रीमती बुकरही र छोराछोरीहरू कमलर र कमलरी हुन्थे ।  घरायसी काम गर्न सक्ने भएदेखि अर्थात् ५–७ वर्षको उमेरदेखि कमलरी राखिन्थ्यो । भूमिहीन र गरिब थारुहरूले आफ्ना छोरीले कम्तीमा खान त पाउँछन् भनी कमलरी पठाउँथे । अधिकांश त बा कमैया भएकाले सिधै कमलरी हुन्थे ।  कुमारी आमाहरुको बिचल्ली हिराका अनुसार, कमलरीको शरीरमा तरुनी भएको संकेत देखिएसँगै कतिपय मालिक र उसका सन्तानले यौजजन्य हिंसा गर्थे । ‘यस्तो यौनहिंसाबाट १३ कमलरी कुमारीआमा बनेको तथ्यांक छ,’ हिरा भन्छिन्, ‘उनीहरूले उजुरी दिएका छन्, तर यसमा सुनुवाई भइसकेको छैन ।’  हिराका अनुसार, सुत्ने ठाउँ सुरक्षित नहुँदा मालिकका पाहुनाबाट पनि कहिलकाहीँ कमलरी बलात्कृत हुन्थे । ‘जसले बलात्कार गरेको हो, उसले स्वीकार नगरी अनेक धम्की दिन्थे,’ हिरा भन्छिन्, ‘कतिले पैसा दिएर मिलाउन खोज्थे, अर्थात् कुनै अर्को कमैयासँग विवाह गराइदिन्थे ।’  कमलरी यौनहिंसामा पर्नुको पछाडि नियत नै कारक हुन्थ्यो । कति मालिकले काममा दलाएर कुटपिट लगायत हिंसा गरे पनि यौनहिंसा गर्दैनथे ।  यी कुमारी आमाको अवस्था दयनीय छ । ‘उनीहरूलाई न घरकाले न त बलात्कार गर्नेले स्वीकार गरेका छन् । न बस्ने ठाउँ छ, न त जाने ठाउँ । सरकारले उनीहरूको व्यवस्थापनमा कुनै कदम चालेको छैन,’ हिरा भन्छिन्, ‘यी सबै दुःखजिलो गरी डेरामा बसेका छन् । उनीहरू कतिले तालिम लिएर नास्ता पसल सञ्चालन गरेका छन् । कतिले बाख्रा–बंगुर पालेका छन् । कतिले ज्याला मजदुरी गर्छन् ।’  कमैया श्रम निषेध ऐन आएपछि काठमाडौँ, पोखरा, विराटनगरजस्ता सहरमा धनाढ्यले कमलरी लैजाने गर्न थाले– पढाइदिन्छु, लाउनखान दिन्छु, दुई–चार हजार दिन्छु आदि प्रलोभनमा । यस्तो कार्यमा दलाल पनि सक्रिय थिए । भूमिहीन र विपन्न अभिभावक धनाढ्यको घरमा खानलाउन पाउने आशामा आफ्ना छोरीलाई कमलरी बस्न पठाउँथे ।  