सिंहदरबार हाँक्ने प्रचण्ड टिममा को को परे नयाँ अनुहार ?

सिंहदरबार हाँक्ने प्रचण्ड टिममा को को परे नयाँ अनुहार ?

१३३१ दिन अगाडि

|

३ माघ २०७९

जसको जीवन फेरिदियो ढकियाले !

जसको जीवन फेरिदियो ढकियाले !

१३३२ दिन अगाडि

|

२ माघ २०७९

नारायण खड्का बिहीबार दिउँसो सुशीला चौधरीको घर पुग्दा उनी ढकिया बुन्दै थिइन्। दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर- ८ बटवलपुर हो उनको घर। थारू समुदायका अधिकांश महिला ढकिया बुन्न सिपालु हुन्छन्। यो सीप प्रायः घरकै एक पुस्ताले अर्को पुस्तालाई सिकाउँदै जान्छन्। ३५ वर्षीया सुशीलालाई पनि उनकी आमाले सिकाएकी हुन्। उनी आमाले ढकिया बुनेको देख्दै हुर्किइन्। आमाले ढकियामा लत्ताकपडादेखि महत्वपूर्ण मानिने सामग्री, गरगहना राख्थिन्। कहीँकतै जान परे त्यसमै कोसेली राखेर लैजाने चलन अझै छ। थारू समुदायले घरायसी प्रयोजनमा ढकिया एकदमै धेरै प्रयोग गर्ने सुशीला बताउँछिन्।  'ढकिया हाम्रो समुदायको पहिचान नै हो भन्ने लाग्छ,' उनले भनिन्। कुनै बेला आफूलाई चाहिएअनुसार ढकिया बुन्ने सुशीला अचेल दिनहुँ बुन्छिन्। यसको कारण हो यो ढकिया आम्दानीको स्रोत बन्नु।  सुशीलाले बुनेका ढकिया अचेल उनको घरछिमेकमा मात्र होइन, विदेशमा पनि सजिन थालेका छन्। अझ ढकिया मात्र होइन, पेन-होल्डर, खानेकुरा बोक्ने हटकेस, पूजाडाली, ह्याट लगायत सामान पनि उनी बनाउँछिन्। यो काममा सुशीला एक्ली छैनन्। उनीजस्तै महिलाहरू घरको कामधन्दा सकेर फुर्सदमा यी सामान बुनाउँछन्। घरै बसीबसी काम गरेर उनीहरूले आम्दानीको बाटो भेटेका छन्। सुशीला त ठाउँठाउँमा यस्ता सामान बनाउने तालिम दिन पनि जान्छिन्। तुलसीपुर–१९ वडा कार्यालयले गत वर्ष माघमा सञ्चालन गरेको एकमहिने ढकिया बुन्ने तालिमको प्रशिक्षक सुशीला नै थिइन्। 'तालिम दिएवापत् दैनिक एक हजार रूपैयाँ पारिश्रमिक लिएँ,' उनले भनिन्। सुशीलाका तीन छोरी छन्। जेठी राप्ती बबई क्याम्पसमा स्नातक पढ्दै छिन्। माइली र कान्छी स्थानीय सरकारी स्कुलमा कक्षा ८ र ७ मा पढ्छन्। श्रीमान ट्र्याक्टर चलाउँछन्। छोरीहरूको पढाइ खर्च सुशीलाले यही कामबाट जोहो गर्दै आएकी छिन्। 'अब पहिले जस्तो श्रीमानको आश गरी बस्नु पर्दैन,' सुशीलाले खुसी हुँदै भनिन्, 'बरू श्रीमानसँग पैसा नहुँदा मसँग माग्नु हुन्छ।' ढकिया बुन्न थालेपछि पैसासँगै अवसर पनि कमाएकी छन् उनले। विभिन्न ठाउँ घुम्ने र देख्ने मौका जुर्न थालेको छ। पोहोर मंसिरमा उनी जीवनमै पहिलोपटक काठमाडौं गइन्। चार दिन संघीय राजधानी बस्दा बेग्लै अनुभव बटुल्न पाएको उनी बताउँछिन्। सुशीला २०७७ सालमा गठन भएको 'सूर्योदय महिला ढकिया उद्यमी समूह' की सदस्य हुन्। त्यही साल तुलसीपुर उपमहनगरपालिका कार्यालयले ढकिया बुन्ने निःशुल्क तालिम दिएको थियो। बीसदिने भनिए पनि कोरोना चर्को भएकाले १४ दिन मात्र भयो। बायाँबाट क्रमशः शर्मा चौधरी, सुशीला चौधरी र पार्वती चौधरी।बायाँबाट क्रमशः शर्मा चौधरी, सुशीला चौधरी र पार्वती चौधरी। समूहमा दस जना थिए, सबैले तालिम लिए। उनीहरूसँग परम्परागत रूपमा ढकिया बुन्ने सीप पहिल्यै थियो। तालिममा आकर्षक र व्यावसायिक कसरी बनाउने भनेर थप सिक्न पाए। ढकियासँगै अरू सामग्री पनि बनाउन सिके। समूहकी कोषाध्यक्ष ३६ वर्षीया पार्वती चौधरीले भनिन्, 'तालिमबाट हामीलाई सीपसँगै आत्मविश्वास बन्न सिकायो।' घरायसी प्रयोजनका लागि जस्तो भेट्यो त्यस्तै र थोरै कच्चा पदार्थले ढकिया बुन्दा हुन्थ्यो। व्यावसायिक बनाउन राम्रो र धेरै चाहियो। मुख्य कच्चा पदार्थ भनेको काँसको पात हो। राम्रो काँस बर्दियामा पाइन्छ। २५ देखि ३० वटासम्म पात भएको मुठोको सय रूपैयाँ पर्छ। खर भने दाङमै पाइन्छ। समूहलाई बर्दिया पुगेर काँस ल्याउन मुश्किल थियो। उनीहरूले तत्कालीन मेयर घनश्याम पाण्डेलाई आग्रह गरे। उनले घाँस लिन उपमहानगरपालिककै गाडी पठाइदिए। महिलाहरूले आपसमा रकम संकलन गरे र दुई-चार जना बर्दिया पुगे। दस हजार रूपैयाँको काँस किनेर ल्याए। उठाएको पैसाअनुसार समूहमा भागबन्डा गरे। त्यसपछि सुरू भयो घरै बसेर उद्यमी बन्ने यात्रा। सामानहरू रंगीन बनाउन सुरूमा धूलो रङलाई पानीमा हालेर तताइन्छ। मनतातो भएपछि काँसका पात हालेर झन्डै आधा घन्टा जति उमालिन्छ। रङ गाढा देखिएपछि निकालेर सुक्न दिइन्छ। अनि फलामको ठूलो सियोको मद्दतले ढकिया बुनिन्छ। सुशीला, पार्वती र अरू महिलाहरू यसैगरी ढकिया र अरू सामान बनाउँछन्। सामान बेच्न बजार खोज्न धेरै दुःख छैन। ग्रीन फाउन्डेसन नामक संस्थाले बिक्रीमा सहजीकरण गरिदिन्छ। यो संस्थाका केन्द्रीय अध्यक्ष तुलसीपुरका पूर्व मेयर घनश्याम पाण्डे नै छन्। यो फाउन्डेसनले उनीहरूबाट सामान किन्छ। मागअनुसार विदेशमा निर्यात पनि गर्छ। गत साउनयता झन्डै दुई सय वटा सामान थाइल्यान्ड पठाइएको पाण्डेले जानकारी दिए। 