स्माइल पहिले रिक्सावाल, अहिले प्राचार्य

स्माइल पहिले रिक्सावाल, अहिले प्राचार्य

११४४ दिन अगाडि

|

४ साउन २०८०

छेग्रहुवाबाट हेडमास्टर बने सीताराम

छेग्रहुवाबाट हेडमास्टर बने सीताराम

११४५ दिन अगाडि

|

३ साउन २०८०

सीताराम चौधरी (४२), कैलालीको कैलारी गाउँपालिका–९ गदरियास्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक छन् । जमिनदारको घरमा जन्मजात कमैया बसेका बुवा बुझावन डंगौरा थारू र आमा सुमित्रा देवी थरुनीका जेठा छोरा सीताराम छेग्रहुवा (बाख्रा चराउने) जीवन हुँदै हाल आफू पढेकै विद्यालयमा प्रधानाध्यापक छन् ।  एक ताका पढाइ खर्च जोहो गर्न गाउँ–गाउँ डुलेर चन्दा संकलन गरेका उनी हाल हजारौं बालबालिकालाई शिक्षाको ज्योति बाँडिरहेका छन् । कैलारी गाउँपालिका–६ बेनौली घर भएका सीतारामका बाजेको देहान्तपछि उनका सानो बाजेले भएको जग्गा बेचे । पुरानो थातथलो सामरचौरा भए पनि बस्ने ठाउँ नै नभएपछि उठीबास भयो । त्यसपछि उनका परिवारको कमैया जीवन सुरु भएको उनी बताउँछन् । उनका बुवा सामरचौरा, देवीगञ्ज, खुरहिया, भित्तरिया, बेनौली गरी धेरै ठाउँका जमिनदारकहाँ कमैया बसे । जहाँ–जहाँ बुवा आमा जान्थे, त्यहाँ–त्यहाँ बालश्रमिक बनेर काम गर्न जानु उनीसहित ४ दाजुभाईको नियति थियो । उनका बुवा सामरचौरा, देवीगञ्ज, खुरहिया, भित्तरिया, बेनौली गरी धेरै ठाउँका जमिनदारकहाँ कमैया बसे । जहाँ–जहाँ बुवा आमा जान्थे, त्यहाँ–त्यहाँ बालश्रमिक बनेर काम गर्न जानु उनीसहित ४ दाजुभाईको नियति थियो । २०५७ साउन २ गते सरकारले कमैया मुक्तिको घोषणा ग¥यो । पश्चिम तराईको कैलाली, कञ्चनपुर, बाँके, बर्दिया र दाङ जिल्लास्थित हजारौं कमैयाहरु मुक्त भए । तर सीतारामका बुवा भने मुक्त हुन सकेनन् । कमैया नै रहे ।  २०४४ सालमा बेनौली गाउँमा विद्यालय स्थापना भयो । सीतारामका उमेरका सबै बालबालिका विद्यालय जान थाले । उनी भने जमिनदारका बाख्रा चह्राउँथे । २०४७ सालताका बेनौलीको अपरम्पार प्राथमिक विद्यालयको प्रधानाध्यापक दामोदर बस्नेत भए । उनै बस्नेत र केही गाउँकै व्यक्तिले उनलाई स्कूल भर्ना गरिदिए । अनि सुरु भयो उनको स्कुले जीवन ।  पढाइमा अति नै मेहनती र तीक्ष्ण बृद्धि भएका उनलाई केही महिनामै कक्षा बढुवा गरियो । कक्षा ५ को जिल्ला बोर्ड परीक्षामा उनी प्रथम श्रेणीमा उत्तीर्ण भए । उप्पलो शिक्षा अध्ययनको लागि उनी जनता माध्यमिक विद्यालयमा कक्षा ६ मा भर्ना भए ।  