सरकारले कमैयालाई मुक्त घोषणा गर्नु अघिसम्म कमलरी धेरै नै पीडामा थिए, कतिको हत्या समेत हुने गथ्र्यो । २०७० जेठ २४ गते सरकारसँग भएको दशबुँदे सहमतिमध्येको एउटा बुँदा छ, ‘कमलरीका रूपमा बालमजदुर भई कार्यरत हुँदाको अवस्थामा बेपत्ता भएका कमलरी बालिकाको हकमा छानबिन गरी सत्यतथ्य पत्ता लगाउन र मृतक कमलरीहरू– कैलाली टिकापुर–९ की सरिता चौधरी, दाङ रामपुरकी सीमा होजा मगर, कैलाली धनगडी–८ की उर्मिला राना थारु र कैलाली चौमाला– ८ की मेघी चौधरीको मृत्युका सम्बन्धमा १० दिनभित्र छानबिन समिति गठन गरी सरकार समक्ष सिफारिस गर्ने ।’ यससम्बन्धी मुद्दा हेरेका अधिवक्ता फकला थारुका अनुसार, सिर्जनाको परिवारलाई पाँच लाख मेघीको परिवारलाई डेढ लाख रुपैयाँ क्षतिपूर्ति दिइएको छ । दोषी पत्ता लगाएर कारबाही भने भएको छैन । उनी भन्छन्, ‘कमलरीका लागि शिक्षा निर्देशिका–०६८ लाई संशोधन गर्ने सहमति भए पनि पूरा गरिएको छैन । बेपत्ताको छानबिन गरी दोषीलाई कारबाही गर्ने, कुमारी आमाहरूलाई क्षतिपूर्ति र दोषीलाई कारबाही गर्ने सहमति पनि पूरा भएको छैन ।’ सरकारले मुक्त घोषणा गरिसकेपछि कमलरी भटाभट घर आए, तर खाने–बस्ने समस्या भएपछि कतिपयले विवाह गरे । कमलरीहरू किशोरी हुन् र उनीहरूलाई स्कुलमै भर्ना गर्नुपर्छ भन्ने खालको नीति तथा कार्यक्रम सरकारको देखिन्थ्यो । ‘आफूले लिएको तथ्यांकलाई सरकारले शिक्षा मन्त्रालयमा सुम्प्यो । सरकारले कतिपयलाई स्कुल भर्ना पनि ग¥यो । कतिले बीचमै पढाइ छाडे, कतिले बिहे गरे,’ हिरा भन्छिन्, ‘कतिपय कमलरी अभिभावकविहीन पनि निस्के, जसका बाबुआमाको निधन भइसकेको थियो । उनीहरूको पुनस्र्थापनाका लागि भूमि दिनुपर्ने माग पनि उठ्यो, त्यसपछि शिक्षा मन्त्रालयले भूमिसुधार मन्त्रालयलाई औँँल्यायो । यसरी तथ्यांंक विभिन्न निकायका लागि बाँडिए ।’  विवाह गरेर गएका कमलरीलाई पनि समेटेर पुनः तथ्यांक संकलन गर्नुपर्ने हिरा बताउँछिन् । मुक्त कमलरीलाई रोजगारी वा स्वरोजगारी, निःशुल्क शिक्षा र तालिम, व्यवस्थापन वा पुनस्र्थापना, निःशुल्क स्वास्थ्योपचार लगायत हक दिलाउन हिराहरू आज संघर्षरत छन् । रातोपाटीबाट  

 शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउँदै

 शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउँदै

१२९६ दिन अगाडि

|

९ फागुन २०७९

प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदै छ।  नयाँ वर्षका रुपमा शेर्पा समुदायले २१५०औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन्। मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ।  ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्यरुपमा मनाइन्छ। ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरु गरिएको हो। समय क्रममा ग्याल्पो ल्होसार नामकरण भएको अनुसन्धाता टीका शेर्पाले सुनाए। यो ल्होसारलाई कसैले ग्याल्पो र कसैले ग्याल्बो उच्चारण गर्ने गरेको जानकारी पनि उनले दिए।  विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार हाल २२ जिल्लामा मनाइन्छ। शेर्पा जातिको बसाइ सराइसँगै यो पर्व मनाउने जिल्ला बढेको हो। पुस १५ मा गुरुङ समुदायले तमु र माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले पनि सोनाम ल्होसारका नाममा यो पर्व मनाइसकेका छन्। रासस

शेरबहादुर चौधरीलाई  निबुलाल डोङ्ली थारू साहित्य पुरस्कार

शेरबहादुर चौधरीलाई  निबुलाल डोङ्ली थारू साहित्य पुरस्कार

१२९७ दिन अगाडि

|

८ फागुन २०७९

डा कृष्णराज सर्वहारीद्वारा आफ्ना हजुरबा र हजुरआमाको नाममा स्थापित निबुलाल डोङ्ली थारू साहित्य पुरस्कार शेरबहादुर चौधरीलाई  प्रदान गरिएको छ । आदर्श मावि देउपुरमा शिक्षणरत शेरबहादुर चौधरीको थारु भाषाको गाउँखाने कथा जानो का हो ? प्रकाशित छ । त्यस्तै नेपाली भाषामा उनका टुक्रिएको चंगा धागो चुँडिएको चंगा गरी २ कथा संग्रह दहित वंशावली प्रकाशित छ । सोमबार लेखक सङ्घ दाङको २८औं साधारणसभा तथा पुरस्कार एवं सम्मान समारोहमा उक्त पुरस्कार पुरस्कार प्रदान गरिएको हो । निबुलाल डोङ्ली थारू साहित्य पुरस्कार यसअघि सोमप्रसाद चौधरी, गोमादेवी चौधरी, प्रकाशप्रिया कुसुम्या, डा गोविन्द आचार्य, श्रीराम चौधरी, अशोक थारु, महेश चौधरीलगायतलाई प्रदान गरिएको छ । लेखक सङ्घ दाङले प्रत्येक वर्ष फागुन ७ गते वार्षिकोत्सव मनाई विभिन्न पुरस्कार प्रदान गर्ने गरेकोमा आइतबार २८ स्रष्टालाई सम्मान तथा पुरस्कार वितरण गरेर २८ औं साधारसभा सम्पन्न गरेको हो । संघका अध्यक्ष खगराज न्यौपानेको अध्यक्षता एवं संस्थापक उपाध्यक्ष गुरुप्रसाद शर्मा रेग्मी ‘रतन’को प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

'हामी महिला भट्टीमा जान्नौं, पान खाँदैनौं, त्यही भएर हाम्रो सर्किल बन्दैन' मेयर गीता चौधरी 

'हामी महिला भट्टीमा जान्नौं, पान खाँदैनौं, त्यही भएर हाम्रो सर्किल बन्दैन' मेयर गीता चौधरी 

१२९८ दिन अगाडि

|

७ फागुन २०७९

अवधेशकुमार झा सप्तरीको सुरुंगा नगरपालिकाले लिएको एउटा निर्णयले धेरैलाई अचम्ममा पारिदियो । नपारोस् पनि किन, नगरपालिकाले आफूलाई मधेस प्रदेशमै पहिलो बालविवाहमुक्त पालिका घोषणा गर्दै सार्वजनिक सूचना प्रकाशन गरेर भन्यो, ‘अब नगरभित्र हुने विवाहअघि वडाको स्वीकृति लिनुपर्छ र विवाह कार्डमा जन्ममिति अनिवार्य उल्लेख गर्नुपर्छ ।’ बालविवाहको जोखिममा बालिका पर्दा उनीहरूको यौन तथा प्रजनन स्वास्थ्य, शिक्षा र हुर्किन पाउने अधिकारसमेत हनन हुने भएकाले त्यसलाई रोक्न अड्डी कसेकी थिइन्, ४४ वर्षीया मेयर गीता चौधरीले । ‘पछिल्लो समय हामीले १२ वटा बालविवाह रोकेका छौं,’ उनले भनिन्, ‘बिस्तारै जनस्तरमा पनि यसको चासो बढ्दै छ ।’ स्थानीय तहको नेतृत्व पुरुषको हातमा हुन्थ्यो भने सायदै यस्तो निर्णय हुन्थ्यो । मेयर चौधरीले सामाजिक न्याय र महिला सशक्तीकरण अभियानअन्तर्गत बालविवाह रोक्न नगरलाई सक्रिय मात्रै गराएकी छैनन्, स्थानीय जनप्रतिनिधिलाई पनि अभियानमा अघि बढाएकी छन् । सप्तरीका १८ पालिकामध्येकी एक्ली महिला प्रमुख भएकाले पनि गीताले चाल्ने धेरै कदमलाई पुरुषप्रधान समाजले नियालिरहेजस्तो देखिन्छ । महिलाको हातमा नेतृत्व पुग्दाको मुख्य फाइदा भने नगरवासी महिलामा परेको छ । घरको चुलोचौकोमै सीमित रहन बाध्य मधेसका धेरैजसो महिलाले नेतृत्वमा पुग्नेसम्मको अवसर विरलै पाउँथे । पुगिहाले भने पनि उनीहरूले पुरुष नेतृत्वका अघि खुलेर कुरा राख्न धक मान्थे । तर चौधरी मेयर भएपछि यस्तो दृश्य बदलिएको छ । ‘महिलाहरूले आफ्ना समस्या खुलेर नेतृत्वसम्म राख्न थालेको अनुभव गरेकी छु,’ मेयर चौधरीले भनिन् । सप्तरीका १८ पालिकामध्येकी एक्ली महिला प्रमुख भएकाले पनि गीताले चाल्ने धेरै कदमलाई पुरुषप्रधान समाजले नियालिरहेजस्तो देखिन्छ । महिलाको हातमा नेतृत्व पुग्दाको मुख्य फाइदा भने नगरवासी महिलामा परेको छ । नवलपरासीको रामग्राम नगरपालिका–४ को किसान परिवारका ६ छोराछोरीमध्ये जेठी गीताले बाल्यकालदेखि नै राजनीति बुझ्न पाइन् । उनका ठूलाबा दुर्गाप्रसाद चौधरी तत्कालीन नेपाल सद्भावना पार्टीका केन्द्रीय उपाध्यक्ष त छँदै थिए, गजेन्द्रनारायण सिंहका विश्वासपात्र पनि थिए । ठूलाबाको राजनीतिक यात्राको प्रभाव धेरैथोरै उनमा पनि परेको थियो । तर घरमा छोरीलाई राजनीतिमा पठाउने वातावरण थिएन । सिंगो समाजको चेतना जस्तै थियो, उनको अभिभावकको चेतना पनि । छोरीलाई पढाउनेभन्दा राम्रो घरमा बिहे गरेर पठाउने विषयले प्राथमिकता पाएको थियो । त्यसैले