'त्यहाँ हुने मेलाहरूमा प्रदर्शनीका लागि भनेर माग आएको थियो। हामीले समन्वय गरी पठाएका हौं,' उनले भने, 'चीन र अस्ट्रेलियाबाट पनि माग आएको छ। चाँडै पठाउँछौं।' यसबाहेक विभिन्न संघसंस्था, पालिकाहरू र तुलसीपुर उपमहानगरपालिकाले उपहारका लागि यी सामान लैजान्छन्। व्यक्तिहरू नै पनि उपहारकै लागि किन्न आउँछन्। ग्रीन फाउन्डेसनले उद्यमी महिलाहरूलाई देशका विभिन्न ठाउँमा हुने गोष्ठी, समारोह र प्रदर्शनीमा पनि सहभागी गराउँछ। खाने, बस्ने र यातायात खर्च संस्थाले बेहोर्ने भएकाले उनीहरूले बेचेका सामानको पैसा बचत हुन्छ। संस्थाले समूहलाई आर्थिक सहयोग पनि गर्छ। पोहोर कच्चा पदार्थ किन्न ३० हजार रूपैयाँ सहयोग गरेको समूहकी कोषाध्यक्ष पार्वतीले बताइन्। यो समूहको नेतृत्व ५१ वर्षीया शर्मा चौधरीले गरिरहेकी छन्। उनका अनुसार उनीहरूलाई यो कामबाट राम्रै आम्दानी भइरहेको छ। शर्माले बर्दियाबाट दुई हजार रूपैयाँको काँस ल्याएकी थिइन्। त्यसबाट बनाएका सामान बेचेर हालसम्म ४५ हजार कमाइसकिन्। केही सामान बनाउन पुग्ने काँस बाँकी नै छ। 'घर धन्दाको काम सकेर फुर्सदमा मात्र बुन्न पाइन्छ। त्यसैले धेरै समय लाग्छ,' शर्माले भनिन्, 'दिनभर सरासर बुन्न पाए त चाँडै सकिन्थ्यो। कमाइ पनि बढ्थ्यो।' समूहका महिलाले बनाएका पेन होल्डरदेखि ढकियासम्मको भाउ फरक छ; पाँच सयदेखि पन्ध्र सय रूपैयाँसम्म बेच्छन्। विशेष प्रकारको झुम्के ढकियाको आठ हजार रूपैयाँसम्म पर्छ। यसमा मेहनत पनि धरै नै लाग्छ। शर्माका अनुसार झुम्के ढकियाको बाहिरी भागमा सुतही (पानीमा पाइने जीव) को बाहिरी भाग राखेर सजाइएको हुन्छ। सुतही उनीहरू बबई नदीबाट खोजेर ल्याउँछन्। पानीमा उमालेर भित्रको मासु खान्छन् र बाहिरको खोल रंगाएर झुम्का बनाउँछन्। 'ढकिया बुन्न थालेदेखि श्रीमानसँग हात थाप्नु परेको छैन,' उनले भनिन्, 'उल्टै श्रीमानले माग्छन्।' यो समूहमा अहिले १५ जना छन्। समूहका सबै महिला छोराछोरीको पढाइ खर्चदेखि घरमा चाहिने सरसामान आफैं किन्न सक्ने भएको उनले बताइन्। उनीहरूको आत्मविश्वास पनि बढेको छ। देख्ने, सुन्ने र आफ्ना कुरा भन्ने अवसर पाएका छन्। समूहमा आवद्ध भएपछि नै शर्मा पनि पहिलोपटक काठमाडौं पुगेकी थिइन्। महिलाहरू स्वतन्त्र हुँदै गएको उनको अनुभव छ।  कोषाध्यक्ष पार्वतीले पनि पोहोर सामान बेचेर २७ हजार रूपैयाँ कमाइन्। यो वर्ष दुई पटक गरी झन्डै ४० हजार रूपैयाँ बराबरको सामान पठाइसकिन्। उनकी छोरी निजी कलेजमा कक्षा ११ मा र छोरा निजी स्कुलमा कक्षा १० मा पढ्दै छन्। श्रीमान अटोरिक्सा चलाउँछन्। उनले पनि श्रीमानलाई आवश्यक पर्दा आर्थिक सहयोग गर्छिन्। 'पछिल्लो समय त घर व्यवहार मैले नै चलाउँदै आएकी छु,' उनले भनिन्, 'सीप भएपछि आत्मविश्वास बढ्दो रहेछ। केटाकेटीले कहिले कापीकलम, कहिले खाजा किन्ने पैसा माग्छन्। आफ्नै कमाइ झिकेर दिन पाउँदा धेरै नै खुसी लाग्ने रहेछ। हाम्रो त जीवन नै फेरिएको छ।' फुर्सदको समय सदुपयोग गरेर कमाइ गर्न सफल भएकामा उनी मख्ख छिन्। २०७८ सालमा दंगीशरण गाउँपालिकाले आयोजना गरेको ढकिया बुन्ने दसदिने तालिममा उनी पनि प्रशिक्षक भएर गएकी थिइन्।  यस्ता तालिम वा प्रदर्शनीमा कसलाई पठाउने भन्ने कुरा समूहमा छलफल गरेर निधो गरिन्छ। छनोट गर्दा आलोपालो तरिका अपनाइने अध्यक्ष शर्माले बताइन्।  यो समूहको आफ्नै भवन पनि छ जुन उनीहरू आफैंले श्रमदान गरेर बनाएका हुन्। सरकारबाट पाँच लाख रूपैयाँ सहयोग समूहले पाएको थियो। सिमेन्ट ब्लकको गारो लगाएर जस्तापाताको छानो हालेको भवन ६ मिटर चौडाइ र १२ मिटर लम्बाइको छ। यही भवनमा हरेक महिनाको २ गते नियमित बैठक हुन्छ। सबैले मासिक पाँच सय रूपैयाँ बचत गर्छन्। समूहका कसैलाई अप्ठ्यारो परे एक प्रतिशत ब्याजदरमा नगद सहयोग पनि पाउँछन्। सेतोपाटीबाट