उनको मेहनत र लगनशीलताले निकै प्रभावित भएका विद्यालयका तत्कालीन प्राधानाध्यापक विनय कुमार चौधरीले उनको विद्यालय शुल्क, ड्रेसलगायतको व्यय भार वहन गरिदिए । पछि उनै विनय चौधरीले उनलाई धनगढीको मोडर्न एरा स्कूलमा कक्षा ९ कक्षा भर्ना गरिदिए । त्यहाँको बसोबासलगायत सबै व्ययभार समेत उनले नै लिए ।  २०५६ सालमा एसएलसी परीक्षामा पनि उनी प्रथम श्रेणीमा उत्तीर्ण भए । द्वन्द्वकालमा विनय चौधरी विस्थापित भएपछि उनी आफै भाइहरुको सहयोग लिदै क्याम्पस भर्ना भए । तर क्याम्पसको खर्च जोहो गर्न उनलाई धौ धौ भयो । अनि भित्री मनले चन्दा उठाउन अह्रायो । ‘मेरो दिमागमा चन्दा उठाएर त हेरौं भन्ने आयो । मानसिक रुपमा तयार भएँ । गल्ली–गल्ली पुगें । धेरैलाई कुरा सुनाएँ । केहीले सहयोग गरे’, उनी सम्झिन्छन्, ‘सबैभन्दा ठूलो सहयोग तत्कालीन गदरिया गाविस अध्यक्ष सन्तराम चौधरीले गर्नुभयो । उहाँले आफूले पाउँदै आएको भत्ता बापतको रकम सहयोग गर्नुभयो । त्यसपछि गदरियाकै वडाध्यक्ष प्रेमबहादुर चौधरी, गाविस मुखिया ठागुराम चौधरीलगायतले मलाइ सहयोग गर्नुभयो । उहाँहरुलाई कहिल्यै विर्सन सकिदैन ।’ २०५९ सालमा कक्षा १२ उत्तीर्ण भएपछि उनी शिक्षण पेशामा सक्रिय भए । आफू पढेकै विद्यालय मोडर्न एरामा पढाउन थाले । फुर्सदको बेला ट्युसन पढाए । अन्ततः उनी पढ्दै पढाउँदै अंग्रेजी भाषामा स्नाकोत्तरसम्म शिक्षा हासिल गर्न सफल भए । बाँया हातले लेख्ने अभ्यास २०७५ सालमा शिक्षक सेवा आयोगको परीक्षा उत्तीर्ण गरेका उनी बझाङको महादेव माध्यमिक विद्यालयमा नियुक्त भए । तर, शिक्षण पेशाको जिम्मेवारीकै क्रममा उनी आफ्नो दाहिने हात समेत गुमाउन पुगेका छन् । उनी एकदिनको सडक दुर्घटना सम्झिन्छन्, ‘कोभिड महामारीले लकडाउन चलिरहेको थियो । बस चलेको थिएन । विद्यालयकै कामको सिलसिलामा म र हेडसर मोटरसाइकलमा बझाङबाट धनगढी फर्किदै थियौं । २०७७ असार २२ गते राति धनगढीको निर्माणाधीन ६ लेन सडकमा मोटरसाइकल दुर्घटनामा प¥यौ । विद्युतको पोलले मेरो दायाँ हात च्यापियो । अप्रेसनको क्रममा हात गुमाउन पुगे ।’ अस्पतालको बेडबाटै उनी अर्को बायाँ हातबाट लेख्न अभ्यास गर्न थाले । बिस्तारै उनको लेखनको रफ्तार र हेन्डराइटिङ पुरानै लयमा फर्किएयो  ।  जनता माध्यमिक विद्यालय, गदरिया, कैलालीबाट एसएलसी सकाएका उनी हाल सोही विद्यालयमा प्रधानाध्यापक छन् । उनी अब आफ्नो विद्यावारिधि गर्ने योजना रहेको सुनाउँछन् । जीवनमा संघर्ष सबैभन्दा ठूलो कुरा रहेको बताउँदै उनले सरकारको मुख मात्रै ताकेको भए आफू यो स्थानमा पुग्न नसकिने बताउँछन् । जुन कारण शिक्षा आर्जनलाई जोड दिइ संघर्ष गर्नुपर्न उनको जोड छ ।   