होला, एसएलसी सकिएपछि उनको पढाइ रोकियो । ‘मेरा दाजुलाई एमबीबीएस पढ्न रसिया पठाइयो । तर हामीलाई कलेज पढ्न बुटवल जान पनि रोक जस्तै थियो,’ मेयर चौधरीले भनिन् । ०५५ सालमा सप्तरीको सुरुंगा नगरपालिका–८ मा विमलकुमार चौधरीसित विवाह गरेपछि उनको जीवन परिवारकै संसारमा हरायो । उतिबेला नेपाल विद्युत् प्राधिकरणमा इन्जिनियर रहेका विमल अहिले उपसचिव छन् । विवाहपछि उनले छुटेको पढाइ भने अघि बढाउने अवसर पाइन् । ‘दुई छोरा स्याहार्दै मास्टर्स सकें,’ उनले सुनाइन् । त्यति बेला राजनीतिप्रति उनको चासो सुषुप्त थियो । विवाहपछि जनकपुर बस्न थाल्दा ०६२/६३ को आन्दोलनमा उनी नागरिकका हिसाबले सहभागी भइन् । समयक्रममा उनी विभिन्न सामाजिक गतिविधिमा जोडिँदै गइन् । थारू कल्याणकारी सभा, थारू महिला समाजलगायत संघसंस्थामा सक्रिय उनले काठमाडौं बस्न थालेपछि तत्कालीन मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) नेता विजयकुमार गच्छदारलगायतलाई भेटिन् । यस्तो भेटले उनलाई सक्रिय राजनीतिमा ल्यायो । र, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) मा प्रवेश गरेर राजनीतिमा जोडिइन् । ०७० सालको निर्वाचनमा थारू समुदायबाट समानुपातिक सूचीमा परे पनि उनी सभासद् हुन पाइनन् । ०७४ को स्थानीय तहको निर्वाचनमा उनी फोरम लोकतान्त्रिकबाट सप्तरीको सुरुंगा नगरपालिका प्रमुखमा उम्मेदवार बनिन् । तर उनले तेस्रो स्थानमै चित्त बुझाउनुपर्‍यो । कांग्रेससित फोरम लोकतान्त्रिकको एकीकरण भएपछि भने उनी कांग्रेस महासमिति सदस्य भइन् । ०७९ को स्थानीय तहको निर्वाचनको चर्चा सुरु भएपछि टिकट पाउने–नपाउने दोधारमा थिइन् । ‘तर म दृढ थिएँ, टिकट पाउँछु भनेर,’ उनले भनिन्, ‘टिकट लिन निकै दाउपेच हुँदो रहेछ । ठूला नेताको आशीर्वाद पनि आवश्यक पर्छ । हामी महिला भट्टीमा जान्नौं, पान खाँदैनौं । त्यही भएर हाम्रो सर्किल बन्दैन । राजनीतिमा त यो सब चल्दो रहेछ ।’ अनेकतिर दौडधुप गरेर उनले टिकट त पाइन् । तर त्यति बेला गाउँमा अर्कै हल्ला फैलिएछ । ‘ए अब मौगी (महिला) लाई नमस्कार मेयर साब भन्नुपर्ने । हामी पुरुषको त मोच नै कट्ने भयो,’ यस्तो हल्ला उनको कानमा पनि पर्‍यो । ‘मौगी भनेर हेपाइ सुरु भयो,’ उनले भनिन्, ‘महिलाप्रतिको धारणा अझै हाम्रो समाजमा पुरानै छ । पहिले मौगी भनेर हेप्थे, अहिले जनताको मत लिएर मेयर भएकी छु ।’ अनेकतिर दौडधुप गरेर उनले टिकट त पाइन् । तर त्यति बेला गाउँमा अर्कै हल्ला फैलिएछ । ‘ए अब मौगी (महिला) लाई नमस्कार मेयर साब भन्नुपर्ने । हामी पुरुषको त मोच नै कट्ने भयो,’ नगर प्रमुखको नेतृत्व सम्हालेपछि उनले आधारभूत विकासका सुविधाबाहेक जनताले धेरै कुरा नखोजेको अनुभव सँगालेकी छन् । ‘जनताले धेरै कुरा चाहेकै छैनन् । आधारभूत आवश्यकतामा सरकार सहयोगी होस् भन्ने चाहना मात्रै छ,’ उनले भनिन्, ‘तर त्यही सेवा पनि डेलिभर गर्न नेतृत्वले सकेनौं कि भन्ने प्रश्न आफैंसँग छ ।’ शिक्षा, स्वास्थ्य र सामाजिक न्यायलाई आफूले प्राथमिकता दिएको बताउने उनी नगरले पूर्वाधार विकास र स्वरोजगारलाई प्राथमिकता दिएको दाबी गर्छिन् । संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय नहुँदा कैयौं काम हुन नसकेको अनुभव पनि उनको छ । त्यसैको एउटा उदाहरण हो— वडा नम्बर १ र २ को खानेपानी ट्यांकी निर्माण १५ वर्षदेखि अलपत्र रहनु । ‘संघीय सरकारको पैसा हो । उसले नै ठेक्का लगाएको छ । तर योजना अलपत्र छ । हामी ठेकेदारलाई केही गर्न सक्दैनौं,’ उनले भनिन्, ‘हामीले संघीय सरकारलाई यस विषयमा लेखेर पठाएका छौं । तर सुनुवाइ भएको छैन ।’ मेयर चौधरीको नेतृत्वमा पालिकामा १५ शय्याको अस्पताल निर्माण भइरहेको छ । घरमै पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण अभियान चलेको छ । हरेक वडामा कम्तीमा ५ जना स्वास्थ्यकर्मी परिचालन गरेर ज्येष्ठ नागरिकको परीक्षण गरिने उनले बताइन् । स्वास्थ्य संस्थामै गएर प्रसूति गर्न उत्प्रेरित गर्न निःशुल्क एम्बुलेन्स सेवा पनि नगरपालिकाले सुरु गरेको छ । नगरक्षेत्रमा एउटा नयाँ बर्थिङ सेन्टर थपेर तीन वटा पुर्‍याइएको उनको भनाइ छ । ‘शिक्षा र स्वास्थ्यको अवस्था सुध्रिए अन्य क्षेत्र आफैं सुध्रिन्छन्,’ मेयर चौधरीले भनिन्, ‘तर यी दुई क्षेत्र सुधार्न सकस छ । किनकि राज्य सञ्चालक र राज्यकोषबाट तलब खाने सबै जिम्मेवार हुन नसके सुधार गर्न समस्यै हुन्छ ।’ महिलाको जीवनस्तर उकास्न के गर्न सकिन्छ भन्ने विषय भने सधैं उनको प्राथमिकतामा छ । नगरपालिकाले महिला समूह बनाएर आए व्यावसायिक रूपमा प्याज खेती गर्न प्याजको बीउमा ७५ प्रतिशत अनुदान र व्यवस्थित खोर बनाएका महिला समूहलाई बाख्रा दिने गरेको उनले जनाइन् । वडाहरूलाई भौगोलिकताअनुसार क्षेत्र निर्धारण गरिएको नगर प्रमुख चौधरीले बताइन् । नगरले वडा नम्बर १, २ र ३ लाई दूधको पकेट क्षेत्र, वडा नम्बर ४ र ५ लाई बाख्रापालन र वडा नम्बर ६ लाई आँप जोनका रूपमा विकास गर्ने योजना अघि सारेको छ । वडा नम्बर ७, ८, ९, १० र ११ मा खेतीयोग्य जग्गा रहेकाले खाद्यान्न उत्पादन र तरकारी खेतीका लागि आवश्यक सिँचाइसहितको व्यवस्था गर्ने तयारीमा नगर छ ।  कान्तिपुरबाट