सुर्खेतमा थारूहरूले मनाए माघ महोत्सव

सुर्खेतमा थारूहरूले मनाए माघ महोत्सव

१३३३ दिन अगाडि

|

१ माघ २०७९

माघी पर्वको अवसरमा वीरेन्द्रनगर–९ तिलपुरमा पुस र ३० गते दुई दिने माघीको महत्वबारे  प्रशिक्षण, मघौटा नाच प्रतियोगिता एवम् ढुमरु गीतको सांगीतिक रात्री सांस्कृृतिक नाचगान गरी माघ महोत्सव कार्यक्रम सम्पन्न भएको छ । लखागिन थारू उत्थान मञ्च, सुर्खेतको मूल आयोजना र राष्ट्रिय थारू कलाकार मञ्च, अर्गानिक सामुदायिक होमस्टे तिलपुरको सहआयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा माघी पर्वकोे महत्व एवम् मौलिकताका बारेमा नयाँ पुस्तालाई थाहा नहुँदा संस्कृतिप्रति सद्भाव हराउँदै गएकोले यस पटक यस पर्वको महत्वबारे प्रशिक्षण, मघौटा नाच प्रतियोगिता र ढुमरु गीतको रात्री माघ सांगीतिक प्रस्तुतिसहित कार्यक्रम मनाएको कुरा लखागिन थारू उत्थान मञ्च सुर्खेतका अध्यक्ष मान बहादुर पन्नाले बताए । पन्नाले माघ थारूहरूको विशेष पर्व भएकोले कर्णाली प्रदेशको वीरेन्द्रनगरमा मात्र बसोबास रहेको थारूहरूलाई स्थानीय तहको सरकारले थारू समुदायका कर्मचारी, शिक्षक, विद्यार्थीहरूलाई दुई दिनसम्म बिदा दिनुपर्ने माग पनि राखे । लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा हरेक वर्ष थारूहरूलाई दुई दिनसम्म सार्वजनिक बिदा दिइरहदा सुर्खेती थारूहरू अन्यायमा परेको उनको गुनासो थियो । पुस २९ गते गरिएको प्रशिक्षण कार्यक्रममा माघी पर्वको महत्वको बारेमा थारू संस्कृतिविद एवम् साहित्यकार मानबहादुर चौधरी पन्नाले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा माघी मनाउने विधि तौरतरिका, समुदायमा यसको महत्व र वर्तमान विभिन्न संस्कृतिको प्रभावको चुनौती र नयाँ पुस्ताले आफ्नो संस्कृतिलाई आत्मसात गर्नुपर्ने लगायतको विषय उठान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि एवम् वीरन्द्रनगर नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकालले नेपाल विविधतामा एकता भएको देश हो । थारू समुदाय नेपालको मात्र होइन, सुर्खेत उपत्यकाको पनि मूल आदिवासी हुन् । थारूहरूको ऐतिहासिक चाड माघीमा सबै गाउँबाट जम्मा भएर मनाउने कामले संस्कृति संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने धारणा राखिन् । संस्कृति देशको पहिचान र चिनारी भएकोले थारू समुदायका लागि नगरपालिकाबाट हुने सबै किमिसको सहयोग हुने प्रतिबद्धता पनि व्यक्त गरिन् । कार्यक्रमका वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले थारू समुदायको कला संस्कृति संरक्षणका लागि नगरपालिकाले  आगामी दिनमा थारूहरूको मौलिक संस्कृति माघ पर्वका लागि हरेक वर्ष निश्चित बजेट विनियोजन गरी सहयोग गर्ने प्रतिवद्धता जनाए । कला संस्कृतिमा धनी रहेको थारू समुदायको पहिचान धरोहर  माघी पर्व पनि हो । यसलाई बचाउने जिम्मा सरकारले दायित्व बोध गरिने उनले जिकिर गरे । त्यस्तै, कोष तथा लेखा नियन्त्रण कार्यालय जुम्लाका प्रमुख जागुराम चौधरीले सुर्खेतका थारूहरूको भाषा संस्कृति संरक्षण संवद्र्धन गर्न थारू समुदाय आफै पनि जागरुक हुनुपर्नेमा जोड दिए । अब राजनीतिमा पनि अगाडि बढ्नुपर्ने र सदस्यमा मात्र होइन, वडाध्यक्ष, नगर प्रमुख उपप्रमुखमा समेत फड्को मार्न सुझाव दिए । युवालाई पुराना पुर्खाहरूले सिकाउनुपर्ने र युवाहरू पनि आफ्नो संस्कार संस्कृतिलाई माया गर्दै जर्गेना गर्नुपर्नेमा जोड दिए । युवाहरूले अवको बदलिंदो परिवेशमा सांस्कृतिक रुपान्तरण गर्न जरुरी भए पनि मौलिकतालाई भुल्न नहुनेमा उनको जोड थियो । कार्यक्रममा थारू कल्याणकारिणी सभाका केन्द्रीय सदस्य कृष्ण बहादुर थारू, थाकसका जिल्ला सभापति बेचुलाल चौधरी, थारू वुद्धिजीवि  लालबहादुर चौधरी, मानबिर थारू, अमर चौधरी, शेरबहादुर थारू लगायतका वक्ताहरूले माघीको शुभकामना व्यक्त गर्दै थारूहरूको मौलिक पहिचान बचाउन सबैले साथ दिनु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा लखागिन उत्थान मञ्चका उपाध्यक्ष लोकबहादुर चौधरीले स्वागत मन्तव्य गरेका थिए । मघौटा नाच प्रतियोगितामा वीनपा–९, तिलपुर गाउँ प्रथम, वीनपा–२, कोलडाँडा नयाँ वस्तीका द्वितीय, वीनपा–१०, पदमपुरका तृतीय र वीनपा–३, तातोपानी सान्त्वना स्थान प्राप्त गरेका थिए । माघ महोत्वस कार्यक्रममा स्थानीय निर्वाचनमा निर्वाचित सदस्य रमेश चौधरी, सरिता चौधरी, लक्ष्मी चौधरी र मानबहादुर चौधरीलाई सम्मान पनि गरिएको थियो । त्यसैगरी, थारू समुदायमा भाषा, कला, संस्कृतिमा विशेष योगदान पु¥याउने वीनपा–२, कोलडाँडाका मानबिर थारू, ठौरीका टेक बहादुर चौधरी, फलाँटेका कालिका चौधरी र वीनपा–१०, बुदबुदीका बिन्दु चौधरीलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा विभिन्न थारू कलाकारहरूबाट थारू नृत्य तथा गीतहरू समेत प्रस्तुत गरिएको थियो । कार्यक्रमको सञ्चालन लखागिन थारू उत्थान मञ्च सुर्खेतका सचिव जितबहादुर चौधरी र मान कुमारी चौधरीले गरेका थिए ।  