‘महुवा’ जोगाउन यसकारण कस्सिए थारू समुदाय 

‘महुवा’ जोगाउन यसकारण कस्सिए थारू समुदाय 

११४५ दिन अगाडि

|

३ साउन २०८०

पछिल्लो समय आदिवासी थारू समुदाय महुवाको वृक्षारोपणमा जुटेको छ । गैरकाष्ठ तथा मझौला किसिमको रुख अन्तरगत पर्ने महुवा लोप हुँदै गएपछि संरक्षण तथा प्रवद्र्धन गर्न यसको बृक्षारोपणमा जुटेका हुन् । कैलालीको गौरीगंगा नगरपालिका–१० स्थित नुक्लीपुर सामुदायिक होमस्टेले त्यहाँस्थित लक्ष्मी सामुदायिक वनको डेढ हेक्टर क्षेत्रफलमा २ हजार बोट महुवा वृक्षारोपण गरेको छ । यो सँगै असना, कर्मालगायत रुखको विरुवा समेत रोपेको होमस्टेका अध्यक्ष दिनेश दहितले जनाए । उदासीपुर सवडिभिजन वन कार्यालयको प्रविधिक र डिभिजन वन कार्यालय धनगढीको आर्थिक सहयोगमा पहिलो चरणमा बृक्षारोपण सम्पन्न गरेको बताउँदै अध्यक्ष दहितले दोस्रो चरणको लागि महुवाको १० हजार बोटको नर्सरी तयार भइरहेको र अन्य पालिकास्थित सामुदायिक वनमा पनि वृक्षारोपण गर्ने योजना रहेको सुनाए । धनगढी उपमहानगरपालिकाको आर्थिक सहयोग तथा सामुदायिक वन समन्वय समिति मसुरियाको प्राविधिक सहयोगमा पनि महुवा बृक्षारोपण गरिएको छ ।  धनगढी उपमहागरपालिका–१६ स्थित थारू होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीले पनि केही वर्ष अगाडि भादास्थित रामेश्वर धार्मिक वनको करिब ५ विघा क्षेत्रफलमा २ हजार महुवाको विरुवा रोपिएको बताए ।  पछिल्लो समय स्थानीय पालिकाहरु महुवा प्रवद्र्धन कार्यक्रमसमेत गर्न थालेका छन् । यसमा खास गरी थारू किसानहरुको आकर्षण बढ्दै गएको छ ।  महुवाको विशेषता  महुवा प्रायः तराईको वनमा पाइन्छ, जुन वसन्त ऋतुमा फुल्छ । गैरकाष्ठ तथा मझौला किसिमको रुख अन्तरगत पर्ने महुवाको बोटमा झुप्पा–झुप्पा रसिला फूल फुल्छन् । सो फुल संकलन गरेर प्रशोधन गरी रक्सी बनाउने कार्यमा थारू समुदाय उहिल्यैदेखि पारंगत छ । महुवालाई शक्तिवद्र्धक जडीबुटीको रुपमा लिइन्छ । डिभिजन वन कार्यालय कैलालीका पूर्व वनअधिकृत रामचन्द्र कँडेलका अनुसार महुवाको वैज्ञानिक नाम मधुका इन्दिका हो, जसको फूल र फलमा औषधीय गुण रहेको हुन्छ । महुवाको औषधीय गुणकै कारण संरक्षण पनि हुँदै आएको बताइन्छ । डिभिजन वन कार्यालय कैलालीका प्रमुख कँडेलले भने, ‘खास गरी थारू समुदायमा महुवाको विशेष महत्व रहेको छ । जसकारण वनमा भएपनि संरक्षण गरिनुका साथै आफ्नो खेतबारीमा पनि रोपेको पाइन्छ ।’  थारू समुदायमा महुवाको रक्सी अन्य रक्सीभन्दा शुद्ध, तेजिलो र तागतिलो हुने गरेको बताइन्छ । खास पाहुनालाई स्वागतका लागि र घरका देवतालाई चढाउनका लागि पनि महुवाको रक्सी थारू गाउँमा अनिवार्य जस्तै हुन्छ । नुक्लीपुर सामूहिक होमस्टेका अध्यक्ष दहित भन्छन्, ‘पर्यावरण संरक्षण त छँदैछ । योसँग थारू समुदायमा महुवाको विशेष महत्व छ । हामी होम स्टेको प्रवद्र्धनको लागि पनि महुवा प्रवद्र्धनमा जुटेका हौ । यसको रक्सीलाई उच्च प्रविधिको प्रयोगसँगै ब्राण्डिङ गर्ने हाम्रो योजना हो । साथै, यसको काठको प्रयोग र फललाई प्रशोधन गरी निकालिएको तेललाई विभिन्न औषधीमा प्रयोग गरिने भएकोले यसको प्रवद्र्धनमा जुटेका छौ ।’   थारू होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष चौधरीले आफूहरुले सञ्चालन गरेको होम स्टेमा महुवाको रक्सीको माग उच्च रहेको बताए । महुवाको रक्सी प्रति बोतल (२५० मिलिलिटर) ४ सय रुपैयाँमा बिक्री हुँदै आएको अध्यक्ष चौधरीले बताए । स्मरण रहोस्, लुम्विनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी नेतृत्वको प्रदेश सरकारले यस आर्थिक वर्षमा महुवालगायत रक्सीको ब्राण्डिङको लागि १२ करोड रकम विनियोजन गरेको छ ।   

कैलालीका ४ पालिकाले दिए मुक्त कमैया दिवसको विदा 

कैलालीका ४ पालिकाले दिए मुक्त कमैया दिवसको विदा 

११४५ दिन अगाडि

|

२ साउन २०८०

कैलालीका ४ पालिकाले मुक्त कमैया दिवसको अवसरमा साउन २ गते आज विदा दिएका छन् । नागरिक उन्मुक्ति पार्टीबाट जित्ने जनप्रतिनिधिको टीकापुर तथा भजनी नगरपालिका र जानकी तथा जोशीपुर गाउँपालिकाले विदा दिने निर्णय गरेका हुन् ।  टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डंगौरा, जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण बहादुर विष्ट, भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरी तथा जोशीपुर गाउँपालिकाके प्रमुख प्रशासकीय अधिकृत मार्शल पन्तबाट हस्ताक्षरित सूचनामा पालिकाअन्तर्गत रहेका वडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संघ संस्थालगायत सरोकारवाला सम्बद्ध सार्वजनिक निकायमा विदा रहने भनिएको छ । 