अरुण चौधरीले आममाफी पाएपछि नागरिक उन्मुक्तिमा दुई धार

अरुण चौधरीले आममाफी पाएपछि नागरिक उन्मुक्तिमा दुई धार

१२९९ दिन अगाडि

|

६ फागुन २०७९

एसके यादव नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीलाई राष्ट्रपतिले आममाफी दिएपछि सरकारमा जाने कि सङ्घर्षलाई यथावत् राख्ने विषयमा पार्टीमा बहस सुरु भएको छ ।  केन्द्रदेखि प्रदेशसम्मको सरकारलाई समर्थन दिए पनि रेशम चौधरी र अरुण चौधरीको रिहाइको माग राख्दै उन्मुक्ति पार्टी बाहिर बसेको छ । प्रजातन्त्र दिवसको उपलक्ष्यमा राष्ट्रपतिले माफी दिएपछि अरुण चौधरी रिहा हुने भएका छन् ।  पार्टीका संगठन विभाग प्रमुख लक्ष्मण किशोर चौधरीले अहिले उनी रिहा हुने निर्णय मात्र भएको तर रिहा नै भएको अवस्था नरहेकाले सबै प्रक्रिया पुरा गरेर आइसकेपछि मात्र पार्टीले आगामी कदमको बारेमा निर्णय लिने जानकारी दिए ।  ‘राष्ट्रपति विद्यादेवी भण्डारीले  आममाफी दिनुभयो, त्यो स्वागतयोग्य कुरा हो । त्यस्तै निर्णय रेशम चौधरीको हकमा पनि गर्नुपर्थ्यो,’ तर त्यस्तो नगरेको कारण आफूहरू अझै दुःखी रहेको उनको भनाई छ ।  त्यसैले सांसद अरुण चौधरी बाहिर आइसकेपछि मात्र सरकारको बारेमा निर्णय लिने उनले बताए । तर, सोही पार्टीका नेता सुरेन्द्र चौधरीले भने अब उन्मुक्ति पार्टी प्रदेश सरकारमा सहभागी हुनुपर्ने बताए । उनले भने, ‘रेशम चौधरी र अरुण चौधरीको रिहाइ संघीय सरकारसँग सम्बन्धित हो । प्रदेश सरकारसँग सरोकार राख्दैन, त्यसैले प्रदेश सरकारलाई समर्थन र विश्वासको मत दिएको छ भने बाहिर बस्नु हुँदैन ।’ उनले भने, ‘सरकारलाई समर्थन गरेको छ भने त्यसमा सहभागी हुनुपर्छ नत्र समर्थन फिर्ता लिएर विपक्षमा बस्नुपर्छ । एकातिर सरकारको समर्थन पनि गर्ने अर्कोतिर त्यसको विरोध पनि गर्ने दुइटै काम एकैपटक हुनुहुँदैन ।’ अरुण चौधरी बाहिर आइसकेपछि यसबारेमा पार्टीमा छलफल हुने बताउँदै उनले पार्टीलाई अनिर्णयको बन्दी बनाएर राख्न नहुने तर्क राखे ।  नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी माघ १९ गते पक्राउ परेका थिए । कैलाली – २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीलाई बाँके प्रहरीले पक्राउ गरेको थियो ।  कैलालीको गोराङ्गा खोलाबाट ढुङ्गा लिएर लम्की जाँदै गएको ट्याक्टरमा ३ भदौ २०६६ मा आगजनी भएको थियो । ट्याक्टर धनी मोतीपुरका महादेव बजगाईँले ट्याक्टरमा आगो लगाइदिएको भनी परशुराम चौधरी, अरुण चौधरी र वीरबहादुर चौधरीविरुद्ध उजुरी दिएका थिए । उनीहरूबाट ८ लाख ७५ हजार रुपैयाँ क्षतिपूर्ति पाउनुपर्ने दाबी गरेका थिए । सोही मुद्दामा सांसद चौधरीमाथि जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय र आठ लाख १९ हजार रुपैयाँ भराउने फैसला भएको थियो । त्यो फैसला कार्यान्वयनका लागि उनलाई बाँकेको कोहलपुरबाट पक्राउ गरिएको थियो ।  कैलाली कारागारमा रहेका चौधरीले फागुन ३ गते माफी दिन राष्ट्रपतिलाई पत्र लेखेका थिए । सरकारले सांसद चौधरीलाई रिहा गर्ने प्रक्रिया अगाडि बढाउने निर्णय गर्दै फाइल राष्ट्रपति कार्यालयमा पठाइएको थियो । कैद मिनाहा तथा आममाफी दिने अन्तिम निर्णय राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ ।   रिहाइको प्रक्रिया पुरा गर्न दुई–तीन दिन लाग्न सक्ने जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । 