‘दुःख दर्दमे जिन्गी, बिटल बरस हजार’

‘दुःख दर्दमे जिन्गी, बिटल बरस हजार’

१३३३ दिन अगाडि

|

१ माघ २०७९

मगराके हाँठ जिनी डिहस बाबा डिन डिन छिटुवा बेचटी डिन जाइ सोलराके हाँठ जिनी डिहस बाबा डिन डिन कुकरा भुक्टी डिन जाइ छोरीले बाबुलाई अरू कसैको हातमा नसुम्पिनु भनेर बिलौना गर्दै गाएको ढमार गीत हो यो । छोरीले बरु दिनभरि छिटवा बेच्न परोस्, कुकुर भुकोस् तर अरूसित बिहे नगराइदिनु भनेर मघौटा गीतमार्फत बिलौना गरिरहेकी छन् । माघको आगमन भएसँगै लुम्बिनी र सुदूरपश्चिमका थारू गाउँ यस्तै गीतहरूले चैनार (उमंग) छ । बर्दिया गुलरियाका मित्रलाल चौधरी यही ढमार गीत सुनेर हुर्किए । उमेरले प्वाँख हाल्दै गर्दा गीत गुनगुनाउन र नाच्न थाले । ‘थारूहरूले हरेकजसो चाड उत्सवमा फरक गीत गाउँछन्,’ उनी भन्छन्, ‘गीत सुन्दा यसले कुन चाडको संकेत गर्‍यो भन्ने बुझिन्छ । त्यसले बेग्लै उत्साह ल्याउँछ ।’ माघ पर्वको आगमनमा रमाएका पश्चिम तराईका थारू बस्तीहरूमा गीतका भाका विस्तारै फेरिँदै छन् । कमलरी, कमैया प्रथा उन्मूलन गरेर अघि बढेको समाजमा शिक्षा, स्वास्थ्य, पूर्वाधार विकाससँगै गाउँघरको भाकामा परिवर्तनका स्वर मिसिएका छन् । पुरानो ढमारमा प्रेम, सुखदुःख, पुर्खाका इतिहास, समाज–संस्कृति, मनोरञ्जनका भाव बढी भेटिन्थे भने आधुनिक भाकामा शोषण, अत्याचार, वितृष्णालगायतका भावहरू भेटिने गरेका छन् । थारू नागरिक समाजका संयोजक दिलबहादुर चौधरीले आधुनिक ढमारको रचना गरेका छन् : सुनो सुनो हे गोचाली, सुनो जीवनी हमार कहटी रोवै मोरे मनवा हो दुःख दर्दमे जिन्गी, बिटल बरस हजार कब अइही सुखकै डिनवा हो पाँच बरस बुडु कजियै सघैनै, दशहे बरसटक मुखियै १५ बरस जिमदरवक घरमे टबही लेहनै विश्राम हो । अर्थात् साथीभाइ जीवनको हजारौं वर्ष दुःखमा बित्यो । कहिले आउला सुखको दिन ? हजुरबुबाले पाँच वर्ष काजीलाई, १० वर्ष मुखियालाई अनि १५ वर्ष जिमदारलाई सघाएपछि बल्ल विश्राम पाएको गीतले भन्छ । गीतले कमैया बस्नुपरेको दुःखदायी कहानी बोल्छ । थारू समुदायमा प्रचलित लोकगीतको आफ्नै मौलिकता छ । थारूहरू विभिन्न स्थानमा बसोबास गर्ने भएकाले पनि रहनसहन र सामाजिक मूल्य मान्यता फरक पाइन्छ । तर, कृषि पेसामा आधारित जीवनशैली, सोझोसँग गरिखाने आनीबानी गीतका भाकाबाट पनि झल्किन्छ । बाबा कि सगरम, मुरिया लहान गैनु हाँ, बाबा कि सगरवा सखियै हो, माठकी टिकुलिया मछुरी लुटी लैगैल । अर्थात् माघको अवसरमा नुहाउन जाँदा सिउँदोको टीका माछाले लुटेर लग्यो । नुहाएर आएपछि नुन, चामल, दाल छोएर ढोगभेटपछि बरघर/महटावाको घरमा टीका थाप्न जानुपर्ने उर्दी गीतमा यसरी गाइन्छ : हाँकी हाँकी पारल, गाउँक् कटवलिया रे हाँ सखियै हो, सबहु मिली टिकका लिहन चली आओ । सुन कही सुनल, सबहुँ सखिया रे हाँ सखियै हो, चोलो जाई सबहु टीका लिहन । माघमा नाचिने विशेष मघौटा नाच अघिपछि पनि अरू अवसरमा लोकप्रिय छ । माघका विशेष पकवान ढिक्री, अनदीको जाँड, सुँगुरको मासु, ढमार तथा मघौटा नाचको धुनले पहिले माघ महिनाभरि माघ लागेको भन्दै मनाउने गरे पनि अहिले आएर साता दिनमै यो पर्व खुम्चिएको छ । माघ पर्वमा ढमार (ढुमरु/डफ), मघौटा गीत विशेष रूपमा गाइन्छ । यो गीत पुस महिनाको अन्तिम दिन बरघरको घरमा गाउँलेहरू भेला भएर बैठाकुर (बसेर गाइने