भानुभक्तीय साहित्यको समसामयिकता 

भानुभक्तीय साहित्यको समसामयिकता 

११५० दिन अगाडि

|

२९ असार २०८०

“बिन्ती डिठ्ठा विचारीसित म कति गरुँ चुप रहन्छन् नबोली   बोल्छन् ता स्याल गरे झैँ अति पछि छिनछिन भन्छन् भोलि भोलि कि ता सक्दिन भन्नु कि तब छिनिदिनु क्यान भन्छन् यी भोलि भोलि भोलि हुँदैमा सब घर बिति गो बक्सियोस् आज झोली ।” आदिकवि भानुभक्त आचार्यलाई सम्झँदा नेपाली जनजीवनका अनेक प्रेरणादायी र लोकप्रिय कविताका पङ्क्तितहरु सहजै स्मरणमा आउँछन् । नेपाली भाषामा कवितामै बोल्न, लेख्न र गाउन सक्ने बहुआयामिक क्षमताका धनी आचार्यलाई स्वदेश र विदेशका अध्येता, समालोचक एवं अनुसन्धाताले निरन्तर पछ्याउँदै आएका छन् । आफ्नै घर–परिवार र समाजका परिवेशलाई काव्यमालामा उनेर त्यसबाट भविष्यको पुस्ताका लागि समेत मर्मस्पर्शी र प्रेरणादायी सन्देश दिन सक्ने आदिकविका कैयन श्लोकहरु सामान्य किसान र अपठित नेपालीका जनजिब्रोमा झुण्डिएकै पाइन्छन् : “भर जन्म घाँसतिर मन् दिई धन कमायो नाम क्यै रहोस् पछि भनेर कुवा खनायो घाँसी दरिद्र घरको तर बुद्धि कस्तो म भानुभक्त पनि भैकन आज यस्तो ।” संस्कृत भाषामा लेखिएको अध्यात्म रामायणलाई विविध छन्दमा नेपाली जनमानसले बुझ्ने गरी सरल नेपाली भाषामा उतारेर र अरु महत्वपूर्ण कृतिका रचनाको माध्यमबाट आदिकवि आचार्यले दिएका योगदानबारे चर्चा कुनै एक आलेखमा असम्भव हुन्छ ।  तत्कालीन समाजको वास्तविक प्रतिनिधित्व हुने रचनाका लागि भानुभक्तको भूमिकालाई नेपाली समाज र साहित्यिक इतिहासले उच्च सम्मान गर्दै आएको छ भने ती रचनाहरु अहिलेका सन्दर्भमा पनि बहुउपयोगी र सन्देशप्रद रहेका छन् । अहिले पनि शासन–प्रशासनमा ढिलासुस्ती र अनियमिता, समाजमा ढाँट–छल तथा राजनीतिक क्षेत्रका यावत् विकृतिहरुको अन्त्य भएका छैनन् । उसबेला भानुभक्तले उठाएका विषयवस्तु र अहिलेका विषवस्तुको परिवेश फरक हुन सक्छन् तर अन्तर्यमा समानता देखिन्छ । हुन त युवाकवि मोतीराम भट्टले १९४८ सालमा आदिकवि भानुभक्तको जीवन चरित्र प्रकाशित गरेर भानुभक्तको योगदानको व्यापकता फैलाए । मोतीरामले भानुभक्तका अप्रकाशित पाण्डुलिपिहरुलाई प्रकाशन पनि गराए । आजका नयाँ पुस्ताका लागि पनि धेरै मोतीरामहरु चाहिएको छ, जसले भानुभक्त र त्यस्तै योगदानकर्ता स्रष्टा र सुधारकका रचना एवं अभियानलाई समाजमा पुस्तान्तरण र हस्तान्तरण गर्न सक्रिय भूमिका खेलोस् । भानुभक्तलाई आदिकविको उपाधि पनि मोतीरामले नै दिलाएका थिए । भानुभक्तका योगदान र ज्ञान हस्तान्तरणको यही कुराको बोधका साथ नेपाली भाषा साहित्यको माउ संस्था नेपाल प्रज्ञा–प्रतिष्ठानले गत वर्ष २०७९ असार २७ गते २०९ औँ भानुजयन्तीका अवसरमा ‘भानुभक्तको जीवनी विषयक प्रवचन तथा नयाँ पुस्ताबाट भानुभक्तीय रचना वाचन’ कार्यक्रम आयोजना गरेको थियो । सोका माध्यमबाट विद्यालय तहमा अध्ययनरत विद्यार्थीमाझ भानुभक्तको व्यक्तित्व र कृतित्व थप स्थापित गराउन र उनका श्लोकहरुको उत्कृष्ट  वाचनमा प्रशिक्षण पनि दिलाएको थियो । प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव डा धनप्रसाद सुवेदी विगतको तुलनामा आदिकवि भानुभक्तबारे युवा पुस्तामा बुझाइ केही कमी भए पनि त्यसलाई घटोत्तरी भएको मान्न नमिल्ने बताउँछन् । ‘भानुभक्तको समग्र योगदानले देश विदेशमा रहेका नेपालीहरुका लागि सम्बन्ध सूत्रको काम गरेको छ । पाठ्यक्रम र पाठ्यपुस्तकमा उहाँका रचना नियमित पढाइएकै छ,’  सदस्यसचिव डा सुवेदीले भने, ‘हुन त शिक्षण संस्थाको ज्ञानले मात्रै धान्दैन तर आदिकविको मान्यता तथा देश विदेशमा उहाँको लोकप्रियता हुनुले उहाँलाई चिरस्थायी बनाएको छ । त्यस अर्थमा उहाँ भाग्यमानी हुनुहुन्छ कि यस प्रकारको लोकप्रियताको उचाई अरु स्रष्टाले आजसम्म पाएका छैनन् । खासगरी नेपाल बाहिर रहेका स्रष्टाहरुले अझ अधिकमात्रामा सम्मान गर्ने र उहाँका विषयमा अध्ययन–बहस र गतिविधि गर्ने काम गरिरहेका छन् । यसलाई नेपाली साहित्यको सम्पतिका रुपमा लिनुपर्छ ।’ त्रिभुवन विश्वविद्यालयका पूर्व सहप्राध्यापक तथा अनुसन्धानकर्ता विधान आचार्य अहिलेको नेपाली भाषाको व्याकरण र भानुभक्तका रचनामा समाविष्ट भाषिक प्रयोगमा कालक्रमिकका हिसाबले पनि एक प्रकारको खाडल रहेकाले नयाँ पुस्तामा उनका रचनालाई बुझ्न सहजता नहुने ठानेर भानुभक्तीय रामायणलाई सम्पादनसहित प्रकाशनमा ल्याइएको जानकारी दिए । अध्येता आचार्यले ‘एक दिन नारद सत्य लोक पुगिगया लोकको गरौँ हित भनी…’ राणाकालमा लेखिएका यस्ता  भानुभक्तका हरफहरु अहिलेको लोकतान्त्रिक गणतन्त्रमा पनि त्यही लोकको हितको सन्दर्भसँग मेल खाने पाइनु आदिकविको समाज जागरणको सोच र सन्देश भएको जनाउँछन् । त्यस अर्थमा आदिकविलाई कवि मात्र नभई एक सामाजिक अभियानकर्ता र रुपान्तरणकर्ता मान्न सकिने उनको तर्क छ । ‘उहाँको ‘लोकको हित गरुँ भनी’ भन्ने भावभित्र सामाजिक न्याय, समानता, समृद्ध नेपाल, सुखी नेपालीदेखि समाजवादसम्मको परिकल्पना प्रष्ट भेट्न सकिन्छ’, आचार्यले भने, ‘त्यसबेलाको समाज बढी धार्मिक र कम शिक्षित भएकाले भक्तिरसमा रचना गरेर भानुभक्तले नागरिकका कर्तव्य, राज्यको दायित्व र सामाजिक न्यायका कुरालाई धार्मिकतासँग जोडेर अशल चरित्रको सन्देश दिएको पाइन्छ । अहिलेको पुस्तालाई यो ज्ञान पस्कने गरी भानुभक्तीय रचनाहरुको महत्व बुझाउन सक्नुपर्छ ।’ महाकाव्यकार चन्द्रप्रसाद न्यौपानेले नयाँ पुस्ताले गहन र वास्तविक अध्ययनमा आफूलाई लिन गराएर भानुभक्तका योगदानलाई स्मरण गर्नुपर्नेमा जोड दिन्छन् । उनको विचारमा सूचना प्रविधिको व्यापकतासँगै अध्ययन र सामग्री संकलनमा परिनिर्भरता देखिएकाले आदिकवि भानुभक्त जस्ता समाज र साहित्यका लागि योगदान दिनेहरुका बारेमा विश्वविद्यालय नै खडा गरेर अध्ययन अनुसन्धान गराउन आवश्यक छ ।  भानु जयन्ती मनाइँदै आदिककवि भानुभक्तको २१० औँ जन्मजयन्तीका अवसरमा प्रज्ञा प्रतिष्ठानले यस वर्ष विगतमा झैँ भानु प्रतिष्ठानको सहकार्यमा असार २९ गते कुलपति भुपाल राईसहित प्रज्ञा प्रतिष्ठानको परिसर कमलादीदेखि प्रभातफेरि गरी दरबार हाइस्कुलसम्म हुँदै पुनः प्रतिष्ठानको परिसरमा पुगेर त्यहाँ रहेको भानुभक्तको प्रतिमामा माल्यार्पणलगायतका कार्यक्रम गर्दैछ । आदिकवि आचार्यका बारेमा विश्वविद्यालयका विभिन्न तहमा कैयन् शोधपत्रहरु तयार हुनाका साथै उनका बारेमा कविता लेखन् र जीवनी प्रकाशन नभएका होइनन्, नयाँ पुस्तका लागि ती मात्र पर्याप्त नहुन सक्छन् । भानुको जन्मस्थल तनहुँको चुँदीरम्घामा आदिकवि भानुभक्त जन्मस्थल विकास समितिको आयोजनामा काठमाडौँ र मुलुकका विभिन्न स्थानबाट पुग्ने स्रष्टाहरुको सहभागितामा असार २८ र २९ गते कार्यक्रम आयोजना हुँदैछ । नेपाल बाहिर भारतका विभिन्न स्थान र विश्वका अन्य स्थानमा पनि भानु जयन्ती मनाइन्छ । चुँदी रम्घामा हुने कार्यक्रममा भानुभक्तीय रामायण वाचन प्रतियोगिता र खुला कविता प्रतियोगिता साथमा विभिन्न कविहरूको कविता वाचन तथा गजल प्रस्तुत हुने छ  । असार २९ गते भानुको जन्मस्थलको कार्यालयबाट बिहान ७ बजे झाँकी प्रदर्शनीसहित प्रभातफेरि शुरू भई चुँदी रम्घास्थित आदिकवि भानुभक्त आचार्यको शालिकमा माल्यार्पण गरिने छ । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलगायतको उपस्थिति हुनेछ । समितिद्वारा पहिलोपटक प्रकाशित भानुभक्तको रामायण ग्रन्थको विमोचन पनि सोही कार्यक्रममा गरिनेछ । भानुभक्तको रामायणको यस प्रकाशनलाई विधान आचार्य  र प्रभा भट्टराई आचार्यले सम्पादन गरेका छन् । पिता धनञ्जय आचार्य र माता धर्मावतीदेवीका पुत्रको रूपमा तनहूँको रम्घामा १८७१ असार २९ गते जन्मिएका भानुभक्त आफ्ना बाजे श्रीकृष्ण आचार्यबाट शिक्षा पाई पठित र समाजसेवी बन्न सफल भएका थिए । । उनले स्थानीय एक घाँसीको घाँस काटेर पाटी पौवा बनाउने इच्छाबाट प्रभावित भई ‘घाँसी दरिद्र घरको तर बुद्धि कस्तो, म भानुभक्त धनी भैकन किन यस्तो’ लेखेका थिए । आदिकवि भानुभक्तले १९१० सालमा ‘भानुभक्तीय रामायण’ महाकाव्य लेखेपछि उनको काव्यिक व्यक्तित्व थप सुपरिचित भएको थियो । उनले ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘वधूशिक्षा’ लगायतका महत्वपूर्ण कृतिहरू र अन्य फुटकर कविताहरू लेखेका छन् । ‘जिउँदै मर्याको भनी नाम्छ कस्को ? उद्यम् विना बित्तछ काल जस्को’  भनेर लोकलाई केही गरेर मात्रै भौतिक चोला बिसाउन उपदेश दिने आदिकवि भानुभक्तको निधन १९२५ असोज ६ गते तनहुँको सेतीघाटमा भएको थियो । आदिकवि आचार्यका बारेमा विश्वविद्यालयका विभिन्न तहमा कैयन् शोधपत्रहरु तयार हुनाका साथै उनका बारेमा कविता लेखन् र जीवनी प्रकाशन नभएका होइनन्, नयाँ पुस्तका लागि ती मात्र पर्याप्त नहुन सक्छन् । रासस

‘थारु पाहुना घर’ मर्मतको भुक्तानी दिन आलटाल गरेको आरोप

‘थारु पाहुना घर’ मर्मतको भुक्तानी दिन आलटाल गरेको आरोप

११५० दिन अगाडि

|

२८ असार २०८०

बारा जिल्लामा निर्माणाधीन विशेष आर्थिक क्षेत्र (सेज)ले उपभोक्ता समितिलाई भुक्तानी दिन आलटाल गरेको आरोप लागेको छ । विशेष आर्थिक क्षेत्र औराहाका स्थानीय चौधरी समुदायका महिलाले उपभोक्ता समिति मार्फत निर्माण गरेको ‘थारु पाहुना घर’ को कामको भुक्तानी रोकेर आफूहरुलाई अप्ठ्यारोमा पारेको आरोप लगाएका हुन् । जीतपुर सिमरा उपमहानगरपालिका वडा नं ४ का समाजसेवी भागवत चौधरीले महिलाहरुले उपभोक्ता समितिमार्फत ७ लाखको बजेटमा थारु पाहुना घरको अधुरो काम सम्पन्न गरेर भुक्तानीको लागि लेखाबाट टिप्पणी उठाइसकेको अवस्थामा सेजको मुख्य कार्यालय, त्रिपुरेश्वरबाट भुक्तानी दिन आलटाल गरिएको आरोप लगाए । ‘कमिसन नदिएकै कारण लेखाबाट टिप्पणी उठिसकेको फाइललाई कार्यकारी प्रमुखले भुक्तानी रोके,’ चौधरीले भने । विशेष आर्थिक क्षेत्र (सेज)ले आफ्नो मध्यवर्ती क्षेत्रभित्र सामाजिक उत्तरदायित्व अन्तर्गत बर्सेनि विभिन्न योजनामा बजेट दिँदै आएको छ । विगतमा सेज सहयोग समिति मार्फत हुने कामहरु अहिले उपमहानगरमार्फत् सम्झौता भएर काम हुने गर्दछ । चालु आर्थिक वर्षको लागि सेजले दिएको २४ लाख बजेटबाट चौधरी टोलमा थारु पाहुना घरको अधुरो निर्माण तथा मर्मत सम्भारमा ७ लाख र बाँकी १७ लाखको बाटो ढलानको काम भइरहेको छ । धनमतीया थरुनीको अध्यक्षतामा अधुरो थारु पाहुना घरको मर्मतको काम उपभोक्ता समितिमार्फत गर्न  जीतपुर सिमरा उपमहानगरपालिकासँग असार ३ गते सम्झौता भइ असार १५ अगावै सम्पन्न भएको हो । सेजका कार्यकारी निर्देशक चण्डिका भट्टले भुक्तानी दिन नमिल्ने भनेर यतिबेला पन्छिए पनि सेजकै लेखा शाखाले भने भुक्तानीको लागि फाइल उठाएर खातामा पैसा आएको घन्टी बज्ने जानकारी दिएको थियो । उपभोक्ता समितिका सचिव निलम चौधरीका अनुसार महिलाहरु भुक्तानीका लागि असार २३ गते गाडी नै रिजर्भ गरेर काठमाडौँ गएपछि लेखा शाखाले भुक्तानीका लागि टिप्पणी उठाएर ‘खातामा पैसा खाएको घण्टी भोलि बज्छ, तपाईहरु जानुस्’ भन्दै पठाएको थियो । तर काठमाडौँबाट फर्किएको २ दिनसम्म खातामा पैसा नआएपछि उनीहरुले कार्यकारी निर्देशक भट्टलाई फोन गरेर भुक्तानी किन ढिलो भएको हो भनि सोधेका थिए । जवाफमा भट्टले ‘सेजको बजेटबाट बनाउने भन्ने निर्णय कतै भएको छैन, सेजसँगको अनुमति र सम्झौता बिना बनाइएको घरको भुक्तानी सेजबाट हुँदैनु भने । सचिव चौधरी केही सामान ऋण लिएर र केही उधारोमा किनेर काम सम्पन्न गरेको तर भुक्तानी लिने बेला उपमहानगरले सेज कार्यालय काठमाडौँ जानुपर्छ भनेकाले रोपाइँको काम छोडेर सक्कल कागजपत्र लिएर पुगेको बताउँछिन् । ‘हामीले सेजको बजेटबाट उधारोमा सामान किनेर अधुरो थारु पाहुना घरको काम सक्यौँ तर आज पसलको साहु घरमा पैसा माग्न आइरहेको छ, यस्तो व्यवहार भएपछि हामीलाई भोलि कसैले पत्याउँदैन,’ चौधरीले भनिन्, ‘भुक्तानीको बेला यस्तो व्यवहार गर्दा हामीलाई धेरै चित्त दुखेको छ ।’ विशेष आर्थिक क्षेत्र सेज जीतपुर सिमराको वडा नं ४, १४, १५, १६ गरी ४ वटा वडाको ८३३ बिगाहा क्षेत्रफलमा छ । जसमध्ये ए ब्लकको ३४३ बिगाहा बाहेक सम्पूर्ण सार्वजनिक जग्गा अतिक्रमणमा परेको छ ।

नेपाली कांग्रेसमा थारु समुदायका नेताहरु विकल्पको खोजीमा  

नेपाली कांग्रेसमा थारु समुदायका नेताहरु विकल्पको खोजीमा  

११५२ दिन अगाडि

|

२६ असार २०८०

नेपाली कांग्रेसमा थारु समुदायका नेताहरुले विकल्पको खोजीबारे छलफल थालेका छन् । पार्टीभित्र थारु नेताहरुलाई बेवास्ता गरिएको भन्दै विजयकुमार गच्छदारसहितका नेताहरु कांग्रेसबाट बाहिरिने तयारीमा सोचमा पुगेका हुन् । असारको पहिला साता पूर्वउपसभापति विजयकुमार गच्छदार, केन्द्रीय सदस्य रामजनम चौधरी, गोपाल दहित, प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरी लगायतका नेताहरुबीच विकल्पको खोजीमा छलफल भएको थियो । कांग्रेस केन्द्रीय सदस्य रामजनम चौधरीका अनुसार नेतृत्वले थारुप्रतिको दृष्टिकोण नबदले पार्टीमा बस्नेको औचित्य नभएको छलफलको निष्कर्ष थियो । कांग्रेस सांसद तेजुला चौधरीले पनि थारु नेताहरुले विकल्पको खोजी गरिरहेको बताए । ‘कांग्रेस नेतृत्वको रवैया देखियो । यस्तो अवस्थामा कांग्रेसमा बस्नुको अर्थ छैन भनेर छलफल गरिरहेका छौं,’ तेजुलालले भने । भोलि बस्ने केन्द्रीय कार्यसमिति बैठकपछि थप रणनीति बनाउने थारु नेताहरुको तयारी छ । रामजनमले भने, ‘एक वर्षपछि भोलि केन्द्रीय समिति बैठक बस्दैछ । त्यहाँ हाम्रो कुरा राख्छौं ।’ थारु संघको विधान, नेपाल तरुण दल विस्तार, मन्त्री छनोट लगायतका विषयमा सामुहिक कुरा उठाउने रामजनको भनाइ छ । ‘थारु संघको विधान नै संशोधन भएको छैन । नेपाल तरुण दलको ४ सय जनाको केन्द्रीय कार्यसमिति आउँदा पनि हामीले भनेको एक जनालाई पनि राखिएन । मन्त्री छनोटमा पुरा बेवस्ता गरियो ,’ उनले भने । कांग्रेसबाट ९ जना मन्त्री बन्दा पनि एकजना थारुलाई समावेश नगराइएकोमा उनीहरुको आपत्ति छ । ‘यस्तो ठूलो मन्त्रिपरिषदमा एक जना थारु समुदायबाट मन्त्री बनाएनन् । एमाले र माओवादीले थारु समुदायबाट मन्त्री बनायो । तर, कांग्रेसले एक जनालाई पनि मन्त्री बनाएन । थारुहरुप्रति नेपाली कांग्रेसको दृष्टिकोण के हो ? यसबारे भोलि कुरा उठाउछौं,’ उनको प्रश्न छ । रामजनमका अनुसार केन्द्रीय सदस्य गोपाल दहितले थारुहरुको माग–मुद्दाबारे सूची बनाएका छन् । भोलि केन्द्रीय समिति बैठक बस्नुअघि उनीबीच आन्तरिक छलफलको तयारी छ । ‘हामीलाई बेवास्तै गरिएको छ । हेरौं हाम्रोबारे भोलिको केन्द्रीय समिति बैठकमा कस्तो किसिमको कुरा आउँछ,’ उनले भने, ‘पार्टीले हाम्रो माग सुनुवाइ गरेन भने अब विकल्प सोच्नुपर्ने अवस्था आउँदैछ । हामी त्यसका लागि पनि तयारी गरिरहेका छौं ।’ गच्छदारले २०७४ कात्तिक २९ मा आफ्नो फोरम लोकतान्त्रिक पार्टीलाई कांग्रेसमा समाहित गराएका थिए । २०६४ मा कांग्रेस छाडेर गएका गच्छदार १० वर्षपछि ०७४ मा पुनः कांग्रेसमै फर्किएका थिए । कांग्रेसमा आएर उपसभापति बनेका उनी १४ औं महाधिवेशनमा भने धनराज गुरुङसँग उपसभापतिमै दुई मतले पराजित भएका थिए । ललिता निवास प्रकरणमा मुछिएका गच्छदार अहिले कांग्रेसबाट बाहिरिएर नयाँ पार्टी बनाउने गृहकार्य गरिरहेको नेताहरु बताउँछन् । त्यसमा केन्द्रीय सदस्य, केही संघीय र प्रदेश सांसदले उनलाई साथ दिएको देखिन्छ । रामजनमकाअनुसार असार पहिलो साता भएको छलफलमा २० जना नेताहरु सहभागी थिए ।