 सांसद अरुण चौधरीलाई  राष्ट्रपतिबाट आममाफी

 सांसद अरुण चौधरीलाई  राष्ट्रपतिबाट आममाफी

१२९९ दिन अगाडि

|

६ फागुन २०७९

फौजदारी अभियोगमा थुनामा रहेका कैलाली–२ का प्रतिनिधिसभाका सांसद अरुण चौधरीलाई सरकारले शुक्रबार राष्ट्रपतिमार्फत् माफी दिएको छ ।  चौधरीले आफ्नो पक्राउविरुद्ध दिपायल उच्च अदालतमा दिएका दुईवटा निवेदन टुंगो नलाग्दै सरकारले माफी दिएको हो ।  नागरिक उन्मुक्ति पार्टीले संस्थापक अध्यक्ष रेशम चौधरीको रिहाइ माग गरिरहेका बेला सरकारले अरुणलाई माफी दिएको हो । राष्ट्रपति कार्यालयले शुक्रबार विज्ञप्ति प्रकाशित गरी प्रजातन्त्र दिवसका अवसरमा विभिन्न ३ सय ९५ जनाको कैद सजाय राष्ट्रपति विद्यादेवी भण्डारीबाट माफी गरिएको जनाएको छ । नागरिक उन्मुक्ति पार्टीका निर्वाचित सांसद चौधरी  गत माघ १९ गते बाँकेबाट पक्राउ परेका थिए । उनी हाल कैलाली जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका थिए । १३ वर्षअघि भएको कुटपिट र आगजनीको घटनामा कैलाली जिल्ला अदालतबाट दोषी ठहर भएका चौधरीलाई अदालतले जरिवाना र कैद भुक्तान गर्न आदेश दिएको थियो । समाचार अनुसार महान्यायाधिवक्ताको कार्यालयले सांसद  चौधरीको बाँकी कैद खारेज गर्न कानुनी बाधा नरहेको धारणा राखेको थियो । सांसद चौधरीको सजाय खारेज गराउने पहल गृहमन्त्रीको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका थिए ।  बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले चौधरीको बाँकी सजाय मिनाहाका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।  राष्ट्रपतिको निर्वाचन र सम्भावित राजनीतिक समीकरणलाई ध्यानमा राखेर उनको रिहाइ गर्न लागिएको हो । सो पार्टीले आफना नेता रेशम चौधरी रिहाइको माग गर्दै आएको छ । उनको रिहाइ नभएको भन्दै हालै गठन भएको सुदूरपश्चिम सरकारमा सो पार्टीले विश्वासको मत नदिँदा एमाले नेतृत्वको सरकार ढलेको थियो । कैलाली जिल्ला अदालतले २०७० वैशाख ९ गते कैलालीको लम्कीमा निजी गाडी जलाएको घटनामा दोषी ठहर गर्दै आठ लाख १९ हजार ४२३ रुपैयाँ जरिवाना तिर्न आदेश दिएको थियो । आगजनी गरेको अभियोगमा ६ महिना कैद सजाय सुनाइएको थियो ।  सांसद चौधरी जेलमुक्त भएलगत्तै सांसदको जिम्मेवारी सम्हाल्न सक्ने छन् । यसैबीच अरुण चौधरीका समर्थकहरुले आफू राजनीतिक प्रतिशोधको सिकार भएको र राजनीतिक आस्थाका कारण विपक्षीले निशाना बनाएको भन्दै सरकारले माफी दिने निर्णयको स्वागत गरेका छन् । चौधरीलाई माफी दिने सिफारिसलाई उनीहरुले सकारात्मक कदमका रूपमा लिएका छन । सांसद अरुण चौधरीको रिहाई प्रक्रियाबारे नागरिक उन्मुक्ति पार्टीका नेता सुरेन्द्र चौधरी भन्छन्, ‘थुन्न लगाउने र  आममाफी दिनेहरु एउटै हुन् । थुनेपछि संसद पद जान्छ ठानेका थिए । त्यसैले थुन्न लगाएका थिए। कानूनले संसद पद  नजाने देखेपछि आममाफीको ढोंग गरेका हुन् । सांसद अरुण चौधरीलाई आममाफी दिएकोमा हामी फुरुङ्ग छैनौं। थुन्न लगाउने र आममाफी दिनेहरुको खेल चाहिँ रोचक लाग्यो ।