गीत) हो । माघको दोस्रो बिहान नयाँ कार्ययोजना बनाउनका लागि बरघर अर्थात् महटौंको आँगनमा छलफल, बैठक हुन्छ । बैठकका अवसरमा बैठाकुर गीत गाइन्छ । जस्तैः महटौंक आगनाम खररा बिछाइ रे हाँ महटौंक आगनाम गोंडरी बिछाइ रे हाँ सखिए हो महटौंक आगनाम बैसना बखेर महटौंक आगनाम हाँसली ओ खेलली रे हाँ सखिए हो इह रि आगनवा छुट्टी मैयाँ लाग महटौंक आगनाम हाँसली ओ खेलली रे हाँ सखिए हो इह रि बहरिया छुट्टी मैयाँ लाग महटौंक आगनाम हाँसली ओ खेलली रे हाँ सखिए हो इह रि आगनाम सोन फुला फूल महटौंक बहरियाम डरिया बिछाइ रे हाँ सखिए हो महटौं जे डरहीं हजार रूपडान आझुक डिनम हाँसबी ओ खेलबी रे हाँ सखिए हो काल्हिक डिनवाम हुइबी जोरा फुट ।                            (स्रोतः मानबहादुर चौधरी) अर्थात् महटौंको आँगनमा गुन्द्री ओछ्याइएको छ । यही आँगनमा हाँसेको र खेलेको अब यो छोड्नुपर्दा दुःख लागेको छ । यो घरको पिँढी छोड्दा दुःख लागेको छ । यो आँगनमा सुन फूल फुलोस् । महटौंको पिँढीमा कम्बल ओछ्याइएको छ । महटौले हजार रुपैयाँ दान दिए । आजको दिन त सँगै हाँस्यौं खेल्यौं, भोलिको दिन त छुट्नैपर्छ । यो गीतको भावार्थमा बरघर पुनः छनोट नहुने संकेतले उनको घरको आँगन छुट्ने संकेत छ । राम्रो काम गरेकाले आँगनमा सुन फूल फुल्ने आशीर्वाद दिइएको छ । मघौटा नाचपछि भैलो खेल्दा रकम दिनु परेझैं महटौंसँग हजार रुपैयाँको आशा गरिएको छ । सबैभन्दा महत्त्वपूर्ण कुरा बसाइँसराइ गरेर गए भोलिको दिन भेट हुन नसक्ने मर्म बोकेको छ । ढमार साँझ धुनी जगाइ इष्टमित्रसँग रात जाग्राम बसी खानपान गर्दै मादल र डफको तालमा गीत गाइन्छ । महिला र पुरुष दुवैले गाउने ढमार गीत विशेष गरी पुरुषले नै बढी गाउने चलन छ । रातभरि ढमार गाएपछि बिहान नजिकैको कुलो, खोला, नदीमा नुहाउन जाने र ठूलाबडाको आशीर्वाद लिने चलन छ । माघ १ लाई थारूहरूले नयाँ वर्षका रूपमा मनाउँछन् । ठाउँ विशेषअनुसार माघ पर्वलाई माघ, माघ डेवानी, खिचरी, तिला संक्राइका नामले चिनिने भए पनि लगभग उस्तै–उस्तै तरिकाले मनाइन्छ । मौलिक माघको थारू गीत भने पश्चिमा थारूहरूले गाउने र नाच्ने गरेका छन् । थारू संस्कृति अध्ययनकर्ता रामसागर चौधरी पहिले पहिले पूर्वका थारूले माघमा झुमरा गीत गाउँदै नाच्ने गरे पनि अहिले चलनमा परिवर्तन आएको बताउँछन् । उनका अनुसार पूर्वीया थारूहरूमा माघकै लागि भनेर छुट्टै मौलिक गीतहरू छैनन् । माघमा ढमार गीतसँगै मघौटा नाचले विशेष अर्थ राख्छ । ठाउँअनुसार कतै मघौटा गीत मात्र गाइन्छ भने कतै गाउँदै नाचिन्छ । सेन्डुराले मग्नु बाबा सेन्डुरा नै लेहलो रे हाँ सेडुरका कारण बाबा छोरी डेबुँ देशवा टोहाँर सखियै हो टिकुली ले मग्नु बाबा टिकुली नै लेहलो रे हाँ टिकुलिक करण बाबा छोरी डेबुँ देशवा टोहाँर सखियै हो अर्थात् सिन्दुर र टीका किनिमाग्दा बाबाले नकिनिदिएपछि गाउँ नै छाडेर जाने छोरीले घुर्की लगाएको गीतको भावले बुझाउँछ । लोप हुने संघारमा माघ मनाउने शैलीमा जिल्ला र भेगअनुसार पनि फरक देखिन थालेको छ । मादलको तालमा गुञ्जायमान रहने गाउँमा अहिले डिजे तथा आधुनिक गीतहरू बढी सुनिन्छन् । मौलिकता बोकेका थारू गीतहरू बुढापाकामा सीमित भइरहेको देखिन्छ । थारू तथा नेपाली मिश्रित गीतहरू अहिले बढी युवापुस्ताले रुचाएको देखिन्छ । जस्तैः कता हिँडेउ साली जुल्फी लर्काउँदै ठमठम साली कम्मरै मर्काउँदै लाल रेबन भाटु मेलामा किनेको ढकिया बोकी भाटु बजारमा हिनेको रेशम चौधरीको यो गीत अहिले टिकटकमा भाइरल भइरहेको देखिन्छ । गैरथारूहरूको पनि मुखमा झुन्डिएको यो गीतमा थारू र नेपाली भाषा मिश्रित भएकाले पनि रुचाएको पाइन्छ । समयसँगै युवाहरूको रुचि र फ्युजन संगीत मन पराउनु नौलो नभए पनि मौलिकपन हराइरहेकामा दुःख व्यक्त गर्छन् थारू लेखक सोम डेमनडौरा । उनी भन्छन्, ‘हिजोआज मुस्किकले केहीले मात्र मौलिक गीतहरू गाउँछन् । सामूहिक लहान गर्न जाने बेला नाच्दै गाउँदै रमाउने चलन कम हुँदै गएको देखिन्छ । युवाहरू जाँड खाएर सांस्कृतिक कार्यक्रममा रमाइरहेका छन् । आधुनिक गीतमा फ्युजन नै भए पनि मौलिकता भुल्नुभएन ।’ उनले माघको अवसरमा आयोजना हुने महोत्सवमा परम्परागत गीत र नाचको प्रवर्द्धनभन्दा पनि व्यापारिक ध्येयले जाँडरक्सीमा सीमित हुन पुगेको बताए । ‘मादल, डफ जस्ता बजाउन सिकाउन आवश्यक छ । मादल नै बजाउन आएन भने गीतको के काम ? यसमा बरघरले नेतृत्व लिन सक्छन्,’ उनले भने । दाङका गायक माधव चौधरी थारू बूढा मादलेहरू हराउँदै गएको तथा युवाहरूले मादल बजाउन नसिक्नाले थारू मौलिक नाच पनि संकटमा परेको बताउँछन् । उनी भन्छन्, ‘कतिपय गाउँमा थारू युवतीहरू नाच्न इच्छुक छन् । तर, गाउँमा मादले नभएर मघौटा त टाढाको कुरा दसैंमा महिना दिन नाचिने संख्या नाच पनि लोप हुन थालेको छ ।’ गायक चौधरीको विचारमा थारूहरूको छाता संगठन थारू कल्याणकारिणी सभा (थाकस), थारू जनप्रतिनिधि तथा थरूहटका स्थानीय निकायले थारू गीतको संरक्षण संवर्द्धनमा ध्यान दिनु जरुरी छ । थारू अगुवा दिलबहादुर चौधरी पनि थारू मौलिक गीत संकलन र संरक्षणको अभावमा लोप हुने अवस्थामा रहेको बताउँछन् । ढमार गीतसमेतका सर्जक उनी माघ र माघको मौलिक गीत जोगाउन ढमार, मघौटा गीत तथा नाचको प्रतियोगिता गर्न सकिने बताउँछन् । उनका अनुसार ढमारजस्ता गीतको संकलन तथा अनुसन्धान हुन जरुरी छ । भन्छन्, ‘हामीले गाउँमा यससम्बन्धी पुनर्जागरणका लागि ढमार नाच्न तथा गाउनका लागि केही सहयोग वडाबाट पनि मागेका छौं । ४० कटेकाले मात्र अहिले यो गीत गाउने गरेको देखिन्छ । पुस्ता हस्तान्तरणको आवश्यकता देखिन्छ,’ उनले भने । दाङ देउखरी, मानपुरकी १९ वर्षीया विद्यार्थी प्रज्ञा चौधरीले नयाँ पुस्ताहरूलाई मौलिक गीतमा तान्न अभिभावकहरूले पनि मुख्य भूमिका खेल्न सक्ने बताउँछिन् । उनलाई थारूहरूको मौलिक गीतबारे धेरथोर मात्र थाहा भएको र बिहेमा गाइने मौलिक गीतमात्र गुनगुनाउन जानेको बताइन् । ‘मलाई पुराना गीतहरू मन पर्छ, सिक्न पनि मन छ । हजुरआमा र आमाहरूले गाएको सुनेको छु । आधुनिक गीतसँगै हामीले मौलिक गीतलाई पनि प्राथमिकता दिनुपर्छ,’ उनी भन्छिन्, ‘अभिभावकहरूले पनि सुनाउनु र सिकाउनुपर्छ, सिक्न प्रेरित गर्नुपर्छ ।’ विगतमा १० वर्ष थारू गाउँको अगुवा बरघरसमेत रहिसकेका मित्रलाल चौधरी सांस्कृतिक पहिचान बचाउन लागिपरेका छन् । माघको अवसरमा उनले आफ्नो गाउँमा यही माघमा मघौटा नाचको प्रतियोगिता आयोजना गरेको बताए । ‘संरक्षण आवश्यक छ । म गीत र नाचलाई कसरी संरक्षण गर्ने भनेर लागिपरेको छु । अहिले बरघर नभए पनि अरूलाई सल्लाह सुझाव दिन्छु,’ उनले भने । कान्तिपुरबाट

माघ १ मा विदा नपाउँदा रुनु पर्दाको त्यो क्षण

माघ १ मा विदा नपाउँदा रुनु पर्दाको त्यो क्षण

१३३६ दिन अगाडि

|

२८ पुष २०७९

माघ (माघी) को बारेमा धेरैले धेरै पटक लेखिसकेका छन्, धेरैले यसबारे थाहा पनि पाइसकेका छन् । माघलाई आ आफ्नो तरिकाले मनाउने जनसंख्या ठूलो छ ।  कहीँ यसलाई नयाँ बर्ष, कहीँ धार्मिक दिन, कहीँ पुण्य दिनको रुपमा मनाउने गर्दछन् । त्यस्तै माघ, तिला संक्राइत, खिचरा, खिचरी, मकर संक्रान्ति भनेर पनि मनाउँछन् ।  थारुहरु यसलाई नयाँ बर्ष, धार्मिक दिन, पुण्य दिवस, स्वतन्त्रता दिवसको रुपमा पनि मनाउँछन् ।  यसलाई किराँतहरु पनि येले सम्बत भनी नयाँ बर्षको रुपमा मान्छन् । पश्चिम पहाडमा पनि माघ महिनाभरी चेलीबेटीको घरमा कोसेली दिने चलन छ । यसरी हेर्दा अधिकांश नेपाली माघसँग जोडिएका छन् । तर पनि किन हो किन ? माघ ओझेलमा परेको देखिन्छ ।  माघसँग धेरै नेपाली जोडिए पनि जब विदाको सवाल आउँछ, सरकारमा रहेकाहरु आनाकानी गर्न थाल्छन् । विदा किन दिनु प¥यो भन्छन् ।  जबकि दसैं आउँदा एक हप्ता देशभरीका सरकारी कार्यालयमा विदा हुन्छ । विद्यालयहरुमा झन महिनै दिन विदा हुन्छ । त्यसरी विदा दिनुको अर्थ बाहिर काममा गएकाहरु, पढ्न गएका विद्यार्थीहरु पनि घर आएर दसैं मनाउन पाऊन् भन्ने हो ।  थारुहरुले मनाउने माघी पर्व आउँदा सरकार मात्रै होइन, गैरसरकार पनि टाउको दुखाउँछन्, संघ संस्था, प्राइवेट कम्पनीले पनि टाउको दुखाउँछन्, विदा दिन मान्दैनन् । जनताको भावना नबुझ्ने कस्तो सरकार ! सरकारले बुझ्दा गैरसरकार नबुझ्ने ! अर्थात गैरसरकारी संघ संस्थाले नबुझ्ने कस्तो अवस्था ?   अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मा कार्यरत रहँदा म २÷३ पटक घरपरिवारसँग माघी नमनाई काठमाडौं माघी मनाउन बाध्य भएको छु । माघ १ गते नै कार्यालयले काठमाडौं कार्यक्रममा बोलाउँदा मन साहै्र रोएको छ ।  घरपरिवारसँगै बसेर आशीर्वाद लिनेदिने त्यो नयाँ वर्ष, अनिवार्य नुहाई धुवाई गरी पूजाआजा गरी आमाबुवालाई जल चढाई आशीर्वाद लिने र सानालाई आशीर्वाद दिने, रमाउने त्यो दिनमा घरपरिवार छोडी बाहिर जानु पर्दाको त्यो पीडा म अहिले पनि बिर्सन सकेको छैन ।  थारु कर्मचारीहरुलाई विदा दिनु प¥यो भनी धनगढीबाट इन्सेकको केन्द्रीय कार्यालय कलंकी, स्यूचाटारमा फ्याक्सबाट विदा माग्दा पनि विदा नमिलेको कुरा झल्झल्ती याद आउँछ ।   त्यसै गरी पुस अन्तिम दिन (जिता मार्ने) मा छोराछोरीलाई विद्यालय पठाउँदा गहभरी आँसु पारेर विद्यालय गएको देख्दा मेरो मन धेरै पटक रोएको छ ।  चाडपर्वप्रतिको माया, लगाव र यही सबै अनुभवका  कारण हामी निरन्तर विदाको आवाज उठाइरह्यौं । बिसं २०५९ सालमा तात्कालीन राजा ज्ञानेन्द्रको पालामा बर्दियाका गोपाल दहित विज्ञान तथा वातावरण सहायक मन्त्री हुँदा पहिलो चोटी माघ १ गते विदा भएको इतिहास छ । तर बिचका सरकारहरुले माघ १ गतेको विदालाई कटौटी गरे । निरन्तरताको प्रयासले पछिल्ला दिनमा माघ १ गते विदा दिने कार्य भैरहेको छ तर पुस मसान्तको विदा ओझेलमा परेको छ ।  थारुहरुको लागि माघ दसैं भन्दा कम होइन, यसमा थप विदाको आवश्यकता छ । माघ १ गते अहिले सरकारको नजरमा परेको छ, तर पुस अन्तिम दिनलाई सबैबाट बेवास्ता भैरहेको छ । जबकि पुस अन्तिम दिन पुरानो वर्षको विदाईको रुपमा जिता मार्ने, धार्मिक मेला लाग्ने, श्रद्धालुहरु नुहाउन मेलातिर लाग्ने, खानपानको जोहो गरिने, रातभरी ढमार गाइने दिनको रुपमा लिइन्छ । निकै चहलपहल हुने यो दिन थारुहरुको लागि अहम् महत्वको दिनको रुपमा मानिन्छ ।  कैलालीमा ढकिया सरकार रहेको स्थानीय तहहरु जानकी, टीकापुर, भजनी, जोशीपुरले त थरुहट थारुवान क्षेत्रमा रहेको भनी जनतालाई अनुभूति दिलाउन, महसुस गराउन पुस मसान्तदेखि माघ ३ गतेसम्म विदा दिनैपर्ने हो ।  तर सरकारले मात्रै होइन, विद्यालयले समेत पुस मसान्तलाई बेवास्ता गरेको देखिन्छ । पुस मसान्तको दिनमा विदा दिनुहुन्छ नाई सर भनी जानकारी माग्दा आदर्श मावि खर्गौली कैलालीका सहप्रधानाध्यापक ज्ञानसिंह चौधरी भन्नुहुन्छ, “यस अघि पुस मसान्तमा विदा दिने ग¥या थिएन, तर यो वर्ष जानकी गाउँपालिका कैलालीले पुस मसान्तदेखि माघ ८ गतेसम्म विदा दिने निर्णय गरिसकेको छ ।”  तसर्थ निचोडमा के भन्न सकिन्छ भने माघ पर्व थारुहरुको लागि धेरै महत्वका साथ लिइन्छ । माघमा बाहिर जानु पर्दा सबैलाई पीडा महसुस हुन्छ । १ दिने विदाका कारण बाहिर गएकाहरु घर माघ (माघी) मान्न आउन नपाउने अवस्था छ ।  विदाको सवालमा भन्ने हो भने केन्द्र सरकारले १ दिन सबैको लागि विदा दिनु राम्रो हो तर थरुहट÷थारुवान क्षेत्रको प्रदेश सरकारले पुस अन्तिम दिनदेखि माघ ३ गतेसम्म विदा दिन आवश्यक देखिन्छ, ता कि बाहिर काम गर्न गएकाहरु, पढ्न गएकाहरु पनि आमाबाबु, घरपरिवारसँग माघ मनाउन सकून् ।  कैलालीमा ढकिया सरकार रहेको स्थानीय तहहरु जानकी, टीकापुर, भजनी, जोशीपुरले त थरुहट थारुवान क्षेत्रमा रहेको भनी जनतालाई अनुभूति दिलाउन, महसुस गराउन पुस मसान्तदेखि माघ ३ गतेसम्म विदा दिनैपर्ने हो ।  यो वर्ष पुस अन्तिमको दिन शनिवार परेको छ, विदा त्यसै पनि छ तर त्यसलाई संस्थागत गर्ने हो भने स्थानीय सरकारले पुस मसान्तदेखि यति गतेसम्म भनी निर्णय गर्नैपर्ने हो । त्यसैले आशा गरौं कि ढकिया सरकारले थारुहरुलाई माघ पर्व आएको अनुभूति दिलाओस् ।   

 रेशम चौधरीलाई ओलीको दोस्रो फोनः माघ  महिनाभित्र गुड न्यूज, अनि बल्ल बन्यो सुप सरकार

 रेशम चौधरीलाई ओलीको दोस्रो फोनः माघ  महिनाभित्र गुड न्यूज, अनि बल्ल बन्यो सुप सरकार

१३३७ दिन अगाडि

|

२७ पुष २०७९

सुदूरपश्चिम सरकार गठनमा गाँठो पर्दैै गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई फोन गरी फकाएका छन् । काठमाडौंको डिल्लीबजार कारागारमा रहेका चौधरीलाई बुधबार ४ बजेतिर दोस्रो पटक ओलीले फोन गरेर माघ महिनाभित्र गुड न्यूज आउने बचन दिएका हुन् ।  समाचार स्रोतका अनुसार ओलीले फोन गरेर सुदूरपश्चिम प्रदेश सरकार गठनमा सहयोग माग्ने क्रममा यस्तो बचन दिएका हुन्  । ‘रेशमजीलाई केपीजीले फोन गर्नुभयो माघ महिनाभित्र गुड न्यूज आउँछ । त्यसमा मैले तपाईलाई विश्वास दिलाउन चाहन्छु’ ओली चौधरी संवादका विषयमा ती नेताले भने, ‘तपाई (रेशम चौधरी)ले सुदूरपश्चिम प्रदेश सरकार गठनमा सहयोग गर्नुपर्यो । अब मिलेर जाउँ भन्ने छ ।’ ओलीले माघ महिनामा गुड न्यूज आउने बचन दिएपछि चौधरीले ओलीलाई सुदूरपश्चिम प्रदेश सरकारमा सहयोग गर्ने बल्ल प्रतिवद्धता जनाए  । त्यसपछि बल्ल सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका फुलमाला लगाउन तम्तयार एमालेका राजेन्द्र रावलसँग नागरिक उन्मुक्तिका सांसदहरु सम्पर्कमा आएका थिए ।  यदि माघ महिनाभित्र टीकापुर घटनाको मुद्दा फिर्ता नलिएमा सरकारलाई दिएको समर्थन फिर्ता लिने चौधरीले चेतावनी दिएको ती नेताले बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अध्यक्ष ओलीले आज बिहान पनि चौधरीलाई फोन गरेका थिए ।   माओवादी, नागरिक उन्मुक्ति लगायत पार्टीको समर्थनमा रावलले आजै मुख्यमन्त्रीको सपथ लिएका छन् । 

नमस्ते बचत तथा ऋण सहकारीले बार्षिक १ करोड नाफा कमाउन सफल 

नमस्ते बचत तथा ऋण सहकारीले बार्षिक १ करोड नाफा कमाउन सफल 

१३३८ दिन अगाडि

|

२६ पुष २०७९

नमस्ते बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २० औं साधारण सभा नाचगानसहित धनगढीमा सम्पन्न भएको छ ।  सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि धनगढी उमहानगरप्रमुख गोपाल बहादुर हमाल (गोपी) ले बिगतमा पश्चिम तराईमा रिक्सादेखि घर निर्माणसम्मका सबै काम भारतीय नागरिकहरुले गर्ने र भारतमा करोडौं रुपिया जाने गरेको तर अहिले ती काम थारुहरुले सम्हाल्दै करोडौं रकम भारत जानबाट रोकेकाले थारुहरु सुदूरपश्चिमका शान रहेको बताएका थिए ।  नमस्ते सहकारीका पूर्वप्रबन्धक कुन्न नारायण चौधरीले २५ जनाले ५÷५ हजारका दरले संस्थाको सुरुवात गरेको र हाल यो अवस्थामा पुगेकोले खुशी ब्यक्त गरेको थिए । राष्ट्रिय सहकारी बैंकका प्रबन्धक रावलले नमस्ते सहकारीको कार्यशैली, ब्यवस्थापन, यसले सञ्चालन गरिरहेको लघुबित्त शैली अरु भन्दा फरक रहेकोले राष्ट्रिय सहकारी बैंकको नजरमा प्रदेश स्तरमा राम्रो सहकारीको रुपमा छनौट भएको कुरा बताएका थिए ।  त्यसै गरी, नवजीवन सहकारीका संचालक समितिका सदस्य शिवकुमार फुलाराले नमस्ते सहकारीेले राखेको बासलातले सहकारी संस्था राम्रो रहेको र यसले भविष्यमा अझ प्रगति गर्ने कुरा जनाएका थिए ।  संस्थाले आफ्ना उत्कृष्ट बजार प्रतिनिधि, उत्कृष्ट कर्मचारी, उत्कृष्ट बचतकर्ता उत्कृष्ट ऋणी, उत्कृष्ट समूहलाई सम्मान गर्दै कार्यक्रममा आमन्त्रित प्रमुख अतिथि, अतिथिहरुलाई मायाको चिनो प्रदान गरेको थियो । साथै, वभिन्न प्रस्तावहरुलाई एकमतले अनुमोदन गर्दै जिल्लामा आफ्नो कार्य क्षेत्र बिस्तार गर्ने र “एक घर, एक शेयर धनी” को नारालाई मूल नारा बनाई अगाडि बढ्ने जनाएको छ ।   प्रबन्धक विजय चौधरीले आजसम्म सहकारीमा ६ हजार ८४ शेयर सदस्य पुगिसकेको र आर्थिक मन्दीको यो बर्ष पनि संस्थाले १ करोड नाफा गरेको जानकारी दिएका थिए ।  यस संस्थामा बजार प्रतिनिधि, शेयर धनी, सञ्चालक सबै थारु समुदायका छन् भने कैलाली बहुमुखी क्याम्पस र गुरही चौकको बिचमा यसको आफ्नै ४ तल्ले भवन रहेको छ ।  साधारण सभा नमस्ते बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जगतराम चौधरीको अध्यक्षतामा भएको थियो भने राष्ट्रिय सहकारी बैंक धनगढी शाखाका प्रबन्धक कृष्ण बहादुर रावल, थाकस कैलालीका काबा अध्यक्ष माधव थारुले शुभकामना मन्तब्य दिएका